जागिर खोज्दै विद्यार्थी नेता

काठमाडौँ, ३ चैत । विद्यार्थी नेताहरू आम्दानीको स्रोत जुटाउन केही आफैँ जागिर खान थालेका छन् भने केहीले श्रीमतीलाई जागिरमा लगाएका छन् ।
अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु (क्रान्तिकारी)का नेतामा आम्दानीको स्रोत खोज्दै आफू वा श्रीमतीलाई जागिर खुवाउने प्रवृत्ति बढेको हो । अखिल क्रान्तिकारीमा भने जागिर गर्ने थोरै र अधिकांश पार्टीका पूर्णकालीन कार्यकर्ता छन् ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले अहिलेसम्म जागिरमा नलागे पनि खर्च जुटाउन समस्या भएको भन्दै श्रीमतीलाई जागिर खुवाएका छन् । रवीन्द्र श्रेष्ठ सामान्य प्रशासनमन्त्री हुँदा दुई वर्षअघि ढुङ्गेलले श्रीमतीलाई स्टाफ कलेजमा जागिर लगाएका थिए । ‘सङ्गठनमा मेरो सक्रिय भूमिका भएकाले आम्दानीका लागि केही गर्न सक्ने स्थिति छैन,’ ढुङ्गेलले भने, ‘खर्च धान्नका लागि श्रीमतीलाई जागिर खुवाउनाको विकल्प रहेन ।’ विद्यार्थी नेता अपारदर्शी हुनुभन्दा वैकल्पिक जागिर गर्नु राम्रो पक्ष भएको उनको भनाइ छ ।
त्यसैगरी, नेविसङ्घका पदाधिकारीका रूपमा अहिलेसम्म अध्यक्ष मात्र छन् । सङ्घका अध्यक्ष रञ्जित कर्णले आम्दानीका लागि ललितपुरको कोपुन्डोलमा इन्जिनियरिङसम्बन्धी काम गर्ने ‘टेक्नोक्र्याट’ नामक कन्सल्टेन्सी चलाएका छन् । ‘अध्यक्षको जिम्मेवारी पाएपछि धेरै खटिनुपर्ने भएकाले कन्सल्टेन्सीको जिम्मेवारी भाइलाई दिएको छु,’ कर्णले भने, ‘काम सबैले गर्दा राम्रो हुन्छ ।’
अखिल (क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्मा माउपार्टी एकीकृत नेकपा (माओवादी)का पूर्णकालीन कार्यकर्ता हुन् । उनलाई खाने, बस्ने खर्च पार्टीबाटै आउने गरेको छ । त्यसमाथि पनि उनकी श्रीमती सञ्चारमाध्यममा जागिरे छिन् ।
अनेरास्ववियुका अध्यक्ष ढुङ्गेलका अनुसार उपाध्यक्षहरू नवराज पौडेलकी श्रीमती ललितपुर उपमहानगरपालिका र लक्ष्मण लम्सालकी श्रीमती उच्च माध्यमिक शिक्षा परिषद्मा जागिरे छन् । सचिवालय सदस्यहरू अब्दुल हुसेन खाँ, अमृता बराल र कलाधर भण्डारी पनि जागिरे छन् । कोषाध्यक्ष दीपक गौतमको बौद्धमा कपडा
पसल छ ।
अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य रत्न ढकालका अनुसार अधिकांश नेता पार्टीका पूर्णकालीन कार्यकर्ता छन् । उपाध्यक्ष रमेश मल्ल शिक्षामन्त्री दीनानाथ शर्माका स्वकीय सचिव हुन् । अर्का उपाध्यक्ष जागृत रायमाझी पनि पूर्णकालीन कार्यकर्ता छन् । उनकी श्रीमती प्राइभेट अफिसमा जागिर गर्छिन् । उपाध्यक्ष शरद रसाइली र उनकी श्रीमती तथा निशा शाहका श्रीमान्÷श्रीमती नै पूर्णकालीन कार्यकर्ता छन् ।
महासचिव विन्दमान विष्ट पूर्णकालीन कार्यकर्ता हुन् भने श्रीमती जागिरे छिन् । १४ सचिवमध्ये कृष्ण सापकोटा स्थानीय निकायमा जागिरे छन् भने अइन्द्रविक्रम लिम्बू संस्कृतिमन्त्री गोपाल किरातीका स्वकीय सचिव छन् । अन्य नेता पार्टीका पूर्णकालीन कार्यकर्ता छन् । कोषाध्यक्ष सुरेश गौतम पूर्णकालीन कार्यकर्ता हुन् भने श्रीमतीको सिलाइ व्यवसाय छ । पूर्णकालीन भएबापत उनीहरूले पार्टीबाट मासिक १५ हजार रुपियाँसम्म पाउने गरेका छन् ।
राजनीतिक विश्लेषक झलक सुवेदी आफैँ जागिर गर्नु वा श्रीमतीलाई जागिरमा लगाउनु सकारात्मक भएको बताउँछन् । ‘कतै लोभमा नपरी काम गर्नु राम्रो कुरा हो,’ सुवेदीले भने, ‘तर, अहिले कोही पनि विद्यार्थी नेता छैनन्, विद्यार्थी आन्दोलन छैन, विद्यार्थीका मुद्दामा सेन्टिमेन्ट बोकेर अगुवाइ गरेका छैनन् ।’

प्रतिक्रिया