समायोजन प्रस्तावमा संशोधनको माग

काठमाडौं, ३ चैत । सात बुँदे सहमति विपरित सेना समायोजनको प्रस्ताव ल्याएको आरोप लगाएका कांग्रेस र एमालेले नयाँ प्रस्तावमा संशोधनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी बिशेष समितिको आज काठमाडौंमा बसेको बैठकमा प्रस्तावमा टिप्पणी गर्ने क्रममा कांग्रेस र एमालेले केही बुँदामा संशोधन गरिए प्रस्ताव मान्न सक्ने धारणा राखेका थिए ।

बैठक पछि सञ्चारकर्मीसँग करागर्दै कांग्रेस नेता रामशरण महतले सेना समायोजनका लागि पेश भएको नयाँ प्रस्तावमा केही बुँदामा संशोधनका लागि प्रधानमन्त्रीलाई सझाव दिएको बताए । उनले भने, ‘सात बुँदे सहमति विपरित आएको प्रस्ताव जस्ताको त्यस्तै मान्नसकिदैन भन्ने कुरा राखिएको छ ।’

एमाले नेता तथा समिति सदस्य भीम रावलले पनि नयाँ प्रस्तावमा संशोधनको आवश्यक्ता रहेको औल्याए । प्रधानमन्त्रीले समायोजन हुन चाहेका झण्डै ९ हजार लडाकुलाई कसरी ६ हजार पाँच सयमा झार्ने भनेर सदस्यहरुसँग राय समेत मागेका थिए ।

प्रधानमन्त्री भट्टराईले अघिल्लो बैठकमा राखेको सेना समायोजन सम्बन्धी नयाँ प्रस्ताव मान्न नसकिने भन्दै दुई विपक्षी दल कांग्रेस र एमालेले बिरोध गरिसकेका छन् ।
बैठकमा प्रस्तावमा सामान्य छलफल हुने काम मात्रै भएको सदस्यहरुले बताएका छन् ।

यस बिषयमा अर्को बैठकमा थप निर्णय हुने छ । नयाँ प्रस्तावमा लडाकुको एक तह स्वतः बढुवा, महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्वलगायतका बिषय रहेका छन् ।

प्रतिक्रिया