खहरेमा पुल नबनाउन धर्ना

हेटौँडा, १ चैत । मकवानपुर हाँडीखोलाका बासिन्दाले माग गरिएको ठाउँमै पुल हाल्न दबाब दिँदै डिभिजन सडक कार्यालय हेटौँडामा दिनभर धर्ना दिएका छन् ।
स्थानीयले मनहरीको रजैँया र हाँडीखोलाको लामिटार जोड्ने पुल बनाउन माग गरे पनि कार्यालयले खोलाभन्दा दुई सय मिटर पर पुल बनाउन सुरु गरेपछि धर्ना दिइएको हो ।
माग गरिएको स्थानमा नबनाई हाँडीखोलाको खहरेमा पुल निर्माण हुन थालेपछि तत्काल काम रोक्न आन्दोलनमा उत्रिएको हाँडीखोला– रजैँया पक्की पुल निर्माण समितिका सचिव रामहरि विष्टले बताए ।
बिहान १० बजेदेखि नै कार्यालय प्रवेशमा रोक लगाउँदै जनताले धर्ना दिएपछि प्रहरीले बल प्रयोग गर्न खोजेको थियो । स्थानीयले दिनभर धर्ना दिँदै प्रहरी र सडकका कर्मचारीविरुद्ध नाराबाजी गरेका थिए ।
लामो समयको मागपछि रातो किताबमै व्यवस्था गरिएको बजेटमा कर्मचारीले षड्यन्त्र गरेर अन्यत्रै पुल बनाउन लागेको आरोप जिल्ला राजनीतिक दलले पनि लगाएका छन् । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष रामेश्वर रानाले भने, ‘पुल जनतालाई सुविधा दिन बनाउने हो, खोलापारि पुल बनाएर ठाडो भ्रष्टाचार गर्न खोजेको देखियो ।’ स्थानीयको आन्दोलनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)ले पनि सहमति
जनाएका छन् ।
रजैँयाबाट हाँडीखोला जोड्ने पक्की पुल निर्माणका लागि दुईपटक गरी ७० लाख रुपियाँ बजेट डिभिजन सडक कार्यालयले छुट्याएको छ । ०६७÷०६८ मा ३० लाख रुपियाँ र ०६८÷०६९ मा ४० लाख रुपियाँ बजेट विनियोजन भएको हो ।
स्थानीयले बुधबार र बिहीबार दुई दिन धर्ना दिने र माग पूरा नभएसम्म पुल निर्माण अवरुद्ध पार्न अन्य आन्दोलन गर्ने
जनाएका छन् ।
स्थानीयको आन्दोलनपछि डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख रामकृष्ण राउतले मन्त्रालय र विभागमा पत्राचार गरी विनियोजित रकम हाँडीखोला–रजैँया पक्की पुलका लागि खर्च गर्न कार्यालय सकारात्मक भएको बताएका छन् ।

प्रतिक्रिया