अखण्ड सेती र महाकालीका पक्षमा माओवादी छैन

काठमाडौं, १ चैत्र । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अखण्ड सेती र महाकालीको विपक्षमा आफू र आफ्नो पार्टी रहेको बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा थारुवान राष्ट्रिय मुक्ति मोर्चाले आज आयोजना गरेको राष्ट्रिय प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले माओवादी अखण्ड सेती र महाकालीको विपक्षमा रहेको बताए । उनले अखण्ड सेती महाकालीको पक्षमा धारणा राखेको भन्दै पोलिटब्युरो सदस्य लेखराज भट्टको आलोचना समेत गरेका छन् । अध्यक्ष दाहालले भने, ‘लेखारज भट्टजी अखण्ड सेती र महाकालीको पक्षमा बोल्नु भनेको पार्टी नीति विपरित हो ।’
एकीकृत माओवादीका सभासद एवं नेता ईन्द्रजित चौधरीका अनुसार अध्यक्ष दाहालले अखण्ड सुदुरपश्चिमकाको पक्षमा मात्रै पार्टी रहेको बताएका थिए । दाहालले अखण्ड सुदूरपश्चिम बनाउन माओवादीले साथ दिने प्रतिवद्धता जनाएका छन् । उनले थारु समूदायलाई आफ्नै राज्य बनाई दिने प्रतिवद्धता जनाएका छन् ।
राज्य पुनसंरचना र समसामयिक बिषयमा जानकारी गराउन आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट लगायतका जिल्लालाई समेटेर अलग थारुवा राज्य नदिने बताए । उनले मध्य तराईको हकमा थारुहरुलाई स्वायत्त थारुवान राज्य सम्म बनाउन सकिने आश्वासन दिए ।
प्रशिक्षण कार्यक्रममा एकीकृत माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले किसानले कब्जा गरेका जग्गा किसानै हुने आश्वासन दिएका छन् । सभासद चौधरीका अनुसार प्रधानमन्त्री भट्टराईले कब्जा भएको जग्गाबाट किसानलाई अर्को व्यवस्था नगरिएसम्म नहटाउने र जग्गा फिर्तापनि नहुने बताए ।
प्रधानमन्त्री भट्टराईले भने, ‘किसानलाई अर्को व्यवस्था नगरेर कब्जा जग्गाबाट हटाउने काम भयो भने आन्दोलन गर्नुस मेरो समर्थन छ ।’
उनले केही ठाउँमा कब्जा जग्गा फिर्ता गरेको नभई जग्गा मालिकलाई त्यसको स्वामित्व मात्रै दिएको बताए । भट्टराईले कब्जा जग्गाबाट किसानालाई बेदखल गरिन्छ भने आफूपनि चुप नबस्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री भट्टराईले समावेशी विधेयकमा पनि थारुका लागि अलग व्यवस्था गर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले थारुलाई मर्का पर्ने गरेर समावेशी बिधेयक नल्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले किसानले कब्जा गरेको जग्गा फिर्ता गर्ने काम भयो भने आफूहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनले राज्य पुनसंरचनाका बिषयमा पनि पार्टी नीति बिपरित नबोल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया