६ हजार वर्ष जेल सजाय

ग्वाटेमाला सिटी, ३० फागुन । ग्वाटेमालाको अदालतले नागरिकको हत्यामा संलग्न रहेको आरोप लागेका एक पूर्वसैनिकलाई ६ हजार ६० वर्षको जेल सजाय सुनाएको छ । गृहयुद्धताका पूर्वसैनिक पेड्रो पिमेन्टेल रायसलाई दुई सय एकजनाको सामूहिक हत्यामा संलग्न रहेको आरोप लगाइएको थियो । ५५ वर्षीय रायसलाई गत वर्ष अमेरिकाबाट सुपुर्दगी गरिएको थियो ।
ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्धका समयमा सन् १९८२ मा डोस एर्स गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोेप उनीमाथि लागेको थियो । सो हत्याकाण्डमा संलग्न रहेको आरोपमा सजाय पाउने उनी पाँचौँ पूर्वसैनिक हुन् ।
सो हत्यालाई गृहयुद्धभरिकै सबैभन्दा हिंस्रक र बर्बर घटनाका रूपमा लिइन्छ । गाउँका बासिन्दाले कम्युनिस्ट विद्रोहीलाई सहयोग गरेको भन्दै ग्वाटेमाला सेनाको एउटा विशेष युनिटले पूरै गाउँको संहार गरेको थियो । तीन दिन लगाएर सैनिकले गाउँलेको हत्या गरेका थिए । गोली प्रहार र बुलडोजरले किचेर हत्या गरिएका गाउँलेको शव गाउँकै इनारमा फालिएको थियो ।
हत्याको अभियोगमा ६ हजार ३० वर्ष र मानवताविरोधी अपराध गरेकामा ३० वर्ष गरी उनलाई कुल ६  हजार ६० वर्षको जेल सजाय सुनाइएको हो । तर, पूर्वसैनिक रायसले भने हत्यामा आफू संलग्न नरहेको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया