कहाँ छन् ती पासपोर्ट ?

काठमाडौं, २९ फागुन । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी हुन थालेपछि यसअघि प्रचलनमा रहेका हस्तलिखित पासपोर्ट विस्थापित भए । छापिसकेर खाली रहेका हस्तलिखित पासपोर्ट कहाँ र कति परिमाणमा छन् भन्ने जानकारी परराष्ट्रले प्रहरीलाई दिन मानेको छैन ।
स्रोतका अनुसार एमआरपी लागू भएपछि करिब तीन लाखको सङ्ख्यामा हस्तलिखित पासपोर्ट मन्त्रालयमा त्यसै थन्किएका छन् । त्यस्ता पासपोर्ट लिक भएर नक्कली पासपोर्ट बनाउने गिरोहको हातमा पुग्न थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जानकारी मागेको थियो । तर, मन्त्रालयले सिआइबीको पटक–पटकको आग्रहलाई आलटाल गर्दै आएको छ । ‘खाली रहेका पासपोर्टको विवरण दिन पटक–पटक आग्रह ग¥यौँ तर मन्त्रालयले विभिन्न बहानाबाजी गरेर दिन चाहेन,’ सिआइबीका डिएसपी प्रवीण पोखरेलले भने ।
त्यस्ता पासपोर्टको सङ्ख्याबारे सिआइबीले जानकारी लिन खोज्दा मन्त्रालयले बहानाबाजी गरेर पन्छाउँदै आएको छ । मन्त्रालयका अधिकारीहरू पनि खाली पासपोर्ट धेरै भएको स्विकार्छन् तर सङ्ख्या भने बताउन चाहँदैनन् । मन्त्रालयको राहदानी शाखाका महानिर्देशक दीपक धितालले भने, ‘हस्तलिखित पासपोर्ट धेरै छन् तर सङ्ख्या खुलाउन सकिँदैन ।’
प्रहरीका अनुसार मन्त्रालयबाट एक हजारभन्दा बढी हस्तलिखित पासपोर्ट हराइसकेका छन् । प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘मन्त्रालयका कर्मचारीको मिलेमतो नभई यति धेरै पासपोर्ट हराउनै सक्दैन ।’ तर, मन्त्रालयका महानिर्देशक धितालले प्रहरीको भनाइलाई ठाडै अस्वीकार गरे । उनले भने, ‘सबै खाली पासपोर्ट अत्यन्त सुरक्षित स्थानमा राखिएको छ, यो कुनै पनि हालतमा लिक हुन सक्दैन ।’ उनका अनुसार पासपोर्ट राखिएको स्थानमा तीनवटा ताल्चा लगाइएको हुन्छ र चाबी तीनवटा छुट्टाछुट्टै निकायसित हुन्छ ।
एमआरपी वितरण सुरु भएपछि बनेका हस्तलिखित पासपोर्टले अहिले मान्यता पाउँदैनन् । तर, दलालले पासपोर्ट बनाउँदा एमआरपी वितरण हुनुभन्दा अघिको मिति राख्छन् । डिएसपी पोखरेलका अनुसार यसरी बनाइएका पासपोर्टलाई प्रयोग गरेर नै दलालले मानवतस्करीसमेत गर्छन् । भारतीय विमानस्थलबाट महिला कामदारलाई खाडी मुलुक पठाउन यस्ता पासपोर्ट प्रयोग गरिएको उनको भनाइ छ ।
गत कात्तिकमा भारतस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट यस्तै पासपोर्टसहित १० जना नेपाली महिला पक्राउ परेका थिए । उनीहरूलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । विभिन्न जिल्लाबाट पनि लिक भएका छन्, यस्ता पासपोर्ट । सिआइबीको तथ्याङ्कअनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५० वटा पासपोर्ट लिक भएका छन् । डोल्पाबाट एक, बैतडीबाट १८, रुकुमबाट एक, अर्घाखाँचीबाट ९२ र उदयपुरबाट नौवटा गरी जम्मा तीन सय ७१ वटा पासपोर्ट लिक भएको तथ्याङ्क सिआइबीसँग छ । डिएसपी पोखरेलका अनुसार खाली पासपोर्ट अन्य जिल्लाबाट पनि हराएका छन् तर त्यसको तथ्याङ्क आइसकेको छैन ।
मन्त्रालयले विगतमा वितरण गरेको खाली पासपोर्ट सङ्कलन गर्नु त के, जिल्लामा भएका पासपोर्टको सङ्ख्यासमेत यकिन गर्न सकेको छैन । मन्त्रालयका महानिर्देशक धिताल पनि स्विकार्छन्, ‘जिल्लामा अझै पनि खाली पासपोर्ट छन् तर कति छन्, त्यसको तथ्याङ्क छैन ।’ उनका अनुसार अब भने जिल्लामा रहेका खाली पासपोर्ट सङ्कलनमा मन्त्रालयले पहल गर्नेछ ।

प्रतिक्रिया