वन र प्रहरीबीच हानथाप

सिन्धुपाल्चोक, २८ फागुन । विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको अर्बौँ रुपियाँबराबरको रक्तचन्दन जिल्ला प्रशासन कार्यालय परिसरमा अलपत्र अवस्थामा छ । बरामदपछि प्रहरीले जिल्ला वन कार्यालयलाई बुझाएको ४० हजार किलोग्राम रक्तचन्दन अलपत्र परेको हो ।
चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले ६ वर्षयता विभिन्न ठाउँबाट उक्त परिमाणको रक्तचन्दन बरामद गरेको थियो । पटक–पटक गरी बरामद गरिएको रक्तचन्दन लिलामी वा फिर्ता हुन नसक्दा अलपत्र अवस्थामा छ । रक्तचन्दनसहितका कन्टेनरले जिप्रका प्राङ्गण भरिएर ठाउँ अभाव भएको छ भने त्यसको सुरक्षा कसले गर्ने र हराए जवाफदेही को हुने भन्नेमा प्रहरी र वन कार्यालयबीच विवाद उत्पन्न भएको छ ।
प्रहरीले रक्तचन्दनसम्बन्धी मुद्दा वन कार्यालयलाई बुझाएकाले प्रशासन परिसरमा रहेको रक्तचन्दनको जिम्मेवारी वनले लिनुपर्ने बताएको छ । वन कार्यालयले भने प्रशासनको ‘घेराबन्दी’मा रहेको रक्तचन्दनको सुरक्षा प्रहरी प्रशासनले नै गर्नुपर्ने बताएको छ । तर, रक्तचन्दन सड्ने अवस्थामा पुगेको छ ।
‘रक्तचन्दनका मुद्दा अझै बाँकी रहेकाले हामी केही गर्न सक्दैनाँै,’ सहायक वन अधिकृत प्रमोद भट्टराईले भने, ‘लिलाम गर्न वन विभागले निर्देशन दिएको छैन ।’ प्रहरीले रक्तचन्दन वनको स्वामित्वमा दिए पनि ठाउँ अभावका कारण प्रशासन प्राङ्गणमा राखिएको उनले बताए । ‘हामीले सुरक्षाको जिम्मा प्रहरीलाई दिएका हौँ । चोरी हुन नदिने जिम्मेवारी प्रहरीको हो,’ भट्टराईले भने । वन कार्यालयमा सशस्त्र वनरक्षक नभएका कारण समस्या भएको उनी बताउँछन् ।
जिल्ला प्रहरी प्रमुख वसन्तकुमार लामा भने उक्त रक्तचन्दनको जिम्मेवारी वनले लिनुपर्ने बताउँछन् । ‘कानुनी रूपमा हामीले रक्तचन्दन वनलाई बुझाएका छौँ, हराए जवाफदेही वन कार्यालय नै हुन्छ,’ लामाले सौर्यसँग भने ।
प्रहरीले बरामद गरेको रक्तचन्दन नापजाँचपछि वनलाई जिम्मेवारी सुम्पेकाले हराए वा चोरी भए वन कार्यालय नै दोषी हुने जिप्रकाले जनाएको छ । वन कार्यालयमा ठाउँ अभावले सो रक्तचन्दन सहमतिमा प्रशासन कार्यालयमा राखिएको सहायक सिडिओ गोविन्द सापकोटाले बताए ।

अनुसन्धानै नगरी सुनाखरी तस्कर छाडिए

सिन्धुपाल्चोक, जिल्ला वन कार्यालयले सुनाखरीको अवैध कारोबारमा संलग्न तीनजनालाई अनुसन्धान नै नगरी छाडेको छ । वन अधिकृत कृष्णप्रसाद वस्ती बिदामा बसेका बेला कर्मचारीले बिगो सामान्य रहेको भन्दै सुनाखरीको अवैध कारोबारमा संलग्नलाई छाडेका हुन् ।
राजधानीबाट चीनको खासातर्फ लैजाँदै गरेको प्रतिबन्धित सुनाखरीसहित १० दिनअघि अरनिको राजमार्गअन्तर्गतको अँधेरीबाट दुई नेपाली र एक चिनियाँलाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको थियो । टोलीले सुनाखरीसहितको कन्टेनर नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको थियो । सशस्त्र प्रहरीले वन कार्यालयलाई बुझाएका पाङताङ गाविस वडा नम्बर १ का श्यामकुमार श्रेष्ठ, ठूलोपाखर गाविस वडा नम्बर ७ का मानबहादुर सुन्दास र चिनियाँ नागरिक चाङ छौ रुङलाई वनले बिगो सामान्य भन्दै छाडेको हो ।
वन कार्यालयले कन्टेनरबापतको १० हजार र चालक तथा चिनियाँ नागरिकलाई नौ÷नौ सय रुपियाँ धरौटी लिएर शुक्रबार रिहा गरेको जनाएको छ । बिगो कम देखिएकाले उनीहरूलाई थोरै धरौटीमा रिहा गरेको सहायक वन अधिकृत प्रमोद भट्टराईले बताए । श्रेष्ठको भने तस्करीमा संलग्नता नदेखिएकाले बिनाधरौटी छाडिएको उनले बताए ।
वन ऐनअनुसार १० हजारभन्दा कम बिगो देखिएकालाई छाड्न मिल्ने तर्क गर्दै उनले भने, ‘९० किलोको सयका दरले बिगो नौ हजारमात्र हुने देखियो । त्यसैले छाडेका हौँ ।’
बिदामा रहेका वन अधिकृतसँग टेलिफोनमा परामर्श गरी निर्णय गरेको उनको दाबी छ । उनी भन्छन्, ‘यो मेरो निर्णयले मात्र छाडिएकोे होइन, हाकिम साप र सरकारी वकिलको समेत रायमा छाडेको हुँ ।’
वन अधिकृत वस्तीले भने अहिले आपूm जिल्लाबाहिर रहेको र फर्केपछि यस विषयमा जानकारी लिने बताए । चिनियाँ नागरिकले घरायसी प्रयोजनका लागि सुनाखरी लैजान लागेकाले पनि अनुसन्धान धेरै गर्नु नपरेको भट्टराईको तर्क छ ।

प्रतिक्रिया