कोही आएनन् पढ्न

काठमाडौँ, २८ फागुन । त्रिभुवन विश्वविद्यालयले शिक्षक तयारी कोर्स कार्यक्रम सञ्चालनमा ल्याएको दुई वर्ष बिते पनि अहिलेसम्म पढ्न भने कोही आएका छैनन् । शिक्षाशास्त्रबाहेकका सङ्कायबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी शिक्षण पेसामा लागेकालाई तालिमप्राप्त बनाउन ल्याएको कोर्स ‘कोर्स’मै सीमित बन्न पुगेको हो ।
त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रकाश श्रेष्ठले कोर्स लागू गरिएको दुई वर्षसम्म कोही पढ्न नआएको बताए । डिन श्रेष्ठले भने, ‘कोर्स पढ्न कोही आएन, सोध्न आउने पनि जागिर हुन्छ कि हुँदैन भनेर जाने गरेका छन् ।’ उनका अनुसार शिक्षक तयारी कोर्स अरू सङ्काय अध्ययन गरेर शिक्षण पेसामा लागेकालाई कक्षा आठसम्म तालिमप्राप्त हुने र बिएड अध्ययन गर्न पनि पाउनेगरी तयार भएको हो । उक्त कोर्स गरेपछि शिक्षाशास्त्रमा स्नातक तह अध्ययन गर्न चाहे प्रथम वर्षमा भर्ना हुुनु पर्दैन ।
आइएड नगरी अध्यापन गरिरहेका शिक्षक मात्र होइन शिक्षक बन्न चाहनेले एकै वर्षमा कोर्स पूरा गरेपछि सिधै बिएड दोस्रो वर्षमा भर्ना पाउने व्यवस्था छ । आइकम, आइएससी तथा आइए गरेर अध्यापनमा लागेका शिक्षकलाई तथा शिक्षक बन्न चाहनेलाई लक्षित गरी त्रिविले यस्तो कार्यक्रम ल्याएको हो । राजधानीको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस र गोरखा क्याम्पसमा पढाइ सञ्चालनको व्यवस्था गरिएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रसँगको समन्वयमा त्रिविले उक्त कार्यक्रम ल्याएको थियो । केन्द्रका कार्यकारी निर्देशक सूर्य गौतमले शिक्षण पेसाप्रति आकर्षण बढाउन ‘एक वर्षीय आइएड’ अध्ययन गर्नेलाई बिएड दोस्रो वर्षमा भर्ना लिने व्यवस्था रहेको बताए ।
त्रिविको एक वर्षीय कार्यक्रमबाट तालिम नलिएका शिक्षकले तालिम पाउने, निमावि तहको शिक्षण अनुमतिपत्रका लागि परीक्षामा भाग लिन पाउने र ससर्त अनुमतिपत्र पाएकाका लागि यो धेरै उपयोगी रहेको गौतमले बताए ।
आगामी २२ कात्तिक ०६९ सम्ममा १० महिने तालिम लिइसक्ने सर्तमा धेरैले शिक्षण अनुमतिपत्र लिएका थिए । शिक्षक सेवा आयोग स्रोतका अनुसार करिब ६० हजार शिक्षकले ससर्त शिक्षण अनुमतिपत्र लिएका थिए ।
‘एक वर्षे कोर्स पूरा गरेपछि सोझै बिएड दोस्रो वर्षमा भर्ना हुन पाउने व्यवस्था छ,’ गौतमले भने । उनका अनुसार शिक्षक तयारी कोर्स अध्ययन गर्नेको माग बढे क्षेत्र विस्तार गर्ने लक्ष्य छ ।

प्रतिक्रिया