पाँच वर्षदेखि थुनिएकी कैदीले छोरी जन्माइन्

विराटनगर, २८ फागुन । मोरङ कारागारमा पाँच वर्षदेखि थुनिएकी एक महिला कैदीले आइतबार साँझ कारागारभित्रै छोरी जन्माएकी छन् । ज्यानसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेकी खोटाङ बुँइपा–५ की अन्दाजी ३५ वर्षे सीता सार्कीले मोरङ कारागारको महिला शाखाभित्रै आइतबार साँझ छोरी जन्माएकी हुन् ।
छोरी जन्माएको सार्वजनिक भएपछि कारागारभित्र हल्लीखल्ली मच्चिएको थियो । जन्मिएकी छोरीको बाबु को होला भन्ने चर्चा कारागारमा तैनाथ प्रहरी र प्रशासनका कर्मचारीबीच पनि चलेको थियो ।
कडा सुरक्षाभित्र रहेकी कैदी महिलाले छोरी जन्माएपछि तत्काल जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको छानबिन गर्न समिति गठन गरेको छ । ‘कैदी महिलाले नौ महिनासम्म गर्भ बोकेर भित्रै छोरी जन्माउनुले महिलाहरू सुरक्षित छैनन् भन्ने पुष्टि गरेको छ, त्यसैले छानबिन समिति बनाएका हौं,’ मोरङका सहायक सिडिओ सुरेन्द्र पौडेलले भने ।
छोरी जन्माउने कैदी महिलालाई भने कारागार प्रशासनले उपचारका लागि कोसी अञ्चल अस्पताल पठाएको छ । सुत्केरी कैदीलाई शिशुसहित हेरचाह र उपचारका लागि अस्पताल पठाउन लगाएको काजमा काठमाडाँैमा रहेका कारागारका जेलर सुनिल निरौलाले जानकारी दिए । उनले आफू सोमबार विराटनगर फर्कने र वास्तविकता बुझ्ने बताए ।
कारागारमा महिला र पुरुष शाखा अलग–अलग छ । महिला कैदीबन्दी ५८ जना छन् भने दुवै शाखामा गरी ६ सय ५० जना छन् । कारागारमा बाहिरको सुरक्षा सशस्त्र प्रहरीको टोलीले गर्छ । सईको कमान्डमा रहेको नेपाल प्रहरीको टोलीले मूलगेट नजिकको घेरामा सुरक्षा दिने गर्छ ।

प्रतिक्रिया