उफ् ! यी मुसा

रामहरि पाण्डे,
काठमाडौँ, २६ फागुन । भौतिक पूर्वाधारका दृष्टिले सुविधासम्पन्न छ, पुल्चोकस्थित मन्त्रीक्वार्टर । सुरक्षा व्यवस्था पनि उत्तिकै मजबुत । तर, मुसालाई कसले रोक्ने ?
जहाँ नपुगे रवि, उहाँ पुगे कवि भनेझैँ मन्त्रीनिवासलाई पनि मुसाको समस्याले सताएको छ । मन्त्रीनिवासको रेखदेख तथा सम्भार गर्दै आएका सुपरभाइजर गजेन्द्रकुमार महर्जन मन्त्रीनिवासमा मुसाले आतङ्क नै मच्चाएको बताउँछन् । ‘मुसा नियन्त्रण गर्न ठाउँ–ठाउँमा पासो थापिएको छ तर कहिल्यै पर्दैन,’ उनले भने, ‘यहाँका बिराला जत्रा मुसाले पासो नै बोकेर कुद्छन् ।’ महर्जनका अनुसार गत साता मात्र इन्भर्टरको लाइन मुसाले काटेकाले गृहमन्त्री बस्दै आएको ‘डी’ ब्लकमा रहेको एक नम्बरको भवन चार घन्टा अन्धकार भएको थियो ।
शपथ लिएलगत्तै पुरानो डेराबाट झिटिझाम्टा कसेर झन्डावाल गाडीमा मन्त्रीहरू भौतिक सुविधासम्पन्न ‘मन्त्रीनिवास’ प्रवेश गर्छन् । तर, पहिलो रातमै मुसाले दादागिरी देखाएर उनीहरूको सातो लिन्छ ।
राजधानीमा रहेको निजी घर छाडेर मन्त्रीनिवास पुल्चोकमा बस्दै आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले ‘मन्त्रीनिवास’ मा पहिलो रात निकै तनाबमा बितेको बताए । ‘यहाँ सुविधा त धेरै छन्, तर मुसाले हैरान पार्छ,’ उनले भने, ‘निवासमा पहिलो रात त मुसाले गीत गाएर सुत्नै दिएन । व्यर्थै आइएछजस्तो लाग्यो ।’ तर, बिस्तारै बानी पर्दै गएकाले खासै समस्या नभएको उनले बताए । महतोका अनुसार अहिले ‘डी’ ब्लकको नयाँ भवनमा मुसाको समस्या त्यति धेरै छैन ।

मन्त्रीको सङ्ख्या थपिने क्रम बढ्दै गएपछि ०५० सालमा सरकारले पुल्चोकमा थप पाँचवटा नयाँ भवन बनाएको थियो । मन्त्रीनिवासमा नयाँ पाँच र पुराना १४ गरी १९ वटा भवन छन् । ‘डी’ ब्लक नाम दिइएको नयाँ भवनमा स्वास्थ्यमन्त्रीसँगै गृह, स्थानीय विकास, परराष्ट्र र ऊर्जामन्त्री बस्दै आएका छन् ।
ऊर्जामन्त्री पोष्टबहादुर बोगटी नयाँ भवनमा पनि मुसाले दुःख दिएको बताउँछन् । ‘मुसाको कुदाइ र कराएको आवाजले कहिलेकाहीँ खुबै डिस्टर्ब गर्छ,’ उनले भने, ‘पुरानो भवनमा त झन् मुसाको बिगबिगी छ रे ! यहाँ अलि कम छ ।’
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी त मन्त्रीनिवासका मुसालाई पनि मन्त्रीकै दर्जा दिन्छन् । उनले सौर्यसँग भने, ‘मन्त्रीनिवासमा सभासद् होइन, मन्त्री लेभलकै मुसा छन् ।’ निवासभित्र पस्ने मूलढोका खुला छाड्यो कि भित्र मुसा पसिहाल्ने उनले सुनाए । जिब्रो टोक्दै उनले थपे, ‘मुसा पनि सानो भए पो !’
निवासमा रहेको मुसाले आफ्ना धेरै कागजपत्र खाएको उनले गुनासो गरे । मन्त्री त्रिपाठी भन्छन्, ‘मन्त्रीनिवासमा मुसा नियन्त्रण गर्ने कोसिस धेरै गरियो तर सफल भइएन ।’ बाहिर खुला चौर र सामान्य झाडी भएकाले यसरी मुसा लागेको हुन सक्ने त्रिपाठीको भनाइ छ । ‘ए’ ब्लकको चार नम्बर भवनमा बस्दै आएका मन्त्री त्रिपाठीले थपे, ‘पुराना भवनमा बस्दै आएका अधिकांश मन्त्रीले मुसाको दर्शन नगरेको त दिनै हुँदैन ।’
कानुन तथा न्यायमन्त्री बृजेशकुमार गुप्ताले मुसाको विषयमा बोल्दा र लेख्दा आफ्नो बेइज्जत हुने बताए । उनले भने, ‘त्यस्तो विषयमा किन सोधखोज गर्नुहुन्छ, मुसा छैन भनेर लेख्नुस् ।’
संस्कृतिमन्त्री गोपाल किरातीलाई पनि मुसाले औधि दुःख दिएको छ । उनले आफ्नो टेलिफोनको तार मात्र पाँच महिनामा दसपटक भन्दा बढी काटिसकेको जानकारी दिए । किरातीले भने, ‘मुसाले समस्या पारेको कुरा कसलाई सुनाउने ?’
मन्त्रीनिवासमा टेलिफोनसम्बन्धी समस्या हेर्दै आएका टेलिकम पुल्चोकका प्राविधिक श्याम महर्जन पनि टेलिफोनको तार नकाटिएको त दिन नै नहुने बताउँछन् । उनले भने, ‘नयाँ भवनमा त्यति समस्या छैन तर पुराना भवनमा प्रयोग भएका टेलिफोनका तार गाँस्दैमा हैरान भइन्छ ।’ मन्त्रीनिवासमा टेलिफोनको लाइन मात्र ४६ वटा छ ।

राष्ट्रपति कार्यालयमा पनि उस्तै

मुसाको समस्या राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री कार्यालयमा पनि उत्तिकै छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मी भन्छन्, ‘मुसा कहाँ छैन ? धेरै र थोरै मात्र हो ।’
केही समयअघि प्रधानमन्त्री कार्यालयलाई मुसाले निकै समस्या दिएको थियो । प्रवक्ता रेग्मीले भने, ‘अहिलेचाहिँ अलि कम भएको छ । रेग्मीका अनुसार प्रधानमन्त्री कार्यालयमा मुसाले सबैभन्दा बढी स्टोर शाखामा दुःख दिएको छ । उनले भने, ‘स्टोरका साथीहरू मुसाले पुराना फाइल तथा काठका फर्निचर खाएर काम नलाग्ने भयो भन्दै आउँछन् ।’
राष्ट्रपति कार्यालयमा पनि मुसाले निकै दुःख दिएको कार्यालयका कर्मचारी श्याम तण्डुकारले बताए । उनले भने, ‘मुसा नियन्त्रण गर्न हामीले अभियान नै चलाएका थियौँ तर नियन्त्रण हुन सकेको छैन ।’ उनका अनुसार राष्ट्रपति कार्यालयको भुइँतला र स्टोरमा मुसाले बढी दुःख दिएको छ ।
राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेले भने मुसाको समस्या लिएर आफूकहाँ कुनै कर्मचारी नआएको बताए । उनले भने, ‘मुसा त छन् होला तर त्यतिबिघ्न दुःख दिएजस्तो लाग्दैन ।’

महानगरपालिकामा बेहाल

गिरिजा अधिकारी

काठमाडौँ, २६ फागुन । यस वर्ष काठमाडौँ महानगरपालिकाको प्रस्तावित बजेट करिब दुई अर्ब रुपियाँ छ । तर, पाँच रुपियाँ पर्ने मुसाको औषधि किन्न बजेट नभएको महानगरका कर्मचारी बताउँछन् ।
मुसाले हैरान पारेको छ, सुन्धारास्थित महानगरपालिकाको कार्यालयलाई । पुरानो घरमा लथालिङ्ग राखिएका फाइल मुसाको गुँडजस्तै भएका छन् । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की पुरानो घर भएकाले मुसाले बढी दुःख दिएको बताउँछन् । ‘मुसाको समस्या त छ तर मुसा मार्नकै लागि भनेर बजेटको व्यवस्था गरिएको छैन,’ उनले भने ।

ठुल्ठूला समस्या झेल्नुपर्ने महानगरपालिकाले यस्ता सानातिना कुरामा ध्यान दिन नभ्याउने महानगरपालिकाका कर्मचारी बताउँछन् । महानगरपालिकाको कोठा–कोठामा मुसा खुर्रखुर्र दौडिएको देख्न सकिन्छ । वल्लो कोठा, पल्लो कोठा गर्दै मुसा दौडिरहेको दृश्य महानगरपालिका पुग्ने सेवाग्राही पनि रमाइलो मानेर हेर्छन् ।
महानगरपालिका कार्यान्वयन महाशाखाका प्रमुख धनपति सापकोटा आफ्नै कोठामा मुसा दौडिरहेको दृश्य सामान्य भएको बताउँछन् । ‘मानिस भएको ठाउँमा मुसा भइहाल्छन् नि !’ उनले भने, ‘यस्ता सानातिना कुरा पनि समाचार हुन्छ र ?’
प्रवक्ता कार्की भने मुसाले हैरान पारेको बताउँछन् । कार्कीले भने, ‘मुसाले तार काट्छ, हामी बनाउँछाँै ।’ कार्कीका अनुसार प्रशासन विभागमा मुसाले फाइल काट्ने, टेलिफोनको तार काट्ने घटना दिनदिनै हुने गरेका छन् । ‘फाइल कतिखेर काट्छ र टाप दिन्छ, थाहै हुँदैन, कसरी मार्नु ?’ उनले भने । मुुसालाई औषधि खुवाएर मार्नुपर्ने भए पनि त्यतातिर तत्काल नसोचिएको उनले बताए ।

मुसाले नेपालको नाम चलाएको छ

प्रा. मुकेश चालिसे
मुसा जङ्गल र घरमा पाइने दुई किसिमका हुन्छन् । जङ्गली मुसा चलाख हुन्छन् भने घरमा पाइने मुसा अलि लोसे हुन्छन् । घरेलु मुसा चुलो, भकारीलगायत ठाउँमा बस्छन् ।
मुसाको आयु छोटो हुने भएकाले यसले धेरै बच्चा जन्माउँछ । मुसाले वर्षमा तीनदेखि पाँचपटकसम्म र एकपटकमा आठवटासम्म बच्चा जन्माउँछ । यस हिसाबले मुसाले वर्षको ४० वटा बच्चा जन्माउँछ । मुसाका बच्चा गुँडमै बस्छन् । बाउले खानाको व्यवस्था गर्छ भने आँखा देख्न थालेपछि आमासँगै पछि–पछि लागेर हिँड्छन् ती बच्चा । स्तनधारी भएकाले आमाको दूध खान्छन् ।
मुसा धेरै जातका हुन्छन् । जातअनुसार यिनीहरूको पुच्छर सानो–ठूलो हुन्छ । जैविक विविधतामा नेपालको नाम मुसाले पनि चलाएको छ । गोरखा, लमजुङ, मनाङ, मुस्ताङलगायत जिल्लामा पाइने एपोडिमस गुर्खा नामक ‘रैथाने मुसा’ नेपालमा मात्र पाइन्छ । बाघ, भालु अन्त पनि पाइन्छ । तर, यो मुसा नेपालमा मात्र पाइने भएकाले यसलाई ‘गोर्खाली मुसा’ भन्दा पनि हुन्छ । पहिलोपटक यो मुसा गोर्खामा पाइएको हो । यसको रङ खैरो हुन्छ ।
मुसाले प्राकृतिक खाद्य पदार्थको चक्रमा भूमिका खेल्छ । दाँत धेरै चिलाउने भएकाले मुसाले केही चिजलाई धेरै टोक्ने गर्छ । त्यसरी नटोक्ने हो भने उसको दाँत बढ्छ ।
वनजङ्गलमा पनि धेरै किसिमका मुसा पाइन्छन् । घरतिर पाइने मुसा मार्दैमा यसले पर्यावरणीय प्रणालीलाई कुनै असर पुर्‍याउँदैन । मुसालाई अँध्यारो ठाउँ मन पर्छ । राम्रा भवनमा पनि यसले क्षति पुर्‍याउन सक्छ ।
मुसाका कारण धेरै ठाउँमा आगलागीका घटना पनि भएका छन् । कार्यालयतिर कागजपत्र टोकेर बर्बाद पार्ने मुसा र्‍याट्स जातको हो । मुसाले धेरै रोग फैलाउने हुनाले यसलाई विषादी प्रयोग गरी मार्नु आवश्यक छ । मुसाका फाइदा धेरै भए पनि मानिसका लागि भने यो अहितकारी नै छ ।
(त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक चालिसेसँगको वार्तामा आधारित)

प्रतिक्रिया