काठमाडौः राक्षस–खाल्डो

लाङटाङ राष्ट्रिय निकुञ्जको यात्रा गरेर गल्छीको बाटो हँुदै काठमाडौँ फर्किरहेका थियौँ । त्रिशुलीको किनारैकिनार गाडीमा हाम्रो मन पनि अविरल कल्पनामा बगिरहेको थियो, साथमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ, निकुञ्जका रेन्जर लव गुरागाईं र आयोजनाका हीराबहादुर गुरुङ थिए । अल्पभाषी र गम्भीर स्वभावका बानियाँ अहिले गरिमाको ‘नयाँ÷नौलो÷नवीन’ स्तम्भका कारण चर्चामा छन् । उनको भूमिका कवि चंकी श्रेष्ठको कवितासङ्ग्रह ‘कायाकल्प’ मा पढेको थिएँ । भाषा शिल्पीको दृष्टिले उक्त भूमिका निकै माथिल्लो कोटिको पाउँछु म ।
गल्छीबाट मोडिएर नौबिसेतिर लाग्दा दसौँ ट्रकका सुस्त लस्करसँगै हाम्रो गाडी पनि सुस्त हुन कर लाग्यो । साँगुरो बाटो, उकालो चढाइ र माथिबाट हान्निँदै आउने वाहनहरू, गाडी बालुवामा कछुवा घस्रेजस्तो भयो । बालकथामा मात्र कछुवाले जित्थ्यो । हाम्रो यात्रा बालकथा थिएन, यथार्थ थियो । तसर्थ, कछुवाले हाथ्र्यो मात्र ।
थानकोट नाका उक्लनासाथ काठमाडौँको धुवाँधुलो र अव्यवस्था हामीलाई नाकामै लिन आइपुग्यो । उप्m ! कति दिक्कलाग्दो स्वागत । तर्कंदा–तर्कंदै पनि तर्कन सकेनौँ । टाढा धुवाँको बाक्लो सिरकमा बेरिएको निसासिँदो काठमाडौँ देखिन्थ्यो । तीन–चार दिन रसुवामा स्वच्छ, शान्त र मनमोहक समय बिताएर फेरि काठमाडौँ खाल्डोमा प्रवेश गर्दा खिन्न भाव उत्पन्न भयो । तर, के गर्ने ? आखिर यो खाल्डोमा नआई धरै छैन । खराब मित्रभन्दा असल शत्रु ठीक भनेझैँ चिसो र निरपेक्ष हुँदाहुँदै पनि हामी काठमाडौँ नै आउँछौँँ र आउन बाध्य हुन्छौँ । जीविका–यापन, शिक्षा र स्वास्थ्यका कैयौँ सपना यहीँ आएर पूरा हुन्छन् । पूरा नभएका अधकल्चा सपना पूरा गर्न कम्मर कसेर यहीँ डट्छौँ । काठमाडौँ विशाल सपनालय भएको छ । सपनाको यो फ्याक्ट्रीमा लामा–लामा सपनाका एसेम्ब्ली लाइन छन् अनि छन्– एसेम्ब्ली लाइनमा दिनरात नभनी काम गर्ने हामी कामदारहरू ।
यस्ता विरोधाभासपूर्ण धारणाको अविराम जुलुस र त्यसका वैचारिक र व्यावहारिक त्यान्द्राले मलाई आकर्षित गरिरह्यो । नरुचाए पनि सिङ्गो नेपाल खुम्चिएर काठमाडौँ बनेको छ । कवि कृष्णभूषण बलले काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन भनी कवितामार्फत हँुकार गर्दा पनि काठमाडौँ अटेर गर्छ । यो अघोरी पनि छ, खराबमा खराब, भद्रमा भद्र, तन्नमदेखि अरबौँपति, टोले गुन्डादेखि लिएर सङ्गठित आपराधिक संस्था, दूरदराजका गाउँबाट सपनाका नेगेटिभ धुलाउन आएका स्वप्नकर्ताका लस्कर, क्याबिन रेस्टुराँमा अस्मिता बेचेर सन्तानका लागि सुरक्षित भविष्य किन्ने आमाहरू, लागुपदार्थका हजारौँ दुव्र्यसनी, राजनीतिलाई खेती बनाएका नेताहरू, महिला बेचबिखनमा लिप्त दलाल, ठगधन्दामा रातदिन लाग्ने नरपिसाच, छोरीको ‘स्कुल फी’ तिर्न वाग्मतीको चिसोमा बिहानै बालुवा लिन हेलिएकी आमा, लुच्चा लफङ्गा दलालदेखि लिएर दानी–धर्मात्मा व्यक्तिहरू, आदि इत्यादि । सबै यही खाल्डोमा अटेको देख्दा मुखबाट अनायास निस्क्यो ः राक्षस– खाल्डो ।
पौराणिक कथामा वर्णित राक्षस, जसको विशाल भुँडीमा सबै थोक अटाउँछ, काठमाडौँ खाल्डोमा पनि देशभरिकै सुगन्ध–दुर्गन्ध, सपना र इच्छा–आकाङ्क्षा सबै अटाएका छन् । हजारौँ, लाखौँ मोटरगाडीका कालो मुस्लो धुवाँ पनि अटाएकै छ । आफ्ना सपना काठमाडौँका चिसा रातमा चिसिन नदिन प्रयत्नरत जिल्लाबाट आएका कवि कलाकार, विद्यार्थी, व्यापारी, पत्रकार आदि पनि अटेकै छन् । एक हिसाबले काठमाडौँप्रति सहानुभूति पनि जाग्छ । आफ्नो ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्वरूप बिग्रँदा–बिग्रँदै पनि सबैको सपनालाई गच्छेअनुसारको ओत दिएकै छ, कहीँ अहँ, आच्छु, आत्थु ! भनेकै छैन ।
मेरो मुखबाट राक्षस–खाल्डोको विम्ब फुत्कनासाथ राजकुमार बानियाँले ‘सुहाउँदो, उत्तम’ भने । उनलाई विम्बको नामकरण जँचेछ भन्ने लख काटेँ । सुरुमा नकारात्मकजस्तो सुनिने विम्ब अलिपछि उपयुक्त लाग्दै गयो । भयानक रौद्र रूप धारण गर्ने राक्षस होइन कि सहानुभूति उब्जाउने गुणी राक्षस दिमागको कुनामा प्रकट हुँदै गयो । हलिउड सिनेमामा क्यास्पर नामक सहयोगी र असल चरित्रको भूतको कल्पना गरिएको छ । क्यास्पर फुच्चे क्युट भूत हो । भूत भनेपछि तर्सने बच्चाको मानसिकतालाई बदल्न पनि विपरीत चरित्रको भूत निर्माण गरेका होलान् । काठमाडौँ खाल्डोसँग नामकरण गरिएको राक्षस क्यास्परभन्दा थोरै मात्र भिन्न । साना केटाकेटीको मात्र होइन, सबै उमेर समूहको हितैषी । सबैको सपना र इच्छा–आकाङ्क्षा टाँग्न किलो दिने । कलात्मक आँखीझ्यालबाट हेरिरहने तर नबोल्ने, त्यसैले ह्रास र क्षयमा पर्दै गएको ।
जाममा घन्टौँ कुर्दा पेट्रोलको लाइनमा व्यग्र हँुदा फोहोरछेउ आउजाउ गर्दा महँगीबाट ढाड सेकिँदा, पानीको निम्ति अनिँदोमा उठ्दा, रिसले दिएको शब्द–राक्षस । भत्किएको, बिग्रिएको, हरियाली कता–कता मात्र, चौतर्फी मानिसका टाउकामा पशुकाजस्ता सिङहरू पलाएको, नराम्रो र कुरूप अर्थसम्प्रेषण गर्न दिइएको शब्द–राक्षस । तर, विचित्रता कस्तो भने राक्षस शब्दप्रति लगाब र सहानुभूति पनि । राक्षस–खाल्डो शब्द सुनेपछि ड्राइभर पनि खितित्त हाँस्यो र भन्यो – हे हे… ! राक्षस–खाल्डो ।
सपनाको नेगेटिभ धुलाउन काठमाडौँ खाल्डो छिरेको भनौँ, डिजिटल युगमा सपनाको नेगेटिभ छैन । मन नपरे तुरुन्त डिलिट गर्न सकिन्छ । सपनाले अब नेगेटिभ बन्न पर्दैन । बरु सपनाका मूर्त राम्रा फोटोहरू बन्न समय लाग्छ, त्यो भिन्दै कुरा । अत्याधुनिक डिजिटल युगमा मानवजीवनको एउटै मौलिक भिन्नता छ, कम्प्युटरमा झैँ मानवीय कमीकमजोरीलाई ‘अन डू’ गर्न सकिन्न । तर, सपनाका फोटोहरूलाई फोटोसपमा लगेर फेरबदल गर्न सकिन्छ । ग्ल्यामर फस्टाउँदै गएको खुल्ला बजारमा फेरबदल र व्यापार गर्ने गिरगिटहरू पनि छ्याप्छ्याप्ती भेटिन्छन् । राक्षस–खाल्डोमा छिनछिनमा बदलिइरहने गिरगिटका रङहरू पनि अटाएकै छन् ।
कलङ्की चोकमा आइपुग्दा देख्यौँ, राक्षस–खाल्डो मुख बाएर बसेको छ । एकपल्ट राक्षस–खाल्डोको मुखभित्र पसेपछि उम्कन विरलै सम्भव छ । हामी सबै राक्षस–खाल्डोको पेटभित्र छौँ तर त्यो पेट यति विशाल छ कि हामीलाई रत्तिभर शङ्का छैन– हामी भित्र कतै खाल्डोमा छौँ । सुविधाजनक भ्रम पालेर बसेका छौँ । कलङ्की चोक पार गरेपछि खाल्डोभित्रको पनि नाभीमा रहेको ब्ल्याकहोलमा छिर्छौं । त्यसपछि नजिकको इस्टमित्र र नातेदारलाई दिने समय हामीसँग हँुदैन । आफ्नो परिवारसँग पर्याप्त समय बिताउन सक्दैनौँ, सधैँको भागदौड, सधैँको भागदौड । सोचिल्याउँदा सधैँको व्यस्तताले निकै उपलब्धि हासिल गरेजस्तो पनि लाग्ने तर क्षणभर अडिएर सोच्ने हो भने हामी फेरि कतै पुगेका होइनौँ, बिनाअर्थ वर्तूलमै घुमिरहेका । घुम्दैफिर्दै रुम्जाटार भनेजस्तो, बिसाएको पनि कहीँ होइन, पुगेको पनि कहीँ होइन । आ–आफ्ना ठाउँमा ओर्लन्छौँ र अराजकता र अव्यवस्थाको निलो होइन, कालो समुद्रमा हामी क्षणभरमै बिलाउँछौँ ।
फेसबुकमा अपलोड गरिएका काठमाडौँका पुराना तस्बिरहरू, इतिहासविद् टोनी हेगनका ‘उहिल्यैको नेपाल’ वृत्तचित्रका दृश्य हेर्दा, विगतमा काठमाडौँ सुन्दर देवताजस्तो थियो, अनुहारमा कतै खत नलागेको, सुकुमार, सौम्य र भरिलो । काठमाडौँ आफ्नो सम्पूर्णता प्राकृतिक स्वरूपमा थियो । सहरीकरणको विस्तारसँगै मान्छेका असीमित महात्वाकाङ्क्षाले यहाँका खेतीयोग्य जमिन, खोलानाला, डाँडाकाँडा र वनजङ्गलको विनाश भयो । र, यो ठाउँ कुरूप भयो । स्वयम्भू पुराणअनुसार हजारौँ वर्षअघि काठमाडौँ उपत्यका नागदहको नामले चिनिन्थ्यो । मञ्जुश्रीले चोभारडाँडो काटेर दहको पानी बगाएर बस्नयोग्य बनाए । मञ्जुश्रीले दहको पानी नबगाउँदा हुन् त राक्षस–खाल्डो बन्ने नै थिएन । बरु त्यो दहको किनारमा सुन्दर रङ्गीविरङ्गी चराचुरुङ्गी विचरण गरिरहेका हुन्थे । जताततै कङ्क्रिटका रूख उमार्ने मान्छेका लोभी चाहना पूर्ण हुँदैनथे । खैर, यस्ता किंवदन्तीको प्रासङ्गिकता अबको डिजिटल युगमा कति छ, थाहा छैन । मान्छे फेसबुकको मायावी संसारमा रमिरहेका छन् । र, काठमाडौँ खाल्डोभन्दा अदृश्य फेसबुकको चुम्बकीय खाल्डो निर्माण गरिरहेका छन् ।
लाजिम्पाट आइपुग्दा मेरो घर र गल्ली लोडसेडिङको अँध्यारोमा विलुप्त भइसकेको थियो । मोबाइलको टर्च बालेर सिधै छतमा पुगेँ । अँध्यारोमा धुवाँको बाक्लो सिरक नदेखिए पनि काठमाडौँ निसास्सिएर घुरेको नजिकै सुनिन्थ्यो । मान्छेका मुर्तिन बाँकी सपना जागा राख्न घुरेका होलान् । क्यास्परजस्तै राक्षस–खाल्डोको अँध्यारोमाथि मान्छेका सपनाहरू टिलपिलाउँदै उडिरहेका थिए । र, ती सपनामा लोडसेडिङका अँध्यारा परेका थिएनन् ।

प्रतिक्रिया