उनले भने, ‘मनोरञ्जनका लागि भूत प्रेतका कथा लेख्छु’

गन हिलमा सिन्दुरे क्षितिज हेर्नेको भिड थियो । पश्चिममा लामो रातो धर्को सुन्दर युवतीको भरिएको सिउँदोजस्तो लमतन्न थियो । हिउँदले आफ्नो चिसो अँगालोले बेर्नुपूर्वको पहाडी सहर मसुरीमा ‘विन्टर लाइन’ हेर्नेको भिडलाई त्यतै छाडेर म मूल रोड भेट्न ओरालो लागेँ । तलको देहरादुन हल्का तुवाँलोको घुम्टोमा साँझको आगमनलाई पर्खँदै थियो । छेउमा उभिएको थियो– नालापानीको थुम्को, दियो बाल्न दियोघरछेउ उभिएकी गृहिणीजस्तै ।
सधैँ अतीतको यात्रामा बगाउने यो गढवालको पहाडी बाटामा मैले भावनालाई उन्मुक्त छाडिदिएँ अनि लाग्यो त्यतै कतै रिस्पना नदीको किनारमा राजा रणजित सिंहको पल्टनबाट नालापानीका सहिद भेट्न आएका बलभद्र कुँवरको प्रेत हुन्हुनाउँदै होला । अङ्ग्रेजले उभ्याएको ल्याम्पपोस्टमुनि साढे पाँच बजाउन अल्मलिँदा बारम्बार भूतप्रेतका विम्बहरू आँखाभरि नाचिरहे र नाचिरह्यो अब केहीबेरमै भेट्ने समय लिइएका रस्किन बन्डको हँसिलो तस्बिर !
त्यसो त रस्किन बन्डलाई भेट्नुअघिको कथा नभनिरहन सक्दिनँ । लेखनको उचाइमा पुगिसकेकाको नाकनिक र ढर्रादेखि म बेखबर छैन । अतः मनमा श्रद्धा हुँदाहुँदै पनि उनलाई भेट्न जाँगर मारिरहेँ । त्यो मरेको जाँगर जगाउने काम गरिदिए सुधिर थपलियाले । ‘द लाइफ एन्ड लभ्स अफ मिस्टर टी’ उपन्यासका उपन्यासकार सुधिरलाई उनकै घरमा भेट्ने मौका मिल्यो । रस्किन बन्डको प्रथम उपन्यास ‘रुम अन द रुफ’ लाई टेलिफिल्ममा ढाल्न पटकथा÷संवाद लेखेका सुधिरले रस्किन बन्डलाई भेट्न हौस्याए ।
‘चिसो पहाडमा तपस्वीभैmँ बसेका रस्किन बन्ड र तिमी नेपालीको स्वभाव मिल्दो छ,’ लामो कपाललाई तह लगाउँदै ६६ वर्षे अर्का पहाडका तपस्वी बोले, ‘दुवै मिलनसार !’ सुधिरको घरबाट कलेज आइपुग्नेबित्तिकै किताबको थाकबाट ‘द रुम अन द रुफ’ उठाएँ । झ्यालबाहिर देवदारका काला रूख चुपचाप उभिएका थिए । मोबाइल फोनमा आँैला नाचेपश्चात् लन्डोरको ‘आइभी कटेज’ को फोन घन्किएको सोचाइले मन ढक्क फुल्यो । केही क्षणपश्चात् साहित्य एकेडेमी पुरस्कार र पद्मश्री सम्मान पाएका रस्किन बन्डलाई शनिबार साढे पाँच बजे भेट्ने समय लिएर फोन राखेँ । तत्कालै मेरा कविताहरू अङ्गे्रजीमा अनुवाद गर्ने स्टोमी हजारिकालाई पनि साथै जान अनुरोध गरेँ र ‘द नाइट ट्रेन एट देवली’ को रस्किन बन्डले सिर्जेको किशोर नायकजस्तै पुलकित हुँदै सुतेँ । ठीक ५ः३० मा क्याम्ब्रिज बुक डिपो पुगेँ । हजारिका अभैm आएकी थिइनन् । किताबै–किताबको संसारमा किताबसँगै मसक्क मिलेका रस्किन बन्ड फटाफट प्रशंसकका हातका किताबमा हस्ताक्षर गर्दै थिए । श्याम बेनेगलले निर्देशन गरेको ‘जुनुन’ फिल्म आँखाभरि टाँसेका थिए सायद अधबैँसेले, उनको हातमा थियो रस्किनको ‘फ्लाइट अफ पिजन्स’ र उनी अधैर्य लामको पछिल्लो पङ्क्तिमा थिए । म उनकै छेउमा उभिएँ ।
बिनाकिताबको म उनका अघिल्तिर उभिएँ । हाम्रा आँखा चार भए । मैले नमस्कार गर्दै आफ्नो परिचय दिएँ । उनले नमस्कार फर्काउँदै घडीतिर आँखा लगाए र जुरुक्क उठ्दै क्याम्ब्रिज बुक डिपोका मालिकतिर हेर्दै भने, ‘अब म जानुपर्छ ।’ उनले उठी–उठी म पछाडिका दुई व्यक्तिका पुस्तकमा हस्ताक्षर गरिदिए । ‘कतै बसेर कफी लिऔँ,’ रस्किनले प्रस्ताव गरे । मलाई कुनै आपत्ति हुने कुरै थिएन । त्यतिबेलै स्टोमी हजारिका पनि आइपुगिन् । हामी बाहिर निक्लिनै आँटेका थियौँ । बुक डिपोका मालिकले भित्रको एकान्त ठाउँ औँल्याउँदै भने, ‘कफी यतै मगाउँदा कसो होला ?’ उनी अभैm रस्किन बन्डलाई अल्झाउन चाहन्थे । यो बुझ्न हामीलाई गाह्रो परेन । रस्किन बन्ड पनि मुस्कुराए र हामीपट्टि फर्किए । मैले हत्तपत्त भनेँ, ‘हामीलाई कुनै समस्या हुन्न ।’ हामी क्याम्ब्रिजको भित्री कुनामा पस्यौँ ।
‘तपाईंको कथा ‘द नाइट ट्रेन एट देवली’ मेरा विद्यार्थी औधि रुचाउँछन्,’ स्टोमीले सुरु गरिन् । ‘तपाईंका केही उपन्यास र कथा तपाईंको जीवननजिक छन् भनिन्छ । के यो कथाको पात्र … ?’  रस्किन बन्ड मुस्कुराए । ‘लेखकले आफैँलाई प्रस्तुत गरोस् वा अरूका घटना, प्रस्तुत गरोस् ती आफ्नै अनुभव र अनुभूतिका रङमा घुल्छन् । ‘द रुम अन द रुफ’ मा मेरा निजी घटनाहरू पनि परेकाले मेरो लेखन मेरो जीवनको नजिक हुन्छ भनिएको होला…,’ उनी चुपचाप मुस्कुराउँदै हामीलाई हेर्न थाले । केही छिनपछि उनी बोले, ‘दुवैजना नेपालकै हुनुहुन्छ ?’ ‘होइन, म मात्र हुँ नेपालको,’ मैले भनेँ । ‘म आसामबाट, म एङ्ग्लो इन्डियन हुँ,’ स्टोमीले बोलिन् । कफी आइपुग्यो । कफीसँगै क्याम्ब्रिजका मालिकका पछिपछि ‘आवर ट्री स्टिल ग्रो इन देहरा’ कथासङ्ग्रह लिएर एक युवा देखापरे । ‘मित्र हस्ताक्षर मात्र है, उहाँहरू व्यस्त हुनुहुन्छ,’ क्याम्ब्रिजका मालिक युवकलाई सचेत गराउँदै फर्किए । अप्ठ्यारो मानेजस्तो गरेर बन्डले पुस्तकमा हस्ताक्षर गरिदिए । हस्ताक्षरपछि उनले भने, ‘नेपाल एकदमै सुन्दर देश हो । धेरै सुन्दर देशमा बस्नुहुन्छ तपाईँ ।’ मैले खुसी हुँदै भनेँ, ‘धन्यवाद !’
उनका कथा पहाडी सहरको रङ, गन्ध र विविध कोलाजमा रङ्गिएका हुन्छन् । ती कोलाजमा उनी कताकताबाट खोजेर भूतप्रेत ल्याउँछन् । मैले यसैलाई लक्ष्य गरेर सोधेँ, ‘तपाईंका कथामा पहाडका सुनसान बाटामा खुबै भूतप्रेत हिँड्छन् । के तपाईँ भूतप्रेतमा विश्वास गर्नुहुन्छ ?’ उनले भूतप्रेतमा विश्वास नभएको बताएर उनी मलाई हेर्न थाले । मेरो मनको जिज्ञासा शान्त भएको थिएन । म बोल्न खोज्दै थिएँ । उनी बोले, ‘यी गडवालका पहाडतिर जताततै मानिसका मुखबाट तपाईं भूतका थरिथरिका कथा सुन्न पाउनुहुन्छ । मै पनि सानामा खुब चाख मानेर भूतप्रेतका कथा पढ्थेँ । अतः मैले भन्नै पर्छ, विश्वास नगर्दा–नगर्दै पनि म मनोरञ्जनका लागि भूतप्रेतका कथा लेख्छु ।’  ‘भर्खरै मैले तपाईंको फिल्म ‘द ब्लु अम्रेला’ हेरेँ । उपन्यास भने पढ्न पाएको छैन । के निर्देशकले तपाईंको कथालाई न्याय गरेजस्तो लाग्छ ?’ स्टोमीले सोध्दा उनले मुस्कुराउँदै भने, ‘विशाल भारद्वाजले फिल्म एकदमै सुन्दर बनाए, मलाई कुनै गुनासो छैन । निश्चय नै उपन्यासलाई फिल्ममा ढाल्दा केही जोडजाड त गर्नुपर्छ नै । कथालाई धक्का नपर्ने गरी जोड्दा अन्याय हुन्छ जस्तो लाग्दैन, हैन र ?’
बाहिर सडकमा साँझका बत्ती बल्नथालेका थिए । मैले बुक डिपोको काउन्टरतिर आँखा लगाएँ । चार, पाँचजना हातमा पुस्तक लिई हामीपट्टि नै हेरेर उभिइरहेका थिए । यसलाई मैले अब हामी जानुपर्छ भन्ने सङ्केत मानेँ । ‘कसरी राम्रो लेख्न सकिन्छ ?’ मैले लेखनलाई माझ्ने उपाय बुझ्ने अभिप्रायको सनातन प्रश्न राखेँ । उनले लगातार लेखिरहन सुझाव दिँदै भने, ‘लेखकले जति धेरै लेख्छ, त्यत्ति नै राम्रो लेख्छ । त्यस कारण लेख्दै जानुपर्छ ।’ मैले स्टोमीलाई हेरेँ, उनले झोलाबाट झिकेर ‘डस्ट अन द माउन्टेन’ अगाडि बढाइन् र रस्किन बन्डको हस्ताक्षर चाहिन् । मैले पनि ‘द रुम अन द रुफ’ अगाडि बढाएँ । हस्ताक्षर लिएपश्चात् हामी दुवैले उनलाई समय दिएकोमा धन्यवाद दियौँ र उनको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्‍यौँ । उनले कुनै समय मिलाएर आइभी कटेज आउन निम्ता दिए । उनको न्यानो हात दुवै हातमा लिँदै उनलाई प्रशंसकको भिडमा छाडेर हामी बाहिरियौँ । बाहिर साँझको मसुरी आफ्ना चिसा हात बदाम बेच्नेको मकलमा तताउँदै थियो र सडकभरि रस्किन बन्डका पात्र आफ्ना भूमिका निभाइरहेका थिए ।

प्रतिक्रिया