एमालेमा सुगर जाँच्ने लहर

काठमाडौँ, २६ फागुन । ‘हामी मञ्चमा रहेका त कति दिन बाँचौंला र ! बिस्तारै ज्येष्ठ कम्युनिस्ट मञ्चमा जानयोग्य बन्दै छौं,’ एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक समापन गर्दै गत मङ्गलबार राति अध्यक्ष झलनाथ खनालले भने, ‘उमेरको माथिल्लो डिल–डिल पुगेका हामी तपाईं युवा पुस्ताका लागि सुस्पष्ट, एकताबद्ध र बलियो एमाले सुम्पन्छौँ भन्ने वचन दिन्छु ।’
मञ्चमा रहेका शीर्ष नेताहरूको प्रतिनिधित्व गर्दै अध्यक्ष खनालले यस्तो बताउँदै गर्दा कार्यकर्ताले खचाखच भरिएको कमलादीस्थित ‘एकेडेमी हल’मा राजनीतिक ‘रस्साकस्सी’का बीच पनि भावुकता झल्कियो । त्यही बिहान मात्र अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम र अशोक राई लगायतले कार्यकर्तासँगै लाइन लागेर आआफ्नो रगतमा सुगर (मधुमेह) परीक्षण गराएका थिए । पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घले परिषद् बैठक अवधिभरका लागि चलाइएको स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताले सुगर जँचाए ।
तीन वर्षअघि बुटवलमा सम्पन्न पार्टीको आठौं महाधिवेशनपछि एमालेका यति धेरै नेता÷कार्यकर्ता एकै ठाउँ भेला भएको यो पहिलो पटक हो । यो अवधिमा पानी बाराबारको अवस्थामै पुगेका नेताहरू एकताबद्ध भई स्वास्थ्य परीक्षणमा पनि एकै लाइनमा देखेपछि कार्यकर्ता भन्दै थिए, ‘नेताहरू साँच्चै मिलेका नै हुन् त !’ प्रज्ञा भवनमै चलेको स्वास्थ्य शिविरमा अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू गौतम र राई, पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली एकैसाथ सुगर जँचाउन गएका थिए । नेता केपी शर्मा ओली भने अघिल्लो दिन शिविर निरीक्षणमा मात्र गएका थिए ।
विवाद बढेका बेला एउटै मञ्च समेत प्रयोग नगर्ने नेता सँगै लामबद्ध भएको देखेपछि सुगर जँचाउन कार्यकर्ताको भिड नै लाग्यो । ‘पाँच सयभन्दा बढीको सुगर परीक्षण गरियो,’ सङ्घका अध्यक्ष भक्ति सुब्बाले भने । सुगर परीक्षणलाई सकारात्मक रूपमा लिँदै नेताहरूको स्वास्थ्यका विषयमा अनुसन्धान प्रतिवेदन नै प्रकाशन गरिने भएको छ । ‘नेताहरूको जीवनशैली र परीक्षणको रिपोर्टलाई आधार बनाएर सर्वेक्षण प्रकाशन गर्छौँ,’ अध्यक्ष सुब्बाले भने, ‘खराबी देखापरे जीवनशैली सुधार्न सचेत गराउँछौं ।’

प्रतिक्रिया