सरकारको नेतृत्व कांग्रेसले गर्न सक्छः दाहाल

काठमाडौ, २५ फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया नटुङगिकन सहमतीय सरकार निर्माण हुन नसक्ने भन्ने कांग्रेसको भनाईमा भित्री राजनीति लुकेको आरोप लगाएका छन् ।
राजधानीमा आज रिपोर्टर्स क्लव नेपालको ज्ञापन पत्र बुझेपछि सञ्चारकर्मीसँग कुरागर्दै दाहालले सेना समायोजन पछि राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास ब्यक्त गरे । उनले समायोजनपछि कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्न सक्ने संम्भावना ब्यक्त गरेका छन् । दाहालले भने, ‘कांग्रेसले सहमतीय सरकारको नेतृत्व दावी गर्नु अन्यथा होईन ।’
माओवादी र एमालेले दुई, दुई पटक सरकारको नेतृत्व गरिसकेको बताएका अध्यक्ष दाहालले बर्तमान सरकारको विकल्प सहमतीय सरकार हुने उल्लेख गरे । उनले छिट्टै सहमतिको सरकार बन्ने दाबी समेत गरेका छन् । उनले भने, ‘सहमतीय सरकार नबनेपनि शान्ति प्रक्रिया अगाडि बढ्छ ।’
शान्ति, संविधान र सहमतिको सरकारको विषयमा प्याकेजमै सहमति नबनेपनि सेना समायोजन प्रक्रिया भने सात बुँदे सहमतिकै आधारमा टुङग्याउने दाहालको भनाई थियो ।
उनले प्याकेजमै सहमति जुटाउन छलफल भईरहेको भन्दै छिट्टै निकास आउने बताए । उनले निकासका लागि कांग्रेस नेताहरुसँग भएको छलफलमा सहमति नजिक पुगेको भन्दै एक, दुई हप्ता भित्र सेनासमायोजन प्रक्रिया टुङगिने विश्वास ब्यक्तगरे ।
यसैवीच, माओवादी अध्यक्ष दाहालले सेना समायोजन भन्दापनि राज्यको पुनसंरचना र संघीयताको बिषय बढी जटिल रहेको बताएका छन् । उनले शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने मिश्रित व्यवस्थामा जाने सहमतिको नजिक दलहरु रहेको बताए ।

प्रतिक्रिया