सेयर निष्कासनमा कमी

काठमाडौँ, २३ फागुन । सेयर बजारमा आएको तीव्र गिरावटसँगै सेयर निष्कासनमा गिरावट आएको छ । चालु आर्थिक वर्षको फागुन अन्तिम सातासम्म साधारण र हकप्रद गरी ६८ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।
वित्तीय संस्थाको वर्चस्व रहेको नेपालको सेयर बजारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहित गरेपछि साधारण सेयर निष्कासन गर्ने क्रम घटेको हो । विगत तीन वर्षका तुलनामा सेयर बजार एकदमै तल झरेर लगानीकर्ताको मनोबल घटेका कारण पनि कम्पनीहरू सेयर निष्कासनमा अनिच्छुक देखिएका हुन् । चालु आवको फागुन अन्तिम सातासम्म साधारण सेयर निष्कासनका लागि वागमती डेभलप्मन्ट बैंकको दुई लाख ३५ हजार कित्ता, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसनको ६ लाख कित्ता एवं नेपाल एसबिआई बैंकको ४० लाख कित्ता ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरको छ ।
बोर्डले तीनवटा कम्पनीको गरी कुल ४८ करोड ३५ लाख रुपियाँ बराबरको साधारण सेयर एवं ऋणपत्रका लागि स्वीकृति दिएको छ । त्यसैगरी चालु आवको फागुन महिनासम्म युनिक फाइनान्सलाई एक बराबर एक, पाटन फाइनान्सलाई १० बराबर तीन र त्रिवेणी विकास बैंकलाई १० बराबर तीनको अनुपातमा २० करोड आठ लाख ५० हजार रुपियाँ बराबरको हकप्रद सेयर जारी गर्न बोर्डले अनुमति दिएको छ ।
‘बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान राष्ट्र बैंकले प्रोत्साहन गरिरहेका कारण साधारण सेयर निष्कासनमा कम्पनीहरू नआएको हुन सक्छ,’ नेपाल धितोपत्र बोर्डका निर्देशक निरज गिरीले भने, ‘हाम्रो सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गर्ने निर्देशनले नेपालको सेयर बजार प्रभावित हुने गरेको छ ।’
राष्ट्र बैंकले मर्जरमा जान जोड दिइरहेका कारण पनि सार्वजनिक सेयर निष्कासनमा जानुपर्ने कम्पनीहरू पर्ख र हेरको स्थितिमा रहेको हुनसक्ने बोर्डका निर्देशक गिरी बताउँछन् । बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि एक वाणिज्य बैंक, एक हाउजिङ कम्पनी, नौ विकास बैंक र दुई फाइनान्स कम्पनी गरी १५  पाइपलाइनमा रहेका छन् । त्यसैगरी हकप्रद सेयर निष्कासनका लागि पनि ११ फाइनान्स, दुई हाइड्रोपावर, चार विकास बैंक र नागरिक लगानी कोष गरी १९ वटा कम्पनी पाइपलाइनमा रहेका छन् ।
‘गिर्दो सेयर बजारका कारण लगानीकर्ताको मनोबल गिरेकाले पनि कम्पनीहरू सेयर निष्कासनमा आकर्षित हुन नसकेको जिकिर निर्देशक गिरीको छ । गत वर्षदेखि प्राथमिक तथा हकप्रद सेयर निष्कासनमा सबै सेयर बिक्री नहुनेसमेत सिर्जना भएको छ । करिब तीन वर्ष अगाडि हकप्रद सेयर जारी गर्ने सूचना सार्वजनिक हुनासाथ ती  कम्पनीको सेयर मूल्य बढ्ने परिपाटी थियो । हाल बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनी नै आफ्नो सेयर बेच्नतर्फ लागेका छन् ।
सेयर बजारमा नयाँ सूचीकरण हुने कम्पनीको सेयर मूल्य अङ्कित मूल्यभन्दा पनि कममा बिक्री भइरहेको अवस्था छ । नयाँ कम्पनीको सेयर
मूल्य अङ्कित मूल्यभन्दा पनि कममा बिक्री भएको हुँदा ती कम्पनी प्राथमिक सेयरतर्फ आकर्षित नभएको बताइएको छ ।
विगत दुईतीन वर्षको तथ्याङ्क हेर्दा नेप्से परिसूचक उकालोमा रहेको अवस्थामा प्राथमिक तथा हकप्रद सेयर तीव्र भएको देखिन्छ । गत आर्थिक वर्ष ०६७ ०६८ मा १७ कम्पनीले  प्राथमिक र ३१ कम्पनीको सात अर्ब ५७ करोड २७ लाख ७९ हजार रुपियाँको हकप्रद सेयर निष्कासन भएको थियो । आव २०६६ ०६७ मा ३७ कम्पनीको प्राथमिक सेयर निष्कासनबाट तीन अर्ब १४ करोड ४७ लाख रुपियाँ र ३५ कम्पनीको हकप्रद सेयर निष्कासनबाट १० अर्ब ९६ करोड २७ लाख रुपियाँ गरी कुल १४ अर्ब १० करोड ७५४ लाख रुपियाँको सेयर निष्कासन भएको थियो । आव ०६५ ०६६ मा ६३ वटा कम्पनीको प्राथमिक सेयर र हकप्रद सेयर गरी १४ अर्ब ८७ करोड ५१ लाख रुपियाँको सेयर निष्कासन भएको थियो ।

प्रतिक्रिया