रकम लैजाँदैनन् ‘सर्वोत्कृष्ट’ छात्रा

काठमाडौँ, २३ फागुन । विश्वविद्यालयका विभिन्न तहमा सर्वाेत्कृष्ट भएबापत ‘नेपाल छात्रा विद्यापदक’ पाएका छात्रालाई माथिल्लो तह अध्ययनका लागि सरकारले प्रदान गर्ने छात्रवृत्ति रकम त्यसै खेर जाने गरेको छ ।
छात्रालाई प्रोत्साहन गर्न शिक्षा मन्त्रालयले दिने गरेको छात्रवृत्ति रकम लैजान छात्राहरू मन्त्रालयको सम्पर्कमा नआउँदा रकम खेर जाने गरेको हो । बर्सेनि दुई सयजति छात्राले राष्ट्रपतिबाट विद्यापदक पाउने गरेका छन् । स्नातक उत्कृष्ट छात्रा छात्रवृत्ति, उच्च माध्यमिक वा प्रमाणपत्र तह उत्कृष्ट छात्रा छात्रवृत्ति पाउनेले छात्रवृत्ति रकम नलैजाने गरेका हुन् ।
छात्रवृत्तिसम्बन्धी निर्देशिका बनाएर वर्षौदेखि रकम दिने व्यवस्था गरिए पनि एक÷दुई जनामात्र रकम लिन आउने गरेको मन्त्रालयको छात्रवृत्ति शाखाका कर्मचारी बताउँछन् । शाखाका अधिकृत देवीप्रसाद पौडेलले ०६८ सालमा विद्यापदक पाएका छात्रा सार्वजनिक सूचना गर्दा पनि रकम लिन नआएको बताए । पौडेलले भने, ‘एक महिनाको सूचना निकाल्दा चारजनामात्र सम्पर्कमा आएका छन् ।’
राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रत्येक वर्ष राष्ट्रपतिबाट पदक वितरण भएपछि मन्त्रालयले छात्रालाई छात्रवृत्तिस्वरुप नगद दिने व्यवस्था गरेको छ । दिवसको उपलक्ष्यमा प्रदान गरिने पदक तथा छात्रवृत्तिसम्बन्धी निर्देशिकाले उत्कृष्ट छात्रालाई छात्रवृत्ति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष विद्याभूषण पदक पाउने छात्राको सङ्ख्या दुई सयसम्म हुने गरेको छ । नेपाल विद्याभूषण पदक तीन श्रेणीको हुने गरेको छ । विद्यावारिधि गर्ने सबैलाई ‘क’श्रेणी, स्नातकोत्तरमा सर्वप्रथम हुनेलाई ‘ख’ र स्नातक तहमा सर्वप्रथम हुनेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ । त्यसैगरी प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका उत्कृष्ट छात्रालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिन्छ ।
निर्देशिकामा स्नातकोत्तर अध्ययनका लागि एकमुष्ट २५ हजार रुपियाँ, स्नातक अध्ययनका लागि २० हजार रुपियाँ र प्रवेशिका उत्तीर्णलाई २० हजार रुपियाँ प्रदान गर्ने उल्लेख छ । मन्त्रालयले छात्रवृत्तिसम्बन्धी निर्देशिका, ०६३ बनाएर व्यवस्थित रुपमा छात्रवृत्ति रकम वितरण गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया