भोटेकोसी डुङ्गायान सङ्कटमा

सिन्धुपाल्चोक, २२ फागुन । एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले सात किलोमिटर नदीलाई सुरुङमा हाल्ने भएपछि यहाँको र्याफ्टिङ सदाका लागि बन्द हुने खतरामा पुगेको छ ।
आयोजनाको प्रस्तावनाअनुसार सिन्धुपाल्चोकको चाकुखोला र भोटेकोसी दोभानमा बाँध बाँधेर भोटेकोसीलाई सात दशमलव एक किलोमिटर लामो सुरुङबाट गाती गाउँको जम्बु विद्युत्गृहसम्म पुर्याइनेछ ।
सुरुङबाट पानी लैजाँदा सुक्ने भोटेकोसीको सात किलोमिटर क्षेत्र नै र्याफ्टिङको लागि विश्वको उत्कृष्ट १० मा पर्ने रुट हो । आयोजनाको काम सम्पन्न हुनेबित्तिकै त्यहाँको र्याफ्टिङ बन्द हुने खतरा बढेको हो । पर्यटन व्यवसायीका अनुसार बाँध बाँध्ने भनिएको चाकुखोलासँगैको सखुवाबाट जम्बुसम्मको क्षेत्रमा पानीको छाल र छाँगा र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त छ । त्योभन्दा तल लामोसाँघुसम्मको नदी सामान्य वेगको मात्र रहेको उनीहरू बताउँछन् ।
र्याफ्टिङका लागि विश्वकै उत्कृष्ट १० मा पर्न सफल नेपालको एक मात्र नदी भोटेकोसीको मुख्य क्षेत्र नै सुक्ने भएपछि विद्युत् उत्पादनसँगै भोटेकोसीको र्याफ्टिङ बन्द हुने निश्चित प्रायः भएको नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस् (नारा) का महासचिव मेघ आलेले बताए । ‘भोटेकोसी नदीको सखुवादेखि जम्बुसम्मको क्षेत्र नै र्याफ्टिङका लागि विश्वको ‘टप टेन’मा परेको क्षेत्र हो, त्यही क्षेत्र सुकेपछि केका लागि पर्यटक आउनु ?,’ उनले भने, ‘विकासका लागि विद्युत् चाहिन्छ
तर मध्यभोटेकोसीको निर्माण सम्पन्न
हुँदा भोटेकोसीबाट विश्वस्तरको र्याफ्टिङ बन्द हुनेछ ।’
उनले जम्बोभन्दा तलको नदीको बहाव अरू सामान्य नदीको जस्तो भएकाले त्यसको आकर्षण नभएको बताए । नाराका अनुसार हाल भोटेकोसीमा बर्सेनि करिब ५३ हजार पर्यटकले र्याफ्टिङ गर्छन्, जसबाट करिब सवा तीन करोड रुपियाँ आम्दानी हुन्छ । सखुवादेखि लामोसाँघुसम्म ¥याफ्टिङ, कायाकिङ, क्याननिङलगायतका क्रियाकलापका लागि वार्षिक करिब २५ हजार पर्यटक आउने गर्छन् । तिनीहरूबाट वार्षिक १४ करोड रुपियाँ आम्दानी हुने गर्छ ।
गत १२ भदौमा स्वीकृति पाएको आयोजनाको सम्भाव्यता अध्ययनले र्याफ्टिङ सुरु हुने सखुवामा विद्युत्गृह राख्दा ७५ मेगावाट र सात किलोमिटर तल जम्बोमा राख्दा २७ मेगावाट बढी १०२ मेगावाट बिजुली निस्कने देखाएको छ ।
‘पर्यटन व्यवसायीलाई जम्बोभन्दा तलबाट र्याफ्टिङ सुरु गर्न सहयोग गर्न सक्छौँ, तर कुनै पनि सर्तमा विद्युत् उत्पादन घटाउन सकिन्न,’ कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशमान श्रेष्ठले भने, ‘विकासको काम रोक्ने र एउटै खर्चमा हात पर्न थालेको १०२ मेगावाटलाई गुमाउने कुरा हुन सक्तैन ।’ उनले एक साताभित्रबाटै सुरुङ निर्माणको काम सुरु हुने बताए ।

प्रतिक्रिया