सङ्क्रमित भए पनि धमाधम सन्तान

नेपालगन्ज, २१ फागुन ।  बांके लक्ष्मणपुर–७ का साबिर खाँ दम्पती एचआइभी सङ्क्रमित हो तर पनि उनीहरूले सन्तान जन्माउन छाडेका छैनन् । तीन छोरीपछि छोरा जन्मिए पनि उनीहरूको अनुहारमा खुसीको चमक छैन । खाँ दम्पतीलाई छोरा जन्मिएको खुसीभन्दा छोरालाई पनि एचआइभी हुने हो कि भन्ने चिन्ता छ ।
‘छोरा त जन्मियो तर’ मलिन अनुहारमा देखिएका खाँले भने,‘मैले गरेको गल्तीको सजाय छोराले पनि भोग्नुपर्ने हो कि भन्ने चिन्ता छ ।’ उनकी पत्नी आजिमा बेगमले एक हप्ताअघि भेरी अञ्चल अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । उनीहरू दुवैमा एचआइभी सङ्क्रमण छ । एचआइभी सङ्क्रमण हुनुअघि उनीहरूबाट तीन छोरी जन्मिएका थिए ।
सन्तान जन्माउने एचआइभी सङ्क्रमित खाँ दम्पती बांकेमा एउटा प्रतिनिधि पात्र मात्र हुन् । एचआइभी सङ्क्रमित महिलाले सन्तान जन्माउनु जोखिमपूर्ण मानिए पनि उनीहरूले धमाधम सन्तान जन्माइरहेका छन् ।
‘जोखिमपूर्ण मानिए पनि एचआइभी सङ्क्रमित महिलाले सन्तान जन्माउने क्रम बढ्दो छ ’लामो समयदेखि एचआइभी सङ्क्रमित महिलालाई सुत्केरी सेवा दिइरहेका भेरी अञ्चल अस्पताल एआरटी तथा पिएमटीसिटी विभागका फोकल पर्सन अनिल केसीले भने, ‘महिलाले सन्तान जन्माउन पाउनु उनीहरूको प्रजनन् अधिकार हो, त्यसैले
रोक्न सकिँदैन ।’
सङ्क्रमित महिलाले जन्माउने बच्चामा एचआइभी नसरोस् भन्नाका लागि दिइने पिएमटिसिटी सेवा दिन सुरु भएको पांच वर्षमा भेरी अञ्चल अस्पतालमा ५१ जना सङ्क्रमित महिलाले बच्चा जन्माएका छन् । साउनयता मात्र  यस्ता चार आमाले बच्चा जन्माएका छन् ।
एचआइभी सङ्क्रमित महिलाबाट जन्मिएकामध्ये पाँचजनाको केही महिनामै मृत्यु भइसकेको केसीले बताए । बच्चा जन्माइसकेपछि अस्पतालमा सम्पर्क गर्न नआएकाले अरु बच्चाको अवस्था बुझ्न नपाइएको केसीले बताए । ६ हप्तादेखि १८ वर्षमुनिकालाई यस्तो परीक्षण गरिन्छ । केसीले भने, ‘ जन्मिएका बच्चाहरू पनि केही दिनमा मरेका छन् । उनीहरूलाई सङ्क्रमणले छिट्टै च्यापेको पाइएको छ ।’ बच्चामा एचआइभी भए नभएको परीक्षण सरकारले गर्दैन । गैरसरकारी निकाय मार्फत यसको परीक्षण हुने गरेको छ ।
‘हामीले परीक्षण नगर्ने भएकाले कति बालबालिकामा एचआइभी रहेछ भन्ने थाहा छैन ।’ केसीले भने, ‘यस्ता बच्चा लिएर आए उनीहरूलाई गैरसरकारी संस्थामा पठाइदिने गरिएको छ, तर कोही पनि आउँदैनन् ।’ धेरै गर्भवती सङ्क्रमित महिला रोग प्रतिरक्षा शक्ति बढाउने एआरटी सेवा लिँदैनन् । यसले यस्ता आमाबाट जन्मिएका बच्चामा एचआइभी सर्ने जोखिम धेरै हुने गरेको केसी बताउँछन् । ‘सकभर सङ्क्रमित महिलाले बच्चा नजन्माउँदा राम्रो हुन्छ भनेर सुझाव दिँदैआएका छौं ।’ केसीले थपे, ‘केही गरी भइहाले नियमित एआरटी सेवा लिनुहोस् भन्दा पनि मान्दैनन् ।’
बांके जिल्लामा झन्डै २० हजार एचआइभी । एड्सपीडित छन् । एचआइभी एड्सको अधिकारका काम गर्दै आएको राष्ट्रिय एचआइभी एड्स महासङ्घका मध्यपश्चिम क्षेत्रीय संयोजक वासु रानाले धेरै सङ्क्रमित दम्पतीले सन्तान जन्माउने चाहना राख्ने गरेको सुनाए । ‘तर उनीहरूलाई आफ्ना सन्तानलाई पनि यस्तै हुने हो कि भन्ने चिन्ता छ’ रानाले भने ।

प्रतिक्रिया