जहाज मार्केटिङ गर्न जर्मन कम्पनी काठमाडौमा

काठमाडौँ, २० फागुन । युरोपको एउटा जहाज निर्माता कम्पनी जहाज मार्केटिङका लागि काठमाडाँ आएको छ । जर्मनीको ‘आरयुएजी’ कम्पनीका प्रतिनिधि मण्डल जहाजसहित मार्केटिङका लागि नेपाल आएका हुन् ।
कम्पनीद्वारा निर्मित डोर्नियर ‘डीओ २२८’ न्युजेनेरेसन जहाज व्यावसायिक प्रवद्र्धनका लागि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएको छ । निजी वायुसेवा कम्पनी सीता एयरको सहयोगमा जहाज नेपाल ल्याइएको हो । सीता एयरका मार्केटिङ डाइरेक्टर सुनिल बिस्टले नेपाली भूगोल सुहाउने भएकाले कम्पनीको विशेष अनुरोधमा जहाज नेपाल ल्याइएको बताए ।
कम्पनीले यसअघि सिङ्गापुर, मलेसिया, थाइल्यान्ड तथा श्रीलंकामा जहाजको मार्केटिङ गरेको र कतिपय मुलुकले अर्डरसमेत गरिसकेको बिस्टले जानकारी दिए । कम्पनीले सीता एयरलाई नेपालका लागि एजेन्ट तोकेको छ ।
जहाज अवलोकनका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र बिस्ट तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । १९ सिट क्षमताको सो जहाजबारे मन्त्री र प्राधिकरण अधिकारीहरूले विस्तृत विवरण लिएका थिए । प्राधिकरणले विभिन्न विमानस्थलमा परीक्षण उडान गर्न, दैवी विपत्तिमा उद्धार गर्न तथा व्यापारिक प्रयोजनका लागि जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्री बिस्ट प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुन् ।
नेपाल एयरलाइन्स तथा नेपाली सेनाका उच्च अधिकारीहरूले समेत जहाज अवलोकन गरेको कम्पनीले जनाएको छ । त्यस्तै निजी वायुसेवा कम्पनीहरूले पनि जहाजमा चासो देखाएका छन् ।
हाल नेपालमा उडिरहेका डोर्नियर जहाजको तुलनामा यसमा आधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ  । यो जहाज पूर्णरूपमा ग्लास ककपिटसँगै ‘एफएमएस’ प्रविधिमा उडाउन सकिने सीता एयरका प्राविधिकले बताएका छन् । हाल सीताले डोर्नियर जहाजमात्र उडाइरहको छ ।
६ दशमलव पाँच मिलियन युरो अर्थात् करिब ६८ करोड २५ लाख नेरु. पर्ने जहाज इच्छुक ग्राहकलाई सहुलियत ऋणमार्फत किस्ताबन्दीमा समेत बेच्न सकिने कम्पनीले जानकारी दिएको छ । आरयुएजीका नेपाल तथा भारत हेर्ने निर्देशक अशोक मारबाहले ‘डेमो’का लागि जहाज नेपाल ल्याइएको हो भन्दै कुनै ‘पार्टी’ खरिदका लागि इच्छुक भए तत्कालै बेच्न सकिने बताए ।
गत साता काठमाडौँ ल्याइएको जहाज सोमबार जर्मनी फर्कँदै छ । कम्पनीकै पाइलटले जर्मनीबाट भारतहुँदै जहाज काठमाडौँ ल्याइपुयाएका हुन् । डेढ वर्षअघि पनि कम्पनीका अधिकारी जहाजको मार्केटिङका लागि नेपाल आएका थिए । तर त्यतिखेर जहाज ल्याइएको थिएन । पुरानो मोडलको तुलनामा नयाँ मोडलले राम्रो पर्फमेन्स दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो जहाजको पङ्खामा पाँच ‘ब्लड’ छन् जसले गर्दा आवाज कम हुन्छ, गति बढी हुन्छ, इन्धन कम खपत गर्छ र कम थर्किन्छ । सानो दूरीमा रोक्न र उडाउन सकिने भएकाले नेपालका ‘स्टल’ एयरपोर्टका लागिसमेत जहाज उपयुक्त हुने प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया