नेपाल बैंकले चुक्ता पुँजी चार अर्ब पुरायाउने

काठमाडौं, २० फागुन । नेपाल बैंकले एक बराबर साढे नौका दरले हकप्रद सेयर जारी गरी चार अर्ब रुपियाँ चुक्ता पुँजी पुरायाउने भएको छ । करिब तीन महिना अगाडि नेपाल राष्ट्र बैंकले हकप्रदबाट पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेपछि नेपाल बैंकले सो बराबर हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने तयारी गरेको हो ।
करिब ७५ वर्षअगाडि स्थापना भएको नेपालकै सबैभन्दा पुरानो बैंक नकारात्मक पुँजी कोषका कारण धरासायी बनेपछि राष्ट्र बैंकले व्यवस्थापन सम्हालिरहेको छ । संस्थाको पुँजीकोष चार अर्ब २२ करोड रुपियाँ ऋणात्मक अवस्थामा रहेको र चुक्ता पुँजी ३८ करोड तीन लाख ८३ हजार रुपियाँ मात्र रहेको छ । संस्थालाई करिब नौ अर्ब ७४ करोड रुपियाँ पुँजीकोष आवश्यक रहेकाले नयाँ पुँजी योजनाअनुसार एक बराबर नौ दशमलव पाँचका दरले हकप्रद सेयर जारी गरी चुक्ता पुँजी चार अर्ब पु¥याउने योजना बनाएको नेपाल बैंक व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले बताए ।
राष्ट्र बैंकको वाणिज्य बैंकसम्बन्धी पुँजी आवश्यकतामा चुक्ता पुँजी न्यूनतम दुई अर्ब हुनुपर्ने प्रावधान भए पनि आंशिक सरकारी स्वामित्वमा स्थापित नेपाल बैंकको चुक्ता पुँजी भने हालसम्म पनि कम नै  छ । पुँजी वृद्धि योजनाअनुसार कार्य भए नेपाल बैंक अहिलेसम्मकै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक हुनेछ । बैंकमा निस्क्रिय रहेको सम्पत्तिमध्ये करिब दुई अर्ब बराबरको सम्पत्ति बिक्री गर्ने र नपुग पुँजीकोषका लागि वार्षिक आर्जन हुने मुनाफालाई सञ्चित राखी आर्थिक वर्ष ०७१ ०७२ को अन्त्यसम्म राष्ट्र बैंकले तोकेबमोजिमको पुँजीकोष कायम गर्ने योजना नेपाल बैंकले बनाएको छ । नेपाल बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकसँग ३५ करोड ७० लाख ६७ हजार रुपियाँ  खुद स्थिर सम्पत्ति, ३६ करोड ७४ लाख चार हजार रुपियाँ गैरबैकिङ सम्पत्ति र आठ अर्ब ९६ करोड ४४ लाख ८५ हजार रुपियाँ अन्य सम्पत्ति रहेको देखिन्छ । नेपाल बैंकमा नेपाल सरकारको ४० दशमलव ४९ प्रतिशत, ‘क’वर्गका वाणिज्य बैंकको चार दशमलव ९२ प्रतिशत, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका विकास बैंक तथा वित्तीय संस्थाहरूको शून्य दशमलव ५२ प्रतिशत, सर्वसाधारणको ४९ दशमलव ९४ प्रतिशत र अन्यको शून्य दशमलव ७१ प्रतिशत सेयर रहेको छ ।
नेपाल बैंकले पुँजी योजना कार्यान्वयनका लागि शुक्रबार प्रमुख सेयरधनीहरूसँग प्रारम्भिक छलफल कार्यक्रम आयोजना गरी राय सङ्कलन गरेको थियो । नेपाल बैंकका साधारण सेयरधनीहरूमा पशुपतिशमशेर जबरा, राजेन्द्र खेतान, लोकभक्त राणा, गजेन्द्रबहादुर श्रेष्ठ, लोकमान्य गोल्छा, शेखर गोल्छा, निरञ्जनकुमार टिवडेवाल, गजेन्द्रबहादुर श्रेष्ठ, निरज राजभण्डारी, रमेशराज अर्याल, नवीननरसिंह राणा, इन्दिरा खत्री, केदारनारायण मानन्धर, बालकृष्ण श्रेष्ठलगायत छन् ।
आव ०५८ ०५९ मा  बैंकको पुँजीकोष १२ अर्ब ५८ करोड ऋणात्मक  अवस्थामा पुगेपछि विश्व बैंकको अगुवाइमा वित्तीय सुधार कार्यक्रम लागू गरी विदेशी व्यवस्थापनले बैंक सञ्चालन गरेको थियो । विदेशी व्यवस्थापनको म्याद समाप्त भएपछि राष्ट्र बैंकले व्यवस्थापन सम्हालेको हो । अहिले बैंकको पुँजीकोष घटेर चार अर्ब २२ करोड रुपियाँ ऋणात्मक अवस्थामा छ । करिब ६० प्रतिशत खराब कर्जामा पुगेका बैंकको खराब कर्जा प्रतिशत पाँच दशमलव १७ प्रतिशतमा पुगिसकेको छ ।
बैंकमा चालु आवको पहिलो ६ महिनामा ४८ अर्ब निक्षेप एवं कर्जा सापटीबापत २७ अर्ब ४५ करोड रुपियाँ बाहिर गएको छ । बैंकको लगानीतर्फ नौ अर्ब रुपियाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक करोड ११ लाख ५७ हजार रुपियाँ खुद मुनाफा गरेको छ । संस्थाको पुँजीकोष आठ दशमलव ५३ प्रतिशतले नकारात्मक रहे पनि निक्षेप लागत भने अन्य वाणिज्य बैंकका तुलनामा सस्तो रहेको छ । बैंकको कुल निक्षेप लागत पाँच दशमलव २४ प्रतिशत मात्र छ । कर्जा निक्षेप अनुपात भने ६२ प्रतिशतमा सीमित छ ।
अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बैंकको पुँजी योजना सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको सेयर हिस्सा बमोजिम करिब डेढ अर्ब रुपियाँ थप लगानी गर्ने सैद्धान्तिक सहमति रहेको बताए । हकप्रद निष्काशनपछि बैंकको सेयरलाई पुनः सेयर बजारमा सूचीकरण गरिने बताइएको छ ।

प्रतिक्रिया