शाहरुखः मेरो मिल्ने साथी

३६ वर्षे उत्तम सञ्जेल ठिटौलो उमेरमै फिल्म निर्देशक बन्ने सपनाको उडानमा मुम्बई पुगे । एक दशक बलिउडमा कडा सङ्घर्ष गरे । क्यामेराका एङ्गलहरूमा ध्यान लाए । चलचित्रका निर्देशकीय रणनीतिहरूमा घोरिए । विदेशी भूमिमा कमाएको ज्ञान बोकेर नेपाल फिरे, टेलिचलचित्र ‘त्रिकोण’ निर्देशन पनि गरे । तर, उनको मन त्यसमा रमाउन सकेन । मायानगरीमा मडारिएको अस्वस्थ प्रतिस्पर्धाले सिर्जनात्मक मनमा तुवँ“लो लगाइदिएपछि त्यसलाई चटक्कै छाडेर नेपाली बालबालिकाको उत्थानलाई आफ्नो धर्म बनाएका उनको नाम आज नेपाली शिक्षाक्षेत्रको पर्याय बनिसकेको छ । उनले स्थापना गरेको समता शिक्षा निकेतन उनको पुरुषार्थको एकमुष्ट प्रमाण हो, जहा“का २९ हजार बालबालिका मासिक एक सय रुपिया“मा गुणस्तरीय शिक्षा पाउ“छन् । यी उपलब्धिबीच पनि मुम्बईका ती सङ्घर्षात्मक स्मृतिहरू उनका मनभरि बेलाबखत सलबलाइरहन्छन् । कुन रुमानी सपनाले घेरिएर मुम्बई पुगे त उनी ? कस्ता थिए ती दिन ? उनकै शब्दमाः

सिनेमाको ग्ल्यामरले मलाई सानै उमेरदेखि नै तानेको हो । बुझ्दै जाँदा त्यसबेला नेपाली सिनेमाको स्तर उति राम्रो थिएन, अरूका तुलनामा । प्राविधिक विषयमा दक्षता हासिल गरेका मान्छे यहाँ देखिँदैनथे । लाग्थ्यो– नेपाली चलचित्रमा पनि त्यो दक्षता ल्याउन पाए ! मलाई त्यही कुराले तान्यो । हलिउडसम्म जान नसके पनि कमसेकम बलिउडमै जाऊँ र केही सिकौँ
भन्ने लाग्यो ।
असार २०५३ । आकाशमा कालो बादल मडारिइरहेको, चर्को पानी परिरहेको कुनै दिन म मुम्बइया फिल्मी सपनाले घेरिएर नेपालबाट हिँडे । तत्काललाई ठूलो लक्ष्य केही थिएन । फिल्ममा सानोतिनो चान्स पाए केही सिकिन्छ कि भन्ने मात्र थियो । साथमा दुईजना साथी पनि थिए । घरबाट ३१ सय रुपियाँ चोरेर हिँडेको थिएँ । रेलको ३६ घन्टे यात्रापछि मुम्बई पुगियो । पहिलो दिन जुहु भन्ने ठाउँमा बस्यौँ । त्यहाँ मिथुन चक्रवर्तीको ‘प्यार झुक्ता नहिँ’ सिनेमाको सुटिङ भइरहेको रहेछ । लाग्यो– बा ! कस्तो गजब ठाउँमा आइपुगिएछ !
लगेको ३१ सय रुपैयाँ त १० दिनमै सकियो । अब के गर्ने ? नेपाली दाजुभाइको शरण परियो । तैपनि बल्ल–बल्ल एक छाक भेट्यो, फेरि तीन छाक भोकै । चार दिनसम्म भोकै थिएँ । मुम्बई उति महँगो भने थिएन, तीन मोहरमै बडापाउ खान पाइन्थ्यो । तर, बस्ने ठाउँ थिएन । एक साता जति त चिसो सडकमै सुतेँ, पत्रिका ओढेँ । निद्रा लागेकै हुन्नथ्यो, पुलिस आएर लगिहाल्थ्यो ।
सडक र गल्लीमा खुब कष्ट भोगियो । हिरो बन्न मसँगै हिँडेका झापा र बुटवलका साथीको सपना मोडियो, होटलमा काम गर्न थालेँ । म भने फिल्ममा छिर्ने बाटो नै खोजिरहेको थिएँ ।
मुम्बई अचम्मको सहर । थुप्रै कुरा देखिए । रेलवे प्लेटफर्ममा बेवारिसे लास, ३० ३२ तले भवनको झ्यालबाट झरेको फोहोर कमिजको फेरमा थापेर भातको सिता छान्दै खाने सडक बालकहरू, वर्षौैंसम्म वेश्यालयमा काम गरेर एचआइभी भएपछि वेश्यालयबाट निकालिएका नेपाली महिला, सडकमै छाप्रो बनाएर जीवनको पाङ्ग्रा गुडाउन अभिशप्त नेपाली मजदुर । यस्ता दृश्यले मलाई निकै दुख्थ्यो । सबैभन्दा बढी दुख्थ्यो, नेपाली महिलाकै पीडाले ।
मुम्बईमा कमाटीपुरमा एक लाख नेपाली महिला बेचिएका छन् । एचआइभी नभइन्जेल उनीहरू वेश्यालयमै जीवन घिसार्छन् र सडकमा आउँछन् । एड्स रोग लागेर सडकमा मरिरहेका थुप्रै नेपाली र भारतीय महिला देखेँ । एक बिहान सडकमा हिँड्दै थिएँ । एउटी नेपाली महिलाले फोहोरको थुप्रोबाट ‘दाइ भोक लाग्यो’ भनिन् । मैले आफूसँग भएको ३० रुपैयाँ दिएँ । उनी एड्स रोग लागेपछि वेश्यालयबाट निकालिएकी रहिछन् । भोलिपल्ट बिहान त्यही बाटोनजिकैको फोहोरको डङ्गुरमा ती महिलाको लास देखेँ । अहिले पनि झलझली सम्झन्छु त्यो बिजोग–नगरपालिकाको गाडी आयो र फोहोरको डङ्गुरसँगै लास पनि उठाएर लग्यो ।
०००
सिनेमाको प्राविधिक क्षेत्रमा पस्नु साह्रै गाह्रो काम रहेछ । दार्जिलिङका कमल लामाले मलाई ‘ल यहाँ काम गर’ भनेर फिल्म लाइनमा पस्न सहयोग गरेका थिए । पहिलो दिन नै म ‘एप्रेन्टिस’ भएर चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यो एसिस्टेन्ट डाइरेक्टरभन्दा तलको पद हो । खाली फाइल बोक्ने मात्रै काम हुन्थ्यो मेरो । मोहनजीप्रसाद भन्ने मान्छेको ‘मेघा फिल्म्स’को ब्यानरमा बन्दै गरेको फिल्म थियो त्यो । भारतमा त्यसबेला अहिलेजस्तो ह्वारह्वार्ती टेलिसिरियल बन्दैनथे ।
मेरो पद एसिस्टेन्ट डाइरेक्टरसम्म पुग्यो, तर त्यसमै काम गर्न पनि कम्ती कष्ट त कहाँ थियो र ?  गर्दै जाँदा सुवास घई, यश चोपडा हुँदै सञ्जयलीला भन्सालीको ‘खामोसी’ सम्म काम गर्ने अवसर पाएँ । मुम्बईको सबैभन्दा ठूलो फिल्मी कम्पनी ‘यशराज’ को ब्यानरमुनि बसेर पनि काम गरेँ । एउटा फिल्ममा चारजना हुन्थे एसिस्टेन्ट डाइरेक्टर । दिनको २५ रुपियाँ ज्याला पाइन्थ्यो ।
शाहरुख खान उतिबेला बलिउडका बादशाह बनिसकेका थिएनन् । मेरो त्यहाँको सङ्घर्ष र उनको बलिउड प्रवेश लगभग एउटै समयमा हो । उनीसँग निकै राम्रो सम्बन्ध थियो । त्यसअघि उनी सिरियलमा मात्र देखिन्थे, ‘फौजी’ सिरियल प्रसारण हुन्थ्यो दूरदर्शन टेलिभिजनबाट । राज कपूरको प्रिजी थिएटरमा हाम्रो निकटता बढेको थियो । सङ्घर्षमा रहेका सबैजना त्यहीँ जम्मा हुन्थे र दुःखका कथा सुनाउँथे । शाहरुख हामीसँगै कफी खान्थे, मुम्बइया प्रवृत्तिको कुरा गर्थे । तीन दशकदेखि मुम्बईका सडकमै समय गुजारेका मान्छे । वेश्यालयबाट निकालिएकी रोगी महिला, फिल्ममा आउन गरिने चर्को सङ्घर्ष । कुराकानीका विषय यिनै हुन्थे ।
शाहरुख निकै संवेदनशील स्वभावका थिए । एक साँझ मैले वेश्यालयबाट निकालिएकी रोगी नेपाली महिलाको कुरा सुनाएँ, उनका आँखा एकाएक रसाएर आए, निकै भावुक देखिए । जोक्स पनि सुनाउँथे उनी, पेट मिचीमिची हँसाउँथे ।
बलिउडका नामुद कलाकार नानापाटेकरसँग पनि मेरो दोस्ती थियो । ‘खामोसी’ मा काम गर्दा हाम्रो दोस्ती झाङ्गियो । थिएटरबाट आएका स्थापित कलाकार उनी यो चलचित्रमा ‘मेन रोल’ मा थिए । उनी नेपालीलाई असाध्यै माया र सम्मान गर्थे । उनले मलाई भनेका थिए– ‘तिमी एउटा सिरियल बनाऊ हामी सँगै काम गरौँला ।’ खोइ, अब त उनले बिर्सी पो सके कि !
यसबीच एन चन्द्रा, बी रामनाइडो, रेड््डी, एस चोपडा, एस डीहरूसँग पनि काम गरेँ । चर्चित हिरोइन नीलम, करिस्मा कपूर, श्रीदेवीसँग पनि म नजिक थिएँ ।
मेरो काम सट रेडी भएपछि कलाकार बोलाउने, सट सिद्धिएपछि ‘सरको सट सिद्धियो’ भन्ने, डायलग पढाउने, ड्रेसम्यानलाई बोलाउने, ड्रेसको कन्टिन्युटी बुझ्ने, सेट डिजाइन हेर्ने, सट लेख्ने हुन्थ्यो ।
केही साउथ इन्डियन फिल्ममा पनि काम गर्न भ्याएँ ।
सबैभन्दा सन्तुष्टचाहिँ सुवास घईकै ‘डर’ मा काम गर्दा भएको थिएँ । राम्रो पैसा आएको थियो ।
सुवासकै ‘जय देवा’ फिल्ममा हिरो थिए अमिताभ बच्चन । यस क्रममा उनीसँग मैले पनि नजिकिने मौका पाएको थिएँ । उनी निकै सहयोगी स्वभावका लाग्थे । तर, केही भाग सुटिङ भएपछि त्यो प्रोजेक्ट नै क्यान्सिल भयो । भन्सालीको ‘हम दिल दे चुके सनम’ मैले मुम्बईमा काम गरेको अन्तिम फिल्म हो ।
यो अवधिसम्म मैले काम गरेका फिल्म १० वटा पुगेछन् । ‘हम दिल दे चुके सनम’ लगत्तै मैले जिटिभीबाट प्रसारण हुने सिरियल ‘सुटिङ’ मा निर्देशन गर्ने मौका पाएँ । त्यसमा हिन्दी सिनेमाका स्थापित कलाकार मुस्ताक खान, राजा मुराद, भरत कपूर, सुधा चन्द्रम, पृथ्वीहरू काम गर्थे । तर, त्यो १० एपिसोड मात्र प्रसारण भयो । त्यसपछि म साह्रै मुड अफ भएँ । प्रत्येक साँझ मुम्बईको फोहोर सडकमा टहल्दै सोचिरहन्थेँ– ‘मैले राम्रो मौका पाएको हुँ, तर पनि म किन असफल भएँ ?’ १० वर्षको मुम्बई बसाइपछि म काठमाडाँै फर्किएँ ।
०००
मेरो घर गोठाटारको स्थिति पनि मुम्बईको भद्रगोलभन्दा फरक थिएन । घरनजिक ७५ जिल्लाका मानिस बस्थे । गरिबीले वर्षैपिच्छे ग्याल्ग्याल्ती जन्मिने उनीहरूका सन्तान अभिभावकको बेवास्ताका सिकार थिए । ती नसालु पदार्थ सुँघ्थे, चोर्ने र लुट्ने गर्थे । १० १२ वर्षका किशोरीहरू पनि वेश्यावृत्ति गर्थे । उनीहरूलाई पढाउनु नै समस्या समाधानको मार्ग हो भन्ने लाग्थ्यो । यही झोकमा मैले ‘समता शिक्षा निकेतन’ खोल्ने विचार गरेँ । कडा मिहिनेतपछि सुरुमै स्कुलमा आठ सय ५० विद्यार्थी आए, अहिले देशभरि २९ हजार छन् ।
जुनबेला म मुम्बई पुगेँ, त्यसबेलादेखि अहिलेसम्म नेपाली सिनेमाको स्तरमा एकरत्ति पनि परिवर्तन भएन । झनै रद्दी बन्दै गयो नेपाली फिल्म । म नेपाली फिल्ममा आएको भए प्राविधिक रूपले यो क्षेत्रलाई एकदम माथि उठाउथेँ । सिनेमा एक्सन, रियाक्सन र डिक्सनको कम्बिनेसन हो । यो कम्बिनेसन हामीकहाँ छैन । नेपाली डाइरेक्टरलाई फिल्मको डेप्थ थाहा छैन । उनीहरू अघिल्लो साँझ टन्न जाँड खान्छन् र भोलिपल्ट सुटिङ सुरु गर्छन् । बजेटजति जाँड खाएर सिध्याउँछन् । आफू गर्न केही जान्दैनन् र अरूलाई दोष दिन्छन् ।

प्रस्तुतिः दीपक सापकोटा

प्रतिक्रिया