यी हुन् खसीले पालेकाहरू !

काठमाडौँको सहरिया जीवन जटिल बन्दै छ । तर, ग्रामीण नेपालको सपना काठमाडौँ जाने हुन्छ । ग्रामीण नेपालका पनि गरिबगुरुवा विभिन्न सपना र बाध्यताले घचेटेर काठमाडौँ पस्छन् । कोही सहरको भिडभाडमा कोचिएर निस्सासिँदै बाँचिरहेका हुन्छन्, कोही सडकमै निदाइरहेका हुन्छन् र रामकृष्ण ढकालजस्ता कोहीकोही भाग्यमानी यहीँबाट स्वप्नलोक पुग्छन् । काठमाडौँको मुटु भन्न मिल्ने प्रदर्शनीमार्ग र बागबजारको सन्धिस्थलमा रहेको खसीबजारमा खसीको मात्र होइन, सपनाको पनि किनबेच चल्छ ।
इच्छुमती तरकारी–बजार अघिल्तिर ‘खसीबजार’ लेखिएको साइनबोर्ड छ । राजधानी भएर पनि औधि फोहोर खसीबजार अघिल्तिर तपाईं हामी सधैँ नाक थुनेर हिँड्नुपर्छ । जनजिब्रोमा ढलमती नाम दिइसकिएको इच्छुमती, लाग्छ– प्लास्टिक र बोराहरूको नदी हो, जसमा मानिसका सालनाल, गर्भनिरोधक प्लास्टिक, कागज, नाइलन र विष्टाहरू थिगिँरदै बगेजस्तो गर्छन् । यहीँ टाँसिएर बस्ने मानिसहरूको कुरा त बेग्लै, बाहिरबाट आएको स्वस्थ मानिस यसनजिक पुग्यो भने पक्कै निसासिन्छ । फोहोर र बड्कौँलाले बाटो छोपिएको छ । यस्तो चिसोमा पनि आङ नढाकिएको १३ वर्षे बालक खसी स्याहार्दै छ ।
भर्खरै कुहिरो फाटेको छ । बिहानैदेखि खसी–व्यापारीहरू आ–आफ्ना खसी गन्दै छन् । निम्न–मध्यम र मध्यमवर्गीय सहरिया उपभोक्ता अनि भट्टीको भरमा चल्ने यस्ता खसीबजार उपत्यकामा पनि धेरै छन् । खसी–व्यापारीको भावभङ्गीमा, पहिरन र तिनीहरूको आफ्नो योग्यताअनुसारको गफको बान्कीलाई नजिकबाट नियाल्न एक सातादेखि म खसीबजार पुगिरहेको छु । र, यहाँ अलिअलि नाफा कमाउने डम्बरबहादुर लामाजस्तो खसीका व्यापारी मात्र होइन, जुम्लाबाट राजधानी छिरेर सकसको जिन्दगी काटिरहेका हरि अधिकारी पनि भेटिन्छन् । ४२ हिउँद पार गरेका लामाले काठमाडौँका विभिन्न खसीबजारमा बसेर खसी बेचेको २२ वर्ष पूरा भइसकेछ, अधिकारी कति वर्ष बस्ने हुन्, थाहा छैन ।
‘पासपोर्ट’ पछिल्लोपटक नेपाली अर्थराजनीतिको मिथक बनेको छ । आफ्नै भूमिमा बगाएको पसिना मूल्यहीन नुनिलो झोल साबित हुनथालेपछि मानिसहरू एकथान पासपोर्टको खोजीमा हुन्छन् र मरुभूमिमा ‘रियाल’ कमाउन ताँती लाग्छन् । खसीबजारमा बोको डोरायाएर गाहकी कुरिरहेको २२ वर्षे युवक रामबहादुर घर्ती चौताराबाट बढ्दै गरेको पाँच धार्नीको बोको च्यापेर एकाबिहानै घर छाडेर सहर पसेको हो । वास्तवमा ऊ यो बोको बेचेर पासपोर्ट बनाउने पैसा जोहो गर्न चाहन्थ्यो । उसका लागि यो बोको विदेश उड्ने पासपोर्ट हुन सक्थ्यो । त्यसैले, नेपाली गाउँले जीवनको दुरूह बेरोजगारीले यो ठिटोको सपना पनि पासपोर्टमा टाँस्सिएको छ र हरपल खसीबोकाको चाकरीमा बिताइरहेको छ ।
खसीबजारले कुनै चप्पले नेतालाई सिंहदरबारभित्र छिरेपछि आममानिसका सपना देख्न बिर्सने प्रवृत्तिलाई सम्बोधन गर्दैन । सत्ताको जादुमयी स्वाद चाखेकाहरू पनि यहाँ आइपुग्दैनन्, कोल्डस्टोर वा फ्रेस मिट सप भन्ने बोर्ड टाँसिएका पसलमा नोकरचाकरलाई पठाइरहेका हुन्छन् । यसो भनौँ, मतदानका बेलाबाहेक घर्तीसँग उनीहरूको कुनै साइनो हुन्न ।
भनिएको छ– १२ प्रतिशत मानिस मात्र रङ्गहीन सपना देख्छन् र बाँकी मानिस रङ्गीन सपना देख्छन् । यहाँ खसीबजारमा आउनेहरू रङ्गीन सपना देख्छन् र ८८ प्रतिशत जनताको प्रतिनिधित्व गर्छन् । यहाँ जति भेटिएका छन्, उनीहरूको बोलीको लय र ताल उस्तै देखिन्छ । यहाँ भेटिने मान्छेका हालतले नेपालको भविष्यको चित्र झल्काउँछ । कथा सुरु गरौँ, सुदूर जुम्लाबाट काठमाडौँ झरेको अधिकारीबाट ।
०००
फुपूले एक दिन भनिन्, ‘कान्छा, जाऊँ काठमान्डूतिर, तँलाई उतै पढाइदिउँला ।’ अनि, अर्को दिन फुपूसँगै बस स्टेसन आएको थियो हरि । अधिकारीको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टी मात्र आयो, चक्कर लागेर ज्वरै आयो,’ जुम्लाको पाथरखोला गाविसदेखि काठमाडौँसम्मको यात्रा सम्झियो हरिले, ‘कति दिनमा काठमाडौँ आइपुगियो थाहा छैन तर उल्टी मात्रै भयो ।’ यो तीन वर्षअघिको कुरा थियो । गाउँको हरियो घाँसे उपत्यकामा बाख्रा गोठालोको काम गर्ने अधिकारीको अहिले पेसा भा’छ– खसी हेर्ने । फरक यति हो, गाउँमा जङ्गल घुमेर खसीबाख्रा हेर्नुपथ्र्यो, अहिले फोहोर र नाकै फुट्लाझैँ गन्हाउने टुकुचाको पुलपारि खुम्चिएको चौघेरोमा ।
शुक्रबार बिहान १० बजे काठमाडौँको एउटा गल्लीको अँध्यारो कोठामा यो लेख्दै गर्दा टुकुचाछेउको खसी मोलमोलाइ केन्द्रमा १३ वर्षे हरिको ‘चौकीदारी ड्युटी’ सुरु भएको छ । त्यसबापत उसले महिनामा पाँच सय रुपियाँ पाउँछ । एउटा झाडुले खसी वरिपरि मान्छे भेला हुने मटान बढारेपछि, हातै हालेर बड्कौँला सोहोर्छ । प्रत्येक बिहान र बेलुका उसले यस्तै गर्नुपर्छ । मालिकको गाली र लात्ती बेलाबेला बर्सिन्छ ऊमाथि । बेलुकी ८ बजे मालिक घरतिर लागेपछि नजिकैको होटल पुग्छ । मालिकको पैसाले खाना खान्छ र फर्कन्छ खसी गोठमै जहाँ आफ्नाजस्तै काम गर्ने चारजना बूढा भेट्छ र भेट्छ– मालिकका ४५ खसी ।
राजधानीमा कमाएर घरमा पनि पैसा पठाउँछ त हरि ? ‘एक्लै बस्दा भाडा तिर्नै सकिन्नँ, घरमा के पठाउनू, पाँच सय पनि सहकारी संस्थामा बचत गर्छु ।’ घरमा आमा, बुबा, दुई दाजु, दुइ भाइ र बहिनी छन् । एउटी दिदीको विवाह भयो । दाजुहरू भारततिरै नोकरी गर्छन् । काठमाडौँ बस्ने काकाले पढाइदिन्छु भनेर फुपूमार्फत उसलाई यतै बोलाए । स्कुलमा दुई कक्षामा भर्ना पनि गरिदिए । तर, एक वर्षपछि ‘काम गरेर खा’ भनेर घरबाट निकालिदिए । यो बिरानो ठाउँमा कहाँ जाओस् हरि ? डुल्दै टुकुचाको खसीबजार पुगेको ऊ त्यसपछि त्यहीँको जागिरे बन्यो । काठमाडौँ पसेपछि उसले न आमाको स्वर सुन्न पाएको छ न भरपेट खान नै । टुकुचा–पुलमाथि हुइँकिने गाडीको चर्को घुराइ र नाली मिसिएको टुकुचाको फोहोर लेदो पानी हेरेर उसले जिन्दगीको पाठशालामा दिन कटाउँदै छ ।
०००
सात कक्षा पढ्दै गर्दा बाबुले पढ्नभन्दा खसी बेच्नमा जोड दिएपछि डम्बरले नाइँनास्ती गरेनन् । काभ्रे, सिन्धुपाल्चोक र काठमाडौँ आहोरदोहोर गरिरहे, खसी ओसारिरहे । टुकुचाको खसीबजारमा बस्दाबस्दै मानिसको आवतजावतमा आएको परिवर्तनप्रति लामा आश्चर्यचकित छन् । लामाको अनुमानमा काठमाडौँमा जुन अनुपातमा मानिसको सङ्ख्या बढ्यो, त्यसै अनुपातमा मान्छे एक्लो बन्दै गयो, पसल बढ्दै गए । पहिलेजस्तो चिनजानका आधारमा खसी खरिद गर्ने स्थिति रहेन । खसी किन्न खसी बजारै धाउनुप¥यो । एकजना खसीजस्तै खिरिलो ग्राहक म भएतिरै लम्कियो । मसँगै टाँसिएको खसी उचाल्यो । एउटा हात पेटमुनि घुसार्यो अर्को ह्याकुलोमा अड्यायो र सँगैको मालिकलाई सोध्यो, ‘१० धार्नी छ ?’ ‘आठ धार्नी होला ।’ एकैछिनमा एक किलो मासुलाई ३ सयको दरले तिरेर खसी डोराउँदै निस्कियो । ‘अब यसले पाँच सय पचास रुपियाँ किलोमा बेच्छ मासु,’ खसी व्यापारी डम्बर बोले ।
काठमाडौँका घना बस्तीका मान्छे यहाँका ग्राहक हुन् । को–कस्तो ग्राहक हो ? कहाँबाट आउँछ ? कति धार्नी खसी किन्छ, कण्ठस्थै छ, यहाँका व्यापारीहरूलाई । अनि, कण्ठ छ– नजिकैको टुकुचा खोलाबाट बिहानीपख र दिउँसो आउने हावाको गन्धले नाक कति पोल्छ । टाढैबाट खसी गन्हाउने लुगा लाएका, साँघुरो गल्लीमा खसी डोरायाउँदै भित्र पस्ने अनुहारलाई सहजै चिन्न सकिन्छ, यिनीहरू मासु सस्तोमा बेच्छन् तर पसलेले किनेको डबल भाउमा बेच्छ । ‘त्यसैले हामी जस्ताको तस्तै,’ लामा भन्छन् । यस हिसाबले खसीबोकाको जीवन र उनीहरूको जीवनमा खासै अन्तर देखिँदैन ।
खसी बेचेको पैसाले आठजनाको परिवार पाल्छन् डम्बर । दिनभर काम गर्दा महिनाको १५, १६ हजार रुपियाँ कमाउँछन् । पैसा बचत नभए पनि खान बस्न पुग्छ उनलाई । दिनभर टुकुचाको फोहोर गल्लीमा बिहानदेखि साँझसम्म खसीअगाडि धुमधुम्ती बसिरहेको भेटिने हरि र डम्बरहरूलाई देख्दा अचानक भूपि शेरचनको कविता याद आउँछ –
…यो मेरो चोकमा
देवताले बनाएको मानिस र
मानिसले बनाएको देवता
यी दुवैथरीको निवास छ ….

प्रतिक्रिया