नफर्कने नै भए आधा दर्जन कलाकार

न्युयोर्क, १८ फागुन । सांस्कृतिक कार्यक्रमका लागि डेढ महिनाअगाडि अमेरिका आइपुगेको कलाकारको टोलीमध्ये आधा दर्जन कलाकार तत्काल नेपाल नफर्कने भएका छन् । नायिका युना उप्रेती, गायक नरेन्द्र प्यासी, हास्यकलाकार गोपाल नेपाल ‘फिस्टे’, गुरुङ चलचित्रकी नायिका मीरा गुरुङ, लोकगायक विमलकुमार डाँगी र सञ्चारकर्मी जयप्रकाश रिजाल तत्काल नेपाल नफर्कने मनस्थितिमा देखिन्छन् ।
कार्यक्रमकै सिलसिलामा अमेरिका आएका सङ्गीतकार शम्भुजित बाँस्कोटा, नायक दिवस उप्रेती र गायिका मल्लिका कार्की भने २४ फागुनमा नेपाल उड्दै छन् । उनीहरूसँगै अमेरिका आएका अर्का हास्यकलाकार निर्मल शर्मा ‘गैँडा’ भने होमसिक भएको भन्दै अमेरिकाको कुनै कार्यक्रममा सहभागी नभई नेपाल फर्केका थिए । यीमध्ये सङ्गीतकार बाँस्कोटाबाहेक अन्य सबै कलाकारको अमेरिका भ्रमण पहिलो हो । कार्यक्रमका सिलसिलामा अमेरिका आइपुगेका कलाकारमध्ये नायिका मीरा गुरुङले भने न्युर्याेक बस्दै आएका आफ्ना प्रेमीसँग जोडी बाँधिसकेकी छन् ।
कार्यक्रमका सिलसिलामा यसअघि अमेरिका आएका धेरै कलाकार अमेरिकन ग्रिनकार्ड लिएर बसेका छन् । यो परम्परालाई यसपालि यतै बस्ने योजना बनाएका कलाकारले पनि अनुसरण गर्ने पक्का भएको छ । यद्यपि, आवेदन दिनासाथ ग्रिनकार्ड हातमा आउँछ भन्ने कुनै ग्यारेन्टी हुँदैन । यसरी ग्रिनकार्डका लागि आवेदन दिएर ग्रिनकार्डको पर्खाइमा रहेका नेपाली कलाकारको सङ्ख्या थुप्रै छ । पछिल्लो समयमा यसरी ग्रिनकार्ड पाउनेमा गायक यम बराल, लोकगायक सुमन बुढा र हास्यकलाकार गोपाल अधिकारी (ट्वाकेन्द्र) हुन् ।
नोबल कन्सल्टेन्सी र नेपाली मन्दिर नामक संस्थाको सहयोगमा गत जनवरी १७ र १९ मा अमेरिका आइपुगेका यी कलाकारको जम्बो टोलीले अमेरिकाको चार ठाउँमा कार्यक्रम प्रस्तुत गरे । लसएन्जलस, बाल्टीमोर, न्युयोर्क र बोस्टनमा फितलो कार्यक्रम व्यवस्थापन र पातलो दर्शकबीच उनीहरूले आफ्नो कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा कमीकमजोरी भएको भन्दै अधिकांश कलाकारले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया