पार्टीले युवालाई सत्ता चढ्ने लिस्नु बनाए

प्रदीप पौडेल निवर्तमान अध्यक्ष, नेविसंघ
म जानेर बुझेर राजनीतिमा आएको होइन, वातावरणले नै तानेर ल्यायो । बुबा नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो । तनहुँको ढोरफिर्दीस्थित हाम्रो घरमा नेताहरूको राम्रै जमघट हुन्थ्यो । तर, राजनीति निष्ठाको हुनुपर्छ भन्नेचाहिँ मलाई पहिल्यैदेखि लागेको हो । अहिलेको युवा अवस्थामा पनि त्यही सोच कायमै छ । तर, अहिले राजनीतिमा न निष्ठा छ न त इमानदारी । यो देखेर अन्य युवालाई जस्तै मलाई पनि असाध्य पीडाबोध हुन्छ । मानिसहरूले राजनीतिलाई व्यवसाय बनाएका छन् । कमाइखाने भाँडो बनाएका छन् । राजनीति फोहोरी देखिनुको मुख्य कारण यही नै हो । तर, यसलाई रोक्न प्रयासै नभएको चाहिँ होइन, युवावर्ग पनि यसप्रति सचेत हुँदै गएका छन् ।
सपनाबिनाको राजनीति हुँदैन । तर, सपना पूरा गर्न त्यसअनुरूपको स्पष्ट कार्ययोजना त हुनुपर्‍योनी नि । अहिले बिग्रेको भनेको स्पष्ट कार्ययोजना नभएर नै हो । नेपाली युवाको क्षमता मूल्याङ्कन नभएर नै हो । जहिले पनि युवाशक्ति राजनीतिक दलका लागि सत्ता चढ्ने लिस्नु मात्र बन्नुपर्ने अवस्था सिर्जना गरिएको छ । मेरो पार्टी नेपाली कांग्रेसले पनि युवाशक्तिलाई त्योभन्दा माथिल्लो नजरले नहेरेकै हो । यसो भन्दा आपत्ति मान्नुपर्ने कुनै ठाउँ छैन । आफ्नै पार्टीले त अहिलेसम्म त्यही व्यवहार गरिरहेको छ भने म अरू पार्टीलाई दोष दिन चाहन्नँ ।
अहिलेका युवाहरूमा सपना देखेर मात्र के हुन्छ र भन्ने प्रवृत्ति हाबी भएको छ । त्यसो हुँदा सिर्जनात्मक मानसिकता फक्रन पाउँदैन । खालि कुनै एउटा वादसँग नजिक भयो, पुग्यो । तर, स्पष्ट भइसकेको छ, ‘अब लेलिनवाद, माओवाद, बिपीवादले मात्र केही हुनेवाला छैन । नयाँ ढङ्गले सोच्न आवश्यक छ । देशका बारेमा साझा धारणा बनाउन युवाहरूलाई कसले र किन रोकिरहेको छ आखिर ? खासमा हामीले हाम्रो सङ्कीर्णता त्याग्न नसकेका कारण यस्तो अवस्था देखिएको हो । कहिलेकाहीँ घोत्लिएर सोच्ने गर्छु, नेकपा एमाओवादीले युवाहरूलाई यति ठूलो सपना बाँड्यो कि आज ती युवाले भविष्य नै खुट्याउन सकिरहेका छैनन् । वाइसिएलले एमाओवादीलाई यो स्थानमा ल्याइपुरायो तर उपलब्धि के त ? वाइसिएलका युवाले आजको जस्तो स्थितिका लागि पार्टीलाई सहयोग गरेका पक्कै होइनन् होला । आन्दोलनमा रगत बगाएका होइनन् होला । हामी राजा फाल्ने आन्दोलन सँगसँगै गर्न सक्छौँ भने एक भएर युवालाई समृद्ध बनाउने अभियान सञ्चालन गर्न किन सक्दैनौँ त ? अहिलेसम्म हामीले यो ढङ्गले सोच्नै सकेका छैनौँ । बनाउनभन्दा पनि बिगार्न मात्र उत्साहित छौँ हामी । चाहे जोसुकैले ल्याओस्, राम्रो एजेन्डालाई त राम्रो भन्नुपर्‍योनी नि ! किन हरेक एजेन्डालाई कांग्रेस वा कम्युनिस्टको आँखाले मात्र हेर्ने ? यसले कसैलाई अल्पकालीन रूपमा व्यक्तिगत लाभ त होला तर कल्पना गरेको नेपाल बनाउन त सक्दैनौँ नि । सामूहिक हितका एजेन्डामै विभाजित मानसिकताले कति दिन टिकिएला र ? ऊर्जाशील अनि बुझकी युवालाई मिलाउन नै तेस्रो व्यक्तिको आवश्यकता किन ? हामीले साझा एजेन्डा बनाएर मिलेर कार्यान्वयनमा लग्यौँ भने हामीलाई हाम्रा माउ पार्टीले कुनै हस्तक्षेप गर्ने आँट गर्न सक्दैनन् ।
हाम्रो राजनीति युवालाई आत्मनिर्भर बनाउँदै नयाँ सोच विकास गर्नमा केन्द्रित हुनुपर्छ । हामी विश्वव्यापार सङ्गठनको सदस्य बनेको आयात गर्न मात्र होइन, निर्यात गर्न पनि हो । युवाहरूको मिहिनेती ऊर्जाले सही ठाउँमा पोखिने अवसर पाए त्यो टाढाको कुरा पनि होइन । दैनिक १५ सयदेखि दुई हजार युवा त्रिभुवन विमानस्थलबाट खाडी मुलुक जाँदा रेमिट्यान्स भित्रिने खुसीमा रमाउनुको कुनै अर्थ छैन । किनकि, त्यसले देशविकासको मेरुदण्डलाई दीर्घकालसम्म मजबुत राख्न पक्कै सक्दैन ।
नेपाल जलस्रोतमा दोस्रो ठूलो देश, प्राकृतिक सम्पदाको प्रचूर सम्भावना, पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना । यी स्रोतका बाबजुद संसारकै सबैभन्दा बढी युवाशक्ति पलायन हुने देश पनि नेपाल । देशविकास गर्न केले रोक्यो त हामीलाई । स्पष्ट छ, ‘हामी सधैँ एउटै मानसिकतामा रह्यौँ, नेपाल दुई ढुङ्गाबीचको तरुल हो, हामीले मात्र गर्न सम्भव छैन । तर, हामीले यसरी सोचेनौँ, ‘नेपाल दुई तरुलबीचको ढुङ्गा पनि बन्न सक्छ ।’
प्रस्तुतिः सरिता सुवेदी

प्रतिक्रिया