निर्माताले छाडेपछि हिरोले गरे लगानी

काठमाडौँ, निर्माताले बीचैमा निर्माण छाडिदिएपछि अन्योलमा परेको चलचित्र दुस्मनीले जसोतसो छायाङ्कन भने पूरा गरेको छ । निर्माता रामभक्त श्रेष्ठले छायाङ्कनको बीचैमा चलचित्र छाडिदिएका थिए । निर्माताले छाडे पनि चलचित्रको सबै पक्ष रेडी रहेकाले छायाङ्कन पूरा गर्न सकिएको निर्देशक कृष्ण चापागाईंले बताए ।
‘अन्य सबै पक्ष तयार रहेपछि लगानी गर्ने मान्छे नभए पनि चलचित्र रोकिँदैन भन्ने उदाहरण हो यो,’ उनले भने । चलचित्र विकास बोर्डमा चलचित्रको टाइटल र कथा निर्माताका नाममा दर्ता हुने भएपछि निर्माताले छाडेको खण्डमा उक्त चलचित्र पूरा गर्न प्रक्रियागत अप्ठ्यारो सिर्जना हुने गर्छ । तर, यो चलचित्रको कथादेखि टाइटल आफ्नै नाममा दर्ता हुने भएकाले निर्माता फेरेर छायाङ्कन सकिएको दाबी निर्देशक चापागाईंको छ ।
रामभक्तले हात झिकेपछि अहिले सो चलचित्रको निर्मातामा प्रोडक्सन कन्ट्रोलरको काम गर्दै आएका सूर्य बुढाथोकीको नाम छ । तर, उनको नाम मात्रै निर्मातामा रहेको र खास लगानी भने चलचित्रका नवनायक बुद्ध लामाले गरिदिएको सोही चलचित्रका एक प्राविधिकले बताए । उनका अनुसार लगानी गरेर हिरो भएको आरोप नलागोस् भनेर बुद्धले निर्मातामा नामचाहिँ सूर्यको राखिदिएको बुझिएको छ । निर्माता रामभक्तले यसअघि कालो बाज, द मोस्ट वान्टेड, जस्ट फर यू बनाएका थिए भने हालै किङ चलचित्र निर्माण गरेका छन् । छायाङ्कनसम्मको खर्च बेहोरिदिएका बुद्धले अब बाँकी खर्च भने गर्न नसक्ने जानकारी गराएको बताउँदै ती प्राविधिकले भने, ‘नायकको लगानीमा जसोतसो छायाङ्कन त पूरा भयो, अब थप कसले गरिदिने हो, फेरि चलचित्रमा नचलेका र नयाँ अनुहार मात्रै छन् । स्टुडियो पनि निर्देशकको आफ्नै थियो । अब बाँकी कामका लागि थप लगानी जुटेर चलचित्र पूरा होला भन्नेमा आशङ्का नै छ ।’
चलचित्रमा धिरेन शाक्य, रमित ढुुङ्गाना, उत्तम केसी, दिनेश शर्मा, रामचन्द्र अधिकारी, कमल मगर, रश्मि भट्ट, नवनायक–नायिका बुद्ध लामा र आभा भुसाल मुख्य कलाकार छन् । एसबिएन फिल्मस्को ब्यानरमा छायाङ्कन पूरा भएको सो चलचित्रमा नृत्य शङ्कर बिसी, द्वन्द्व हिमाल केसी र छायाङ्कन कृष्ण श्रेष्ठको छ । (सौस)

प्रतिक्रिया