साढे ६६ अर्ब शोधनान्तर बचत

काठमाडौं, ११ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको शोधनान्तर स्थिति ६६ अर्ब ७२ करोड रुपियाँले बचतमा रहेको छ । चालु आवको सुरुआतदेखि नै विप्रेषण आयमा भएको वृद्धि र सेवा खातामा आएको उल्लेख्य सुधारले शोधनान्तर स्थिति बचतमा रहेको हो । नेपाल राष्ट्र बंैकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा गत आर्थिक वर्षको अन्त्यसम्म नकारात्मक रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सुरुआतदेखि विस्तारै सकारात्मक देखिन थालेको हो ।
अमेरिकी डलर नेपाली रुपियाँको तुलनामा अधिमूल्यन भएका कारण चालु वर्षको ६ महिनामा ३७ दशमलव एक प्रतिशतले बढी रेमिट्यान्स भित्रिएको छ । डेढ महिनाअघि एक अमेरिकी डलर बराबर ८६ रुपियाँसम्म पुगेको थियो । चालु वर्षको पौष मसान्तसम्म मुलुकमा एक सय ६२ अर्ब ३२ करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । त्यसैगरी विगत धेरै वर्षदेखि सेवा खाता घाटामा रहेकोमा चालु वर्षको ६ महिनामा यो पनि सकारात्मक बनेपछि शोधनान्तर स्थिति सकारात्मक हुन सहयोग पुगेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
६ महिनामा देशको सेवा खाता नौ अर्ब ९३ करोड ३८ लाख रुपियाँले सकारात्मक रहेको छ । अघिल्लो वर्ष सेवा घाटा पाँच अर्ब २८ करोड १६ लाख रुपियाँले नकारात्मक रहेको थियो । पहिलो ६ महिनामा पर्यटन आयबाट मात्र एक अर्ब ७४ करोड ९१ लाख ३० हजार रुपियाँ मुलुकमा भित्रिएको छ । सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेर सम्भावित बजारमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भई पर्यटन आयमा समेत वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो पर्यटन आयबाट एक अर्ब ३५ करोड १० लाख ४० हजार रुपियाँ मुलुक भित्रिएको थियो ।
व्यापार घाटामा वृद्धि
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले वृद्धि भएर एक सय ८० अर्ब ७७ करोड रुपियाँ  पुगेको छ । पुस मसान्तसम्म मुलुकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव दुई प्रतिशतले वृद्धि गरी ३५ अर्ब ९२ करोड रुपियाँको सामान निर्यात गरेको थियो । तर, बढ्दो पेट्रोलियम पदार्थ एवम् अन्य विद्युतीय सामानको बढ्दो आयातका कारण मुलुकले दुई सय १६ अर्ब ६८ करोड रुपियाँको सामान आयात गरेका कारण व्यापार घाटामा वृद्धि भएको हो ।
बजेट बचतमा
चालु आवको ६ महिनामा राजस्व असुलीको तुलनामा खर्चमा वृद्धि गर्न नसक्दा बजेट बचतमा रहन सफल भएको छ । सरकारले पुस मसान्तसम्म एक सय १३ अर्ब २१ करोड रुपियाँ खर्च गरेको छ । त्यसमध्ये अधिकांश खर्च कर्मचारी तलबलगायत अन्य दैनिक प्रकृतिमा ८८ अर्ब ६१ करोड रुपियाँ खर्च गरेको छ भने विकास निर्माण प्रकृतिको पुँजीगत खर्च भने सात अर्ब ९३ करोड रुपियाँ मात्र भएको छ ।
यता सरकारले राजस्व भने २१ दशमलव ६ प्रतिशतले वृद्धि गरी एक सय ११ अर्ब तीन करोड रुपियाँ सङ्कलन गरेको छ । आयातमा भएको वृद्धि दर र भारतीय अन्तःशुल्क प्राप्तिमा भएको वृद्धिले राजस्व परिचालनमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले समीक्षा अवधिमा दुई अर्ब ५९ करोड रुपियाँ वैदेशिक ऋण सहयोग र २१ अर्ब २१ करोड रुपियाँ नगद अनुदान सहयोग प्राप्त गरेको छ ।
मूल्यवृद्धि घट्यो
६ महिने अवधिमा मूल्यवृद्धि ६ दशमलव आठ प्रतिशतमा झरेको छ ।  चालु आवको ६ महिनामा खाद्यपदार्थको मूल्यवृद्धि चार प्रतिशत र गैरखाद्यपदार्थको मूल्यवृद्धि ११ दशमलव तीन प्रतिशतले भएको छ । भारतमा खाद्यान्नको मूल्य घट्दै जानु र नेपालमा पनि मौसमी अनुकूलताका कारण कृषि उत्पादन राम्रो हुनुले खाद्य मूल्य घट्दै गएको छ ।
विगतमा कुल मूल्यवृद्धिमा खाद्यान्नको मूल्यवृद्धिको अंश अधिक रहने गरेकोमा चालु वर्षको पहिलो ६ महिनामा खाद्यान्नको मूल्यवृद्धि चार प्रतिशत मात्र रहेको छ । इन्धनको मूल्यमा गरिएको समायोजन, तलब तथा ब्याजदरमा भएको वृद्धि, कमजोर वितरण तथा अनुगमन प्रणालीका कारण गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिमा चाप परेको हो ।

प्रतिक्रिया