गुप्तालाई भेट्न जेलमा ओइरो

काठमाडौं, ११ फागुन । भ्रष्टाचार अभियोगमा थुनिएका पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता जेलभित्र पनि बेफुर्सदी छन् । आफ्नो जेल बसाइको तेस्रो दिन मात्र उनले कम्तीमा ५० जना आगन्तुकसित भेट गरी सहानुभूति बटुले ।
उनलाई भेट्न आउनेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार थिएन । गृहमन्त्री गच्छदारले गुप्तालाई गहिरो सहानुभूति व्यक्त गरेको स्रोतले बतायो । दुवैजना दह्रिलो हात मिलाएर कारागारबाट छुटेका थिए । गच्छदार आएको थाहा पाएपछि महानगरीय प्रहरी आयुक्त एआइजी कुबेरसिंह राना पनि कारागार पुगेका थिए ।
गच्छदारपछि भेट्ने पङ्क्तिमा थिए, सञ्चारसचिव अवनिन्द्रकुमार श्रेष्ठसहित चारजना । करिब १५ मिनेट कुराकानी गरेर उनीहरू बाहिरिएका थिए । गुप्तालाई भेट्न आउने कार्यकर्ताको भीड पनि बाक्लै थियो कारागारमा । बिहान साढे १० बजेबाटै लाइनमा उभिएकाहरूमध्ये केही गुप्ताका हितैषी थिए भने केही छिमेकी । उनीहरूसँग सामान्य हालचाल मात्र सोधियो ।
भेट्न आउने सबैले गुप्तालाई केही न केही उपहार ल्याएका थिए । उपहारमा सबैभन्दा धेरै पुस्तक थिए । करिब ६० वटा पुस्तक जम्मा पारिसकेका गुप्ताले केही सातापछि मात्रै अध्ययन थाल्ने योजना बनाएका छन् ।
गुप्तालाई भेट्न परिवारजन नपुग्ने त कुरै भएन । बिहान साढे १० बजे नै पुगेकी थिइन् गुप्ताकी श्रीमती सरस्वती पुरी । उनीसँगै गएका १० वर्षीय कान्छा छोराले सोधे, ‘फेसबुक र आइफोन कसरी चलाउनुहुन्छ, बुबा ?’ गुप्ताले जवाफ दिएनन् । पारिवारिक भेटमा वातावरण स्तब्ध बनेको थियो । मुस्किलले सम्हालिँदै गुप्ताले श्रीमतीसँग आमाबुबाको हालखबर सोधेका थिए ।
बिहीबार दिउँसो चार बजे गुप्ता जेलर ज्ञानराज कोइरालाको कोठामा मुस्कुराउँदै प्रवेश गरे । त्यहाँ प्रतीक्षारत केही पत्रकारलाई उनले सोधे, ‘सन्चै हुनुहुन्छ ? के छ बाहिरको खबर ?’ आन्तरिक भेटघाटका लागि कारागारले दिने कार्ड घाँटीमा झुन्ड्याएर पसेका गुप्ताको दाह्री लामो देखिएको थियो ।
आफ्नो जेलयात्रा यो १९औँ पटक भएको गुप्ताले बताए । जेलजीवनमा बानी परेका उनले आफ्नै खालको रुटिङ बनाइसकेका छन् । एक सातासम्म उनले अन्य कैदीबन्दीको अवस्था अध्ययन गर्नेछन् । ‘उनीहरू कसरी खुसीसाथ बाँचिरहेका छन् भनेर बुझ्नेछु अनि आफूलाई पनि त्यसनिम्ति तयार पार्नेछु,’ गुप्ताले भने ।
उनी बस्ने ब्लकमा पाँच सय ५० कैदीबन्दी बस्छन् । ट्वाइलेट सीमित भएकाले बिहान लामो लाइन बस्नुपर्ने हुन्छ । लाइनमा बस्न समस्या हुने भएकाले बिहीबार बिहान चार बजे नै उठेका थिए गुप्ता । नित्यकर्म सकेपछि आफ्नो ओछ्यानबाट झ्यालमा मुन्टो अड्याउँदै बाहिरी वातावरण नियाले । ६ बजेपछि कोठाबाट बाहिरिए र हल्का मार्निङवाक गरे । साढे सात बजेपछि कारागारको मूलढोका खुल्यो र पत्रपत्रिका आयो । सबै समाचार सरसर्ती अध्ययन गर्दा आठ बज्यो । कारागार प्रशासनले चिया दियो । चिया पिउँदै उनले फेरि पत्रिका पढे । दस बजे सबै कैदीबन्दीसँगै जेलकै खाना खाए । त्यसपछि सुरु भएको थियो, आगन्तुकहरू आएर भेट्ने क्रम ।

‘म खोरभित्रको च्याङ्ग्रा’

तपाईंको राजनीतिक जीवन त सकियो होइन ?
छैन । म त राजनीतिक मान्छे हुँ । मेलै सिकेकै राजनीति हो । जेलजीवन सकिएपछि म फेरि राजनीतिमै फर्किन्छु । म अझै पनि पार्टीको अध्यक्ष नै हुँ । कानुनले एकपटकका लागि मात्रै मलाई चुनाव लड्न बन्देज गरेको छ । पछि चुनाव लड्न सक्छु । फेरि यही कानुन पछिसम्म रहन्छ भन्ने पनि छैन ।
सर्वोच्चले यस्तो फैसला गर्ला भन्ने अनुमान लगाउनुभएको थियो ?
थिइनँ । किनकि विशेष अदालतले जुन आधारमा उभिएर मलाई सफाइ दियो, त्यही आधारमा सार्वजनिक पदमा रहेका अरूलाई पनि फैसला गरेको थियो । त्यसरी सफाइ पाएकाहरू अहिले पनि सार्वजनिक ओहदामा यथावत् छन् । सोचेको थिएँ, मेरो पनि त्यस्तै होला, तर भएन । पहिले नै सफाइ भइसकेको मेरो मुद्दा अख्तियारले पुनरावेदन गर्यो, जबकि मेरोजस्तै केसमा सफाइ पाएका अरूमाथि भएन । मेरो मुद्दा यसरी उल्टिन्छ भनेर रत्तिभर पनि सोचिनँ । न्यायाशीस सुशिला कार्कीको इजलासले डा. लक्ष्मीनारायण पाठकको मेरोजस्तै केसमा गरेको फैसला हेर्नुहोस् ।
न्यायाधीश कार्की तपार्इंप्रति पूर्वाग्रही भएको भन्न खोज्नुभएको हो ?
हो । किनकि उहाँ सर्वोच्चको न्यायाधीश हुनुभन्दा अघि राजनीतिक पृष्ठभूमिमा हुनुहुन्थ्यो । राजनीतिक भागबन्डाकै आधारमा उहाँ न्यायाधीश हुनुभएको हो । मुद्दा चल्दा उहाँमाथि विश्वास छैन पनि भन्न पाउँथँे । त्यो अधिकार ममा थियो । तर, मैले उहाँलाई राजनीतिक पृष्ठभूमिका आधारमा भन्दा पनि न्यायाधीशका रूपमा हेरेँ । त्यसैले म भन्छु, राजनीतिक पृष्ठभूमिका मानिस न्यायाधीश बन्यो भने कस्तो परिणाम निम्तिन सक्छ । यो नेपालको न्याय प्रणालीमा एउटा परीक्षण पनि हो ।
फैसलालाई त सबैले प्रशंसा गरेका छन् नि ?
मेरो अहिलेको अवस्था भनेको खोरमा राखिएको च्याङ्ग्राजस्तै हो । म थुनामा छु, त्यसैले प्रतिवाद गर्ने अवस्थामा छैन । तर, मेरो चुनौती छ । सार्वजनिक पदमा रहेका अन्य व्यक्तिका सम्पत्तिको पनि स्रोत देखाइयोस् ।
जेल बस्दा तपार्इंको प्रारम्भिक अनुभव ?
म यसभन्दा अघि पनि १८ पटकसम्म जेल परिसकेको मान्छे हुँ । त्यसैले मेरा लागि यो अनौठो होइन । तर, पहिलेको जेलजीवन र अहिलेकोमा फरक छ । म पनि अरू जस्तै साधारण मानिस हुँ । सुपरम्यान होइन । परिवारसँगै बस्न नपाउँदा दुःख लाग्छ । विशेष गरी मैले मेरो बूढो बुबालाई औषधि ख्वाउनुपर्ने दायत्व थियो । करिब एक वर्ष त्यसो गर्न नसक्ने भएँ ।

प्रतिक्रिया