पुल प्रयोग नगर्ने यात्रु धमाधम कारबाहीमा

काठमाडौं, ११ फागुन । राजधानीको ट्राफिक व्यवस्था सुदृढ बनाउने अभियानमा लागेको महानगरीय ट्राफिक प्रहरीले बाटो काट्न बनाईएका आकाशे पुल प्रयोग नगर्ने पैदल यात्रुलाई आजदेखि धामधम कारबाही सुरु गरेको छ ।
बिहान दस बजे सम्म काठमाडौंको भोटाहिटी, सुन्धारा र जमलमा रहेका आकाशे पुल प्रयोग नगर्ने १ सय ४५ पैदल यात्रुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आकाशे पुल प्रयोग गर्ने पैदल यात्रुसँग ट्राफिकले जरिवाना स्वरुप ५० रुपीयाँ लिएको छ ।
भोटाहिटी, सुन्धारा, जमललगायतका स्थानमा रहेका आकाशे पुल प्रयोग गरेर बाटो काट्नुको साटो पैदल यात्रुले जोखिम मोलेरै बाटो पार गर्न थालेपछि ट्राफिक प्रहरीलाई समस्या भएको थियो । बिहानैदेखि खट्टिएका ट्राफिक प्रहरीले यात्रुलाई सम्झाएर पठाउने गरेको समेत महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
जरिवाना तिर्न नसक्ने पैदल यात्रुलाई भने महानगरीय ट्राफिक प्रहरीले दुई घण्टा नियन्त्रणमा राखेर ट्राफिक नियम सम्बन्धी जानकारी दिएर पठाउने जनाएको छ । राजधानीका सडकमा पैदल यात्रुले जथाभावी बाटो काट्दा दुर्घटना बढ्ने र सडक जाम हुने क्रममा बृद्धि भएपछि ट्राफिक प्रहरीले जनचेतनाका लागि यो अभियोन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया