‘मन्त्रीज्यू भित्र, सभासद्ज्यू बाहिर’

टेकराज थामी, काठमाडौं, १० फागुन । सूचना तथा सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह र कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव बुधबार दिउँसो २.३० बजे झन्डावाल गाडीमा सदरखोर डिल्लीबजार पुगे । अघिल्लो दिन भ्रष्टाचार मुद्दामा थुनिएका सञ्चारमन्त्री तथा गणतान्त्रिक फोरमका अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई भेट्न उनीहरू कारागार पुग्दा सभासद् तथा कार्यकर्ताको ठूलो हुल त्यहीँ थियो ।

गणतान्त्रिक फोरमका केन्द्रीय सदस्य बिपी यादव, सीताराम अग्रवाल तथा सभासद्हरू शर्मा मिकरानी, अकबाल अली साह र उमेशलाल दाससहित ४० भन्दा बढी कार्यकर्ता कारागारमा गुप्तालाई भेट्ने पर्खाइमा थिए । तर, सार्वजनिक बिदा भएकाले प्रशासन बन्द थियो ।

गुप्तालाई भेट्न दिन आग्रह गर्दै मन्त्रीसहित सबैजना प्रहरीसमक्ष पुगे । तर, प्रहरीले सिधै इन्कार गर्यो । केहीबेरको विवादपछि कारागारका प्रहरी निरीक्षक रविराज थपलियाले दुवै राज्यमन्त्रीलाई इङ्गित गर्दै भने, ‘मन्त्रीजीहरू भित्र जानुहोस्, सभासद्जीहरू बाहिरै बस्नुहोस् ।’ गुप्तालाई भेट्न नपाएपछि सभासद्हरू आक्रोशित बने । उनीहरूले गेटमा बसेका प्रहरीलाई भने, ‘देखाइदिन्छौँ, तिमीहरूलाई हाम्रो पावर ।’ दश मिनेटसम्म प्रहरी र सभासद्हरूबीच विवाद चल्यो ।

यसैबीच, इन्स्पेक्टर थपलियाको मोबाइलको घन्टी बज्यो । फोन गरेका थिए, एआइजी भीष्म प्रसाईंले । दबाब पर्ने शंका लागेपछि इन्स्पेक्टर थपलियाले सईलाई फोन दिँदै भने, ‘म छैन भन्दिनू ।’ सईले त्यसै भने । फोन फेरि निरन्तर बजिरह्यो । तर, उठाइएन । गुप्तालाई भेट्न नपाएपछि बाहिर सभासद् तथा फोरम गणतान्त्रिकका कार्यकर्ता मुर्मुरिँदै थिए । प्रहरी निरीक्षक थपलिया निर्धक्कसित भन्दै थिए, ‘यिनीहरूले अरू के नै गर्लान् र ? बढी गरे सरुवा न हो ।’ गुप्तासित करिब आधा घन्टा भेट गरेर दुवै राज्यमन्त्री झन्डा फहराउँदै गाडीमा बाहिरिए, सँगै सभासद् तथा कार्यकर्ता पनि फर्किए ।
कारागार ऐन २०१९ र नियमावली २०२० अनुसार सार्वजनिक बिदामा कारागारभित्र रहेका कोही पनि कैदीबन्दीलाई भेट्न पाइँदैन । अरू दिनमा कैदीबन्दीले चाहेको खण्डमा साताको दुईपटक सीमित व्यक्तिले भेट्न सक्छन् । इन्स्पेक्टर थपलियाले सौर्यसँग भने, ‘कानुनले दोषी ठह¥याएका गुप्ता हाम्रा लागि अन्य कैदीभन्दा फरक छैनन्, उनलाई भेट्न हुलै बाँधेर आउनाको कुनै औचित्य छैन । जे गरियो, कानुनमुताविक गरियो ।’ मन्त्रीलाई भेट गर्न दिने निर्णयलाई भने उनले प्रतिरक्षा गरे । ‘मन्त्रीहरू राज्यकै प्रतिनिधि भएकाले रोक्ने कुरा भएन,’ उनले भने ।
राज्यमन्त्री र गुप्ताबीचको भेटमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने या नलिने विषयमा छलफल भएको स्रोतले बताएको छ । राज्यमन्त्रीले पार्टीमा नेतृत्व कसले लिने भन्ने विषयमा विवाद निस्किसकेको गुप्तालाई जानकारी गराएका थिए । यस विषयमा गुप्ताले कुनै प्रतिक्रिया जनाएनन् । केन्द्रीय सदस्य बिपी यादवले गुप्तालाई भेट्न नदिएकामा आपत्ति जनाए । उनले मधेसीविरुद्ध प्रशासन लागेकाले भेट्न नदिएको आरोपसमेत लगाए ।

 


प्रतिक्रिया