स्वास्थ्यमन्त्रीकै छोराको अस्पताल मापदण्डविपरीत

प्रवीण ढकाल, काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले पदको दुरुपयोग गरी आफ्नो छोराको अस्पताललाई आवश्यक पूर्वाधारविनै सञ्चालन अनुमति दिलाएका छन् । महतोका छोरा राघवेन्द्रका नाममा खोलिएको शिवज्योति अस्पताल तथा रिसर्च सेन्टर तोकिएको मापदण्ड पूरा नगरी गत कात्तिकदेखि सञ्चालनमा छ ।
बल्खुमा रहेको सो अस्पतालले ‘निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१’ मा उल्लेख भएअनुसार मापदण्ड पूरा नगरेको हो । ५० शैया क्षमताको अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागले पहिल्यै अनुगमन गरी अनुमति दिनुपर्ने हुन्छ । तर, सो अस्पतालको भवन अनुपयुक्त हुँदाहुँदै मन्त्रीको ठाडो आदेशमा अनुगमनविनै सञ्चालन अनुमति दिइएको थियो ।
निर्देशिकामा अस्पतालको भवनले चर्चेको जग्गाको एकतिहाइ भाग खाली हुनुपर्ने, भवनमा अनिवार्य रूपमा प्रवेशमार्ग र निकासमार्ग हुनुपर्ने, कोठामा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्ने उल्लेख छ । तर, शिवज्योति अस्पतालले चर्चेको जग्गामा कुनै पनि भाग खाली छैन । भवनमा एउटा मात्र बाटो छ भने अस्पतालका कुनै पनि कोठामा घाम छिर्दैन ।

.    मन्त्रीको ठाडो आदेशमा विनाअनुगमन दिइएको थियो अनुमति
.    पूर्णकालीन विशेषज्ञ डाक्टर छैनन्, अध्यारो कोठामा हुन्छ उपचार
.    नियमानुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन पनि गरिएन  
.    सबै सुविधा छ भन्दै बिरामी भर्ना गर्ने र बिरामीको पैसा सकिएपछि सरकारी अस्पतालमा रिफर गर्ने चलन छ
.    स्वास्थ्यमन्त्री महतो भन्छन्, मधेसीको अस्पताल भएकाले विरोध भएको हो

मन्त्रालय स्रोतले सौर्य दैनिकसँग भन्यो, ‘मन्त्रीकै छोराको अस्पतालले मापदण्ड पूरा गरेको छैन भने अरू अस्पतालले के गर्लान् ?’ विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका एक कर्मचारीका अनुसार, नियमले ५० शैया क्षमताको अस्पताल सञ्चालनका लागि भूकम्प प्रतिरोधात्मक भवन हुनुपर्ने हो, तर अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक हो वा होइन भन्ने पनि जानकारी गराइएको छैन । मन्त्रीको आदेशमा अस्पताललाई भूकम्प प्रतिरोधात्मक प्रमाणपत्र पछि लिने सर्तमा सञ्चालन गर्न दिइएको ती कर्मचारीले बताए ।
अस्पतालले निर्देशिकाविपरीत अँध्यारो कोठामा बिरामीको उपचार गराइरहेको छ । निर्देशिकाले अस्पतालको भवनछेउमा बगैचाको व्यवस्था हुनुपर्ने पनि भनेको छ । तर, अस्पतालमा त्यस्तो केही छैन । खाली जग्गाको नाममा छेवैमा रहेको सार्वजनिक सडक मात्र रहेको व्यवस्थापन महाशाखाका कर्मचारीले बताए ।
पूर्वाधार निर्माण क्रमसँगै वातावरण संरक्षण ऐन २०५३ तथा नियमावली २०५४ बमोजिमको प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने प्रावधानलाई अस्पतालले पूर्णरूपमा बेवास्ता गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार अस्पतालले नियमानुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआइई)  गरेको छैन । अस्पतालले सङ्क्रमणजन्य फोहोर व्यवस्थापनसमेत नियमविपरीत गरिरहेको छ । एक कर्मचारीका अनुसार छेवैमा खोला भएकाले अस्पतालले केही फोहोर खोलामा फाल्ने र केही महानगरपालिकालाई दिने गरेको छ ।
‘हाम्रोमा फोहोर फाल्न सजिलो छ,’ ती कर्मचारीले भने, ‘छेवैमा खोला भएकाले केही फोहोर खोलामा फालिन्छ र केही महानगरपालिकाले लैजान्छ ।’ नियमानुसार अस्पतालजन्य सबै फोहोर सार्वजनिक स्थलमा वा महानगरपालिकामा दिन मिल्दैन । अस्पतालले फोहोरलाई सङ्क्रमणजन्य रहेको वा नरहेको छुट्ट्याएर मात्र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्नुपर्छ । त्यसका लागि नियममा व्यवस्था भएअनुसारको ‘इन्सिनेटर’ अस्पतालमा छैन ।
पाँच शैयाबराबर एउटा शौचालय हुनुपर्ने नियम पनि अस्पतालले पूरा गरेको छैन । अस्पतालका प्रत्येक तलामा पुरुष र महिलाका एक, एकवटा शौचालय मात्र छन् । बिरामी कुरुवा बस्ने ठाउँ पनि अस्पतालमा छैन ।
शिवशक्ति अस्पतालमा जनशक्ति आवश्यक मात्रामा नरहेको पाइएको छ । अस्पतालमा पूर्णकालीन विशेषज्ञ चिकित्सक नभएको स्वयं अस्पतालका कर्मचारीले स्वीकार गरेका छन् ।
‘अस्पतालले विशेषज्ञ सेवा दिएको छ, तर विशेषज्ञ सेवा लिन बिहानको सात बजेदेखि ११ बजेसम्म र बेलुका चार बजेपछि सात बजेसम्म मात्र जानुपर्छ,’ अस्पतालकै एक कर्मचारीले भने ।  जबकि अस्पतालमा चौबीसै घन्टा पूर्णकालीन चिकित्सकको व्यवस्था हुनुपर्ने नियम छ ।
स्रोतका अनुसार अस्पतालमा मानिसलाई पोलेको वा जलेको अवस्थामा उपचार गर्ने चिकित्सक नै छैनन्, तर अस्पतालले त्यस्ता बिरामीलाई भर्ना गरिरहेको छ । ‘धेरैजसो रोगको उपचारका लागि अस्पतालमा विशेषज्ञ छैनन्,’ स्रोतले भन्यो, ‘तर अस्पतालले सबै सुविधा छ भन्दै बिरामी भर्ना गर्ने र बिरामीको पैसा सकिएपछि सरकारी अस्पतालमा रिफर गर्ने गरेको छ ।’
यसका साथै अस्पतालले मापदण्डअनुसार स्वास्थ्य सेवा लिएबापत लाग्ने शुल्कको विवरण, सेवा दिने चिकित्सकको नाम, उपलब्ध सेवा खुल्नेगरी चार्टबोर्ड व्यवस्था गरेको छैन । भवनमा आगो निभाउने संयन्त्र छैन भने ओपिडी क्षेत्रमा बिरामी तथा सहयोगीका लागि आवश्यक प्रतीक्षालयको व्यवस्था छैन ।

मधेसीको भनेर विरोध भएको होः महतो

स्वासथ्य मन्त्री राजेन्द्र महतोले भने मधेसीले खोलेको भनेर मात्र शिवज्योति अस्पतालको विरोध भएको प्रतिक्रिया दिए । अस्पतालले आफ्नो  भवन भूकम्प प्रतिरोधक भएको प्रमाणपत्र नबुझाएको उनले स्विकारे ।


‘भूकम्पको प्रमाणपत्र पछि लिने सर्तमा सञ्चालनका लागि स्वीकृति दिइएको हो,’ उनले सौर्यसँग भने । ५० बेड क्षमताको अस्पताल सञ्चालनका लागि स्वीकृति दिने काम स्वास्थ्य सेवा विभागको भएकाले आफ्नो कुनै हात नरहेको उनको जिकिर छ । मन्त्री महतोले भने, ‘मधेसीले खोलेको भन्दैमा विरोध गर्नु आवश्यक छैन, अस्पताल सबैका लागि हो ।’

प्रतिक्रिया