आर्थिक पारदर्शिताको माग गर्दै चक्का जाम

दीपक ओली
कैलाली, १० फगुन ।    छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकले प्रतियोगिताको तयारी, भौतिक संरचना निर्माणको आर्थिक विवरण नदिएको भन्दै बिभिन्न राजनीतिक दलका भातृ संगठनहरुले कैलालीमा दुईघण्टा चक्काजाम गरेका छन् ।
दुई घण्टा भएको चक्का जामका कारण सर्वसाधारणले केही समय सास्ती बेहोर्नु परेको थियो । उनीहरुले छैटौं आयोजक राष्ट्रिय खेलकुद परिषद्ले अपारदर्शी र मनोगत ढंगले प्रतियोगिता आयोजनाको तयारी र भौतिक पूर्वाधार निर्माण गरिरहेको आरोप लगाएका छन् ।
चक्का जाम सत्तारुढ एकीकृत माओवादी बाहेकका सबै दलका भातृ संगठनले गरेका थिए । उनीहरुले भोलिसम्म सूचना नदिएमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल तरुण दलका कैलाली जिल्ला अध्यक्ष प्रेमराज ओझाले भोलिसम्म राखेपले भौतिक निर्माणको आर्थिक विवरण, तयारीको बजेट खर्चलगायतका सूचनाहरु सार्वजनिक गर्न अल्टिमेटम दिएका छन् ।
चक्काजामका कारण जिल्लामा कुनैपनि यातायातका साधन चल्न पाएका थिएनन् । बन्द आह्वान गर्नेमा तरुण दल, युवा संघ, नेविसंघ, अनेरास्ववियु, अखिल छैठौं, राप्रपा युवा संघ, तमलोपा युवा फ्रन्ट, अखिल एकीकृत रहेका छन् ।

प्रतिक्रिया