ट्रली प्रयोगमा शुल्क लाग्ने

लक्ष्मीप्रसाद खतिवडा, काठमाडौँ, ९ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क प्रयोगका लागि उपलब्ध गराइएका ट्रलीमा व्यवस्थापनले शुल्क लगाउने तयारी गरेको छ । ट्रली सेवामा यात्रुले सास्ती पाएको गुनासो गर्न थालेपछि सहज व्यवस्थापनका लागि शुल्क लगाउने तयारी भएको हो ।
आधुनिक प्रणालीको प्रयोग गरी सस्तो शुल्कमा सेवा दिने दाबी व्यवस्थापनको छ । यसका लागि क्वाइन सिस्टम लागू हुनेछ र निश्चित शुल्क तिरेपछि मात्र ट्रली निस्किन्छ । ट्रली प्रयोगका लागि २० रुपियाँ शुल्क लिने योजना व्यवस्थापनले बनाएको छ । यसबाट उठेको रकम ट्रली व्यवस्थापनकै लागि खर्च गरिनेछ । व्यवस्थापनले ट्रली प्रयोगमा शुल्क लगाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) सँग छलफल गरिसकेको छ । विमानस्थलका ट्रलीमध्ये अधिकांश एनआरएनले सहयोगस्वरूप प्रदान गरेको हो । केही ट्रली भने विमानस्थल आफै र विभिन्न सङ्घ संस्थाबाट प्राप्त भएका हुन् ।
विमानस्थल प्रशासन र विमानस्थल सुरक्षाको जिम्मेवारी पाएको प्रहरी युनिटले ध्यान नदिँदा यात्रुले ट्रली सेवा सहजै पाउन सकिरहेका छैनन् । विमानस्थल क्षेत्रमा सक्रिय गिरोहले ट्रली प्रयोगका लागि ‘अवैध’ शुल्कसमेत लिने गरेका छन् । खासगरी आन्तरिक विमानस्थलमा सञ्चालित ट्रली धेरैका लागि ‘ठगी खाने भाँडो’ बनेको व्यवस्थापनको भनाइ छ । विमानस्थल परिसरबाहिर सेवा दिने उद्देश्यले सञ्चालित निःशुल्क ट्रली सेवा सहज बनाउन विगतदेखि प्रयास गरेको भए पनि असफल भएको स्वयं विमानस्थल अधिकारीहरू स्विकार्छन् । प्रहरी गुहार्दा पनि ट्रली गुन्डागर्दी रोक्न नसकिएको व्यवस्थापनको गुनासो छ ।
राजनीतिक पार्टीको संरक्षणमा विमानस्थलमा क्रियाशील मजदुरहरूले नै ट्रली दलालीमार्फत रकम उठाउँदै आएका छन् । विमानस्थल परिसरबाहिर ट्रली कब्जामा लिई सामान इच्छाविपरीत टर्मिनल भवनभित्र पु¥याउने र टर्मिनल भवनबाट ट्याक्सीसम्म सामान ओसारेर पैसा असुल्ने गरेको यात्रुहरूको गुनासो छ । ट्रलीबाट शुल्क उठाउन त्रिभुवन अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलबाहिर करिब ३० जनाको गिरोह सक्रिय रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । प्रहरीले बारम्बार त्यस्ता व्यक्तिलाई पक्राउ गरी गौशाला प्रहरी वृत्तलाई बुझाए पनि समस्या सुल्झिन सकेको छैन । विमानस्थल प्रशासनले आन्तरिक रूपमा ट्रली कलेक्टरको रूपमा ज्यालादारी मजदुरसमेत राखेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमा गरी करिब सय जना ट्रली कलेक्टर परिचालित छन् । तर, यात्रुले भने ट्रली सहजै नपाउने र पाए पनि अनावश्यक शुल्क तिर्नुपर्ने बाध्यता छ । विमानस्थलमा करिब चार सय ट्रली रहे पनि खोजेको समयमा पाउन नसकिने गुनासो यात्रुको छ । कतिपय यात्रुले ट्रली प्रयोग गरेबापत टिप्सका रूपमा रकम दिने गरे पनि जबरजस्ती बढी रकम असुल्ने गरिएको छ ।
विदेशी पर्यटक यसबाट बढी हैरान हुने गरेका छन् । पर्यटकबाट २० डलरसम्म असुलिने गरेको ट्राभल एजेन्सी सञ्चालकहरूको गुनासो छ । विमानस्थलमा ट्वाइलेट, टेलिफोन, ट्याक्सी र ट्रली गरी चारवटा ‘टी’ समस्याको रूपमा रहँदै आएका छन् । ट्रली सेवालाई सशुल्क गरी समस्या समाधान गर्ने प्रशासनको योजना छ । ट्वाइलेट र टेलिफोनको समस्या समाधान भइसकेको र आगामी वैशाखसम्ममा सबै पुराना ट्याक्सीलाई नयाँले विस्थापन गर्ने प्रशासनको दाबी छ ।

प्रतिक्रिया