बिवादित बिषय मिलाउने जिम्मेवारी शीर्ष नेतृत्वलाई


काठमाडौं, ९ फागुन । संविधानसभा अन्तर्गतको संवैधानिक समितिले संविधान निर्माणका क्रममादेखिएका बिवादित बिषयमा सहमति खोज्न पुनः प्रमुख तीन दललाई जिम्मेवारी दिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई नयाँ संविधानका बिवादित बिषय शासकीय स्वरुप, न्यायप्रणाली, राज्य पुनर्संरचनालगायतमा सहमति बनाउन जिम्मेवारी दिने निर्णय गरेको होे । सहमतिका लागि तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
बिवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालले उपसमितिका तीन वटा बैठकका छलफल र बिवादित बिषयमा प्रगति हुन नसकेका बिषयमा जानकारी गराएका थिए । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले वरिष्ठ नेता तथा समिति सदस्य माधवकुमार नेपालले नयाँ संविधानका बिवादित बिषयमा शीर्ष नेतृत्वबाट सहमति खोजिने जनाएका छन् । उनले सहमतिका लागि तीन दलको बैठक शुक्राबार आह्वान गरिएको उल्लेख गरेका छन् ।
शासकीय स्वरुप लगायतका बिषयमा प्रमुख दलहरुका बीच सहमति हुन नसकेपछि हिजो मात्रै बिवाद समाधान उपसमितिको बैठक अनिस्चितकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया