हातखुट्टा नभएकाले मनाए हनिमुन

एजेन्सी
क्यालिफोर्निया, ७ फागुन । हातखुट्टाविनाको जीवन तपार्इं–हामी कल्पना पनि गर्न सक्दैनौं । तर, एकजना अस्ट्रेलियाली नागरिक हातखुट्टाविनै खुसीपूर्वक जीवन बाँचिरहेका मात्र छैनन्, कैयौँलाई जीवनमा कसरी खुसी हुने भन्ने सन्देश पनि दिइरहेका छन् ।
साइबेरियाली मूलका निक भुजिसिक नामक ती व्यक्तिका जन्मँदै हातपाउ थिएनन् । तर, आफ्ना लेख, रचना र भाषणद्वारा उनले असङ्ख्य मानिसको जीवन अर्थपूर्ण बनाउने प्रयास गर्दै आएका छन् । पछिल्लोपटक नवविवाहिता दुलहीसँग अमेरिकी राज्य हवाईको समुद्री किनारमा हर्षोल्लासका साथ हनिमुन मनाएर उनी विश्वका कैयौँ मानिसको प्रेरणाको पात्र बनेका छन् ।
हनिमुनका क्रममा उनले समुद्रमा पौडी खेल्ने, डुङ्गा खियाउने, प्रेमिकाको फोटो खिच्नेजस्ता काम गरेका थिए । हनिमुनमा उनले रमाइलो गरेको क्षणका तस्बिर देख्दा उनी आम मानिसभन्दा भिन्न हुन् जस्तो पटक्कै लाग्दैन ।
यस वर्षको ‘भ्यालेन्टाइन्स डे’ भन्दा चार दिनअघि उनले क्यालिफोर्नियामा काना मियाहारा नाम गरेकी तरुनीसँग लगनगाँठो कसेका थिए । त्यसलगत्तै उनी श्रीमतीका साथ हनिमुन मनाउन हवाईको समुद्री किनार पुगेका थिए ।
‘लाइफ विदाउट लिम्बस’ जस्तो बहुचर्चित किताबका लेखक निकले जीवनलाई सकारात्मक रूपमा कसरी लिने भन्ने विषयमा थुप्रै लेखरचना प्रकाशित गराएका छन् । ‘लाइफ विदाउट लिम्बस’ कुनै समय सबैभन्दा बढी बिक्री भएको किताब हो । जीवनबारे उनले विश्वका २५ वटा देशमा पुगेर ३० लाखभन्दा बढी मानिसलाई प्रवचन सुनाइसकेका छन् ।
अस्ट्रेलियाली सहर मेलबर्नमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका निक सानो छँदा शारीरिक अशक्तताका कारण निराश थिए । तर, शारीरिक रूपमा अशक्त भएर पनि उनले आफूलाई सम्हाले र उत्साहपूर्वक दिन बिताउन थाले । अहिले उनी लेख्ने, टाइप गर्ने, ड्रम बजाउने, दाँत माझ्ने, फोटो खिच्नेजस्ता काम आफँै गर्न सक्छन् ।
१७ वर्षको उमेरमा चर्चमा प्रवचन दिन सुरु गरेका निकले टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । ‘लाइफ्स ग्रेटर पर्पोज’, ‘नो आम्र्स, नो लेग, नो ओरिज  युथ भिजन’, ‘अ बटरफ्लाई सर्कस’लगायत छोटा डकुमेन्ट्री बनाएका निकले ‘समथिङ मोर’ नामक म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् ।
(डेलिमेल फिचरको सहयोगमा)

प्रतिक्रिया