सेना समायोजन गर्न चाहदैननः अर्थमन्त्री पुन

काठमाडौ, ८ फागुना । अर्थमन्त्री वर्षामान पुनले कांग्रेस र एमालेले विवाद सुरु गरेर सेना समायोजन नचाहेको आरोप लगाका छन् ।
उनले बिशेष समितिमा भएको सहमतिकै आधारमा नेपाली सेनाले समायोजनको कार्ययोजना ल्याएको दाबी गरे । रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा पुनले नेपाली सेनाले सात बुँदे सहमति अनुसार समायोजनको कार्ययोजना बनाएको बताए ।
उनले सेनाको कार्ययोजनको विरोध गरेर कांग्रेस र एमाले सात बुँदे सहमतिबाट भागेर सेनालाई विवादमा ल्याउन नहुने बताए । उनले भने, ‘सेनामा विवाद ल्याएर आफैलाई अप्ठ्यारो पर्छ भन्ने कुरा माओवादीलाई राम्ररी थाहा छ ।’
कांग्रेस नेता रामशरण महतले विशेष समितिमा छलफल नै नगरी सेना समायोजन सम्बन्धी कार्ययोजना सार्वजनिक गरेर माओवादीले नेपाली सेनालाई विभाजित र कमजोर बनाउने षडयन्त्र गरेको आरोप लगाए । उनले प्रस्ताव छलफल नै नभई सार्वजनिक गर्नु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।
एमाले नेता भीम रावलले सेनाको प्रस्ताव विशेष समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले नै प्रस्ताव बाहिर सार्वजनिक गरेको दावी गरेका छन् । उनले दलहरुवीच सहमति नै नगरी, विना गृह कार्य ल्याएको सेनाको कार्ययोजना आफूहरुलाई मान्य नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया