६० वर्षपछि तोडियो परम्परा

गिरिजा अधिकारी

काठमाडां, ७ फागुन । साठी वर्षपछि पहिलोपटक ७ फागुनका दिन सैनिक मञ्च टुँडिखेल सुनसान देखियो । हरेक वर्ष प्रजातन्त्र दिवसका दिन नेपाली सेनाले विशेष प्रदर्शन गर्ने २००८ सालदेखिको परम्परा यसपटक तोडिएको छ ।
७ फागुनलाई प्रजातन्त्र दिवस मानेर आइतबार सार्वजनिक बिदा दिइए पनि सरकारी तवरबाट कुनै कार्यक्रम गरिएन । स्रोतका अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै निर्देशनमा यस वर्ष प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा कार्यक्रम नराखिएको हो । प्रधानमन्त्रीले प्रजातन्त्र दिवसका अवसरमा देशवासीको नाममा शुभकामना मन्तव्य दिन पनि आवश्यक ठानेनन् ।
प्रधानमन्त्री र उनको पार्टी माओवादीले ०७ सालमा आएको प्रजातन्त्रलाई अधुरो मान्ने गरेकाले दिवस नमनाइएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले फागुन ७ वास्तविक प्रजातन्त्र दिवस नभएको बताए । ‘०७ सालको परिवर्तनलाई कांग्रेसले क्रान्ति ठान्छ, तर हामी आंशिक परिवर्तन ठान्छाँै । त्यसैले मनाउन आवश्यक ठानेनौँ,’ पौडेलले भने ।
गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, यसपटक टँुडिखेलमा कार्यक्रम नगर्ने पहिले नै तय भइसकेको थियो । त्यसैले प्रजातन्त्र दिवस मूल समारोह समिति बनाइएको थिएन । यसअघि  प्रधानमन्त्रीको संयोजकत्वमा समिति बनाउने र समितिको सदस्य–सचिवमा गृहसचिव रहने परम्परा थियो । गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोइरालाले सरकारले औपचारिक निर्णय नगरेकाले टुँडिखेलमा कार्यक्रम नभएको सौर्यलाई बताए । ‘सरकारले निर्णय नै नगरेपछि कार्यक्रम कसरी हुन्छ ?’ कोइरालाले भने । मन्त्रालयले कार्यक्रमका लागि कुनै तयारी नै नगरेको उनको भनाइ छ ।
नेपाली सेनाले पनि गृहको कुनै जानकारी नआएकाले त्यसबारे तयारी नभएको जनाएको छ । सैनिक स्रोतले भन्यो, ‘यस वर्ष प्रजातन्त्र दिवस मनाउनेबारे सम्बन्धित निकायबाट कुनै निर्देशन आएन, त्यसैले तयारी पनि भएन ।’ सेनाको प्रदर्शनी हेर्न राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत विशिष्ट अतिथि उपस्थित हुने परम्परा थियो ।
कांग्रेसको कडा आपत्ति
नेपाली कांग्रेसले प्रजातन्त्र दिवस नमनाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ । वर्तमान सरकार प्रजातन्त्रप्रति इमानदार नरहेको आरोप लगाउँदै कांग्रेसले मुलुकका ऐतिहासिक दिवसलाई समाप्त गर्ने दुष्साहस नगर्न चेतावनीसमेत दिएको छ ।
कांग्रेसका मुख्यसचिव वसन्तकुमार गौतमले आइतबार विज्ञप्ति जारी गर्दै ऐतिहासिक प्रजातन्त्र दिवस नमनाउने सरकारी निर्णयले वर्तमान सरकार निरङ्कुशतातर्फ उन्मुख भएको पुष्टि हुने दाबी गरेका छन् । ‘वर्तमान सरकार प्रजातन्त्रप्रति इमानदार नरहेको, प्रजातन्त्रविरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस भविष्यमा यस किसिमका ऐतिहासिक दिवसलाई समाप्त गर्ने दुष्साहस नगर्न सरकारलाई सचेत गर्दछ ।’
प्रजातन्त्र स्थापनासँगै नेपालमा सामाजिक सुधारका साथै आर्थिक विकासको प्रारम्भ भएको उल्लेख गर्दै कांग्रेसले ऐतिहासिक दिन फागुन ७ गते सम्पूर्ण प्रजातन्त्रवादीका लागि हौ र गौरवको दिन भएको जनाएको छ । ‘कैयन् वीर सपुतले आफ्नो प्राणको आहुति दिई मुलुकबाट शताब्दी लामो एकतन्त्रीय निरङ्कुश शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरिएको दिन नयाँ युगमा प्रवेश गरेको ऐतिहासिक दिन हो,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस सभापति सुशील कोइरालाले प्रजातन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै समयमै संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सके मात्र मुलुकमा विद्यमान सबै समस्याको समाधान गर्न सकिने जनाएका छन् । २००७ सालको राजनीतिक परिवर्तनले मुलुकमा आमूल परिवर्तन ल्याएको उल्लेख गर्दै कोइरालाले यसबाट नेपालको राष्ट्रियताको आधार पनि निर्माण भएको बताएका छन् ।

प्रतिक्रिया