सामाजिक सञ्जालमा सरकारी चासो

लक्ष्मीप्रसाद खतिवडा
काठमाडौँ, ७ फागुन । सरकारले सामाजिक सञ्जाल व्यवस्थित गर्न ‘गाइडलाइन’ बनाउने प्रक्रिया सुरु गरेको छ । फेसबुक, ट्विटर, गुगल प्लस जस्ता बेवसाइटको दुरुपयोग रोक्न गाइडलाइन बनाउन लागिएको हो ।
सामाजिक सञ्जालमा समस्या देखिएको र सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखेपछि सम्बद्ध अधिकारीहरू गाइडलाइनको तयारीमा जुटेका हुन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले गाइडलाइन बनाउन सम्बद्ध निकायसँग छलफल थालेको छ । ‘प्रधानमन्त्री आपैmँले चासो व्यक्त गरेकाले गाइडलाइन बनाउन लागिपरेका छौँ ।’ कार्यालयका प्रमुख प्रमाणीकरण नियन्त्रक राजनराज पन्तले भने । गत महिना प्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खल्बलिने गरेको भन्दै यसलाई व्यवस्थित बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
विज्ञान मन्त्रालयले मातहतको कार्यालयलाई सामाजिक सञ्जाल प्रयोगको गाइडलाइन बनाउन निर्देशन दिइसकेको छ । गाइडलाइनले विद्युतीय कारोबार ऐन २०६३ अनुसार इन्टरनेटबाट प्रसारण हुने सामग्रीलाई पनि समेट्नेछ । कार्यालयले नेपालमा सबैभन्दा बढी हेरिने साइट फेसबुक मुख्यालयलाई पत्राचार गरी नेपाल हेर्ने आधिकारिक व्यक्तिका बारेमा जानकारी मागेको छ । ‘नेपालमा फेसबुकको कार्यालय तथा सम्बद्ध आधिकारिक प्रतिनिधि नभएकाले समस्या देखिएको छ,’ प्रमुख पन्तले भने । फेसबुकले जवाफ पठाएपछि नेपाल हेर्ने सम्बद्ध प्रतिनिधिसँग फेसबुक प्रयोग व्यवस्थित गर्नेबारे सरकारी स्तरमा नै छलफल गरिने उनले बताए । साइबर अपराध बढ्दै गएपछि गृहमन्त्रालय र नेपाल प्रहरीले विज्ञान प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने गाइडलाइन बनाउन आग्रह गर्दै आएका छन् । अर्काको फेसबुक एकाउन्टमा अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गरेको गुनासो प्रहरी र मन्त्रालयमा पनि आउने गरेको छ ।
गाइडलाइनको प्रयोगबाट सामाजिक सञ्जालको प्रयोग व्यवस्थित हुने विश्वास सरकारको छ । सरकारले हालै डिजिटल सिग्नेचर प्रणाली तयार गरेको छ । साइबर अपराधमा सबैभन्दा महत्वपूर्ण प्रमाणका रूपमा लिइने यो प्रणाली निर्माणको जिम्मा सरकारले प्रमाणीकरण नियन्त्रकको कार्यालयलाई सुम्पेको थियो ।
विश्वव्यापी रूपमै सामाजिक सञ्जालमार्पmत अश्लीलता तथा सामाजिक सद्भावमा नकारात्मक असर पर्ने सामग्री प्रवाहित हुन थालेपछि विभिन्न मुलुकले यससम्बन्धी नीतिनियम बनाइसकेका छन् । छिमेकी राष्ट्र चीनले केही समयअघि नै फेसबुक, गुगल, याहु र ट्विटर जस्ता सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिसकेको छ भने भारतले पनि सामाजिक सञ्जालमार्पmत नकारात्मक सामग्री प्रसारण भएको भन्दै तिनका सञ्चालकलाई त्यस्ता सामग्रीमाथि प्रतिबन्ध लगाउन पत्राचार गरेको थियो । सामाजिक सञ्जालका सञ्चालकले भारतको कुरालाई गम्भीर रूपमा नलिए त्यस्ता साइटमाथि कडाइ गरिने भारतले बताएको थियो । तर, गत सातामात्र भारतीय सञ्चार तथा सूचना प्रविधिमन्त्री कपिल सिब्बलले सामाजिक सञ्जालमा सेन्सरसिप लगाउने भारतको योजना नरहेको प्रतिक्रिया दिएका छन् ।
फेसबुक प्रयोगकर्ताबारे जानकारी दिने आधिकारिक बेवसाइट फेसब्याकर डट कमका अनुसार विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा नेपाली प्रयोगकर्ताको सङ्ख्या शनिबारसम्म १३ लाख ८० हजार आठ सय ६० पुगेको छ । प्रोफाइलमा आफ्नो देशको नाम राख्ने प्रयोगकर्ताको आधारमा यो संख्या पुगेको हो । नेपाल धेरै फेसबुक प्रयोगकर्ताको सूचीमा ६८औँ स्थानमा छ ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा समस्या देखिएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमाथि नियन्त्रणको प्रयास सुरु भएको छ तर करिब तीन वर्षअघि अर्थमन्त्री हुँदा उनले फेसबुकमार्फत अन्तत्र्रिmया गर्ने गरेका थिए ।

प्रतिक्रिया