रेखा फेरि बाहिरै

काठमाडौँ, ७ फागुन । नायिका रेखा थापा अचेल प्रायः काठमाडौँबाहिर रहने गरेकी  छन् । कहिले फ्रेस हुने बहानामा त कहिले महोत्सवको बहानामा । यस पटक उनी भीमदत्तनगरमा पुगेकी छन् । आखिर त्यता किन गइन् त रेखा ? ‘म यहाँ एउटा महोत्सवको उद्घाटन गर्न आएकी हुँ’ रेखाले भनिन् । उनका अनुसार सोमबारदेखि भीमदत्तनगरमा सुरु हुने पर्यटन महोत्सवको उद्घाटन उनैले गर्नेछिन् । उनले यसो बताए पनि उनको यो  ‘महेन्द्रनगर’ गमनलाई चलचित्रवृत्तमा भने विभिन्न दृष्टिकोणबाट हेर्न थालिएको छ ।
नायक आर्यनसँगको सम्बन्ध बिग्रिएपछि उनका विरुद्धमा लाग्ने गरेको आरोप खेप्दै आएकी रेखाको भ्रमण त्यसै विषयले प्रेरित रहेको चर्चा चलचित्रवृत्तमा छ । आर्यनको अभिनय रहेको चलचित्र आइ एम सरीको प्रदर्शनलाई असर पुरयाउन रेखा उपत्यकाबाहिर रहेको आरोप चलचित्रको निर्माणपक्षले लगाएको छ । रेखा भने यो आरोप स्विकार्न तयार छैनन् । “म त्यो चलचित्रको निर्माणपक्षलाई चिन्दा त चिन्दिन भने असर पु¥याउने कुरा कहाँबाट आयो ?’ रेखाले प्रश्न गरिन् ।
उनका अनुसार यति बेला कुनै चलचित्रको छायाङ्कन नभएका कारण आफू घुमघाम निस्किएको पनि रेखाले बताएकी छन् । कञ्चनपुरबाट फर्केलगत्तै यती भन्ने चलचित्र छायाङ्कनमा लाग्ने उनको योजना छ । लङ्का र मेरो जीवनसाथी चलचित्रको समेत छायाङ्कनमा रहेकी रेखा यी तीनै चलचित्र सकाएर आफ्नो होम प्रोडक्सनको चलचित्र रावणको रिलिजमा लागिपर्ने भएकी छिन् । रावण रेखाको होम प्रोडक्सनको छै्रटौँ चलचित्र हो । (सौस)

प्रतिक्रिया