सरकार परिवर्तनको गृहकार्य

काठमाडौं, ६ फागुन । शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पार्टी भित्रै दबाव बढिरहेका समयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त्यसका लागि आन्तरिक गृहकार्य थाल्नुभएको छ ।
पछिल्लो समयमा राजधानीस्थित आफ्नै निवासमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य र उहाँ निकट प्रभावशाली नेताहरुसँग राष्ट्रिय सहमतिको सरकार बनाउने बिषयमा गृहकार्य गर्ने गरेको बुझिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर शान्ति र संविधानका लागि कांग्रेस र एमालेलाई समेत सरकारमा सहभागी गराउने योजनामा लागेको स्रोतले जनाएको छ ।
प्रमुख दलहरुका बीच भएको पछिल्लो सात बुँदे सहमतिमा पनि शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन तथा प्रधानमन्त्री भट्टराईले राजीनामा दिएर बाटो खोलीदिने उल्लेख छ ।
उता, अध्यक्ष दाहालले सदनमा सरकारले पेश गरेका तीन वटा विधेयकलाई पारित गराउन समेत प्रधानमन्त्री भट्टराईलाई असहयोग गरेको आरोप लागेको छ । पार्टीकै सभासदले विधेयक पारित गराउन नदिने भन्दै सदन अबरोध गरेपछि प्रधानमन्त्री भट्टराईलाई हटाएर दाहालले अर्को सरकार बनाउन खोजेको आरोप राजनीतिक बिश्लेषकहरुले लगाउन थालेका छन् ।
माओवादी सचिव सीपी गजुरेलले समेत सार्वजनिक रुपमा सदनमा रहेका सरकार तीन वटा विधेयक कदापि पारित हुन नदिने चेतावनी दिई सक्नुभएको छ । यसले गर्दा प्रधानमन्त्री भट्टराईलाई पार्टी भित्रैबाट चर्को बिरोधको सामना गर्नुपनि परेको छ ।

प्रतिक्रिया