तिलकराम र प्रमिला छिटा धावक–धाविका

महेन्द्रनगर, १६ फागुन । छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सम्पन्न एथलेटिक्सको ट्र्याकतर्फ नेपाल पुलिस क्लब र एपिएफको प्रतिस्पर्धा रह्यो भने फिल्डमा क्षेत्रीय टोली हाबी रहे । समग्रमा तेस्रो दिनको खेल सकिँदासम्म पुलिसका तिलकराम थारू र एपिएफकी प्रमिला रिजाल चौधरी देशकै सबैभन्दा छिटो दौडिने धावक–धाविका बनेका छन् ।
एक सय मिटर दौड ११ सेकेन्डमा पूरा गर्दै तिलकरामले स्वर्णपदक जितेका हुन् । यसअघि विश्व च्याम्पियनसिपको छनोटका लागि काठमाडाँैमा भएको स्पर्धामा १०.५० सेकेन्डमा उक्त दौड पूरा गरेका तिलकले कठिन ट्र्याक भएका कारण पुरानो समयमा सुधार गर्न नसकेको बताए । मध्यपश्चिमका यमसाजन सुनुवार ११.१६ सेकेन्ड समयका साथ दोस्रो तथा बलिराम चौधरी ११.१९ सेकेन्डको समयका साथ तेस्रो भए ।
त्यसैगरी महिलातर्फको स्पर्धामा प्रमिलाले १३ सेकेन्डमा उक्त दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् भने सावित्री नेपालीले १३.३ सेकेन्ड समयसहित दोस्रो र एक दिन अघिसम्म ज्वरोबाट शिथिल रहेकी मध्यमाञ्चलकी मीरा खड्का १३.७ सेकेन्डको समयसहित तेस्रो भइन् । एथलेटिक्समा प्रमिलाको सफलतापछि सहभागी खेलाडीमध्ये पदक जित्ने दोस्रो श्रीमान्–श्रीमतीको जोडी भएको छ । यसअघि विकास देसार र वृन्दा श्रेष्ठको एपिएफको जोडीले पदक जितेको थियो भने प्रमिलाका श्रीमान् आशनारायण चौधरीले १५ सय मिटर पुरुष स्पर्धामा कांस्यपदक जितेका थिए ।

कीर्तिमानलगत्तै डिस्क्वालिफाइ
तेस्रो दिनको स्पर्धामा सबैभन्दा चर्चामा भने एपिएफकी सविता चौधरी रहिन् । चार सय मिटर हडर््ल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण जिते पनि एक सय मिटर हडर््ल्समा ‘फल्स स्टार्ट’का कारण उनी पदक गुमाउन पुगिन् । उनले सोमबार सय मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सविताले चार सय मिटरमा एक मिनेट आठ दशमलव नौ सेकेन्ड समयका साथ स्वर्ण जितेकी हुन् । उनले सन् १९८७ मा सिङ्गापुरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा चन्द्रकला कामतले कायम गरेको एक मिनेट नौ दशमलव शून्य ६ सेकेन्डको कीर्तिमानलाई भङ्ग गरेकी हुन् ।
जितपछि सविताले आफूलाई राष्ट्रिय कीर्तिमानले खुसी तुल्याए पनि फल्स स्टार्टका कारण आशावादी रहेको अर्को स्पर्धाको स्वर्ण गुमेकोमा दुःख लागेको बताइन् । उक्त सय मिटर हडर््ल्स स्पर्धामा पुलिसकी मनमति विष्ट एक मिनेट १० सेकेन्डमा उक्त दूरी पूरा गरी दोस्रो तथा एपिएफकी दिलमाया कार्की एक मिनेट ११ दशमलव शून्य ६ सेकेन्डको समयसहित तेस्रो स्थानमा आउन सफल भइन् ।

पुलिसबाट पनि र एपिएफबाट पनि
एक सय मिटर हडर््ल्समा भने पुलिसकी आरति पाठकले १८ दशमलव एक सेकेन्ड समयका साथ स्वर्ण जितिन् । उनले एक दिनअघि आफूले ‘एनर्जी’ बचाउन विस्तारै कुदेको दाबी गर्दै स्वर्ण जित्ने कुरामा ढुक्क भएको बताइन् । राष्ट्रिय खेलकुदमा एपिएफ र नेपाल पुलिस क्लब दुवैबाट कुदेर स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । यसअघि उनले पाँचौँ राष्ट्रिय खेलकुदमा एपिएफबाट कुदेर स्वर्ण जितेकी थिइन् ।
महिला १० हजार मिटर दौडमा स्वर्णपदककी दाबेदार कान्छीमाया कोजु ‘एंकल इन्जुरी’का कारण सहभागी नभएपछि मध्यपश्चिमकी विश्वरूपा बुढाले ३९ मिनेट ३६ दशमलव २ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । एपिएफकी वृन्दा श्रेष्ठ देसार ३९ मिनेट ५० दशमलव पाँच सेकेन्ड समयका साथ दोस्रो तथा सुदूरपश्चिमकी शकुन्तला ठकुल्ला ४३ मिनेट ३२ सेकेन्ड समयका साथ तेस्रो भइन् । उक्त स्पर्धामा पश्चिमाञ्चलकी १२ वर्षे धाविका निर्मला खत्रीले लगभग आधा समय अग्रता लिएकी थिइन् ।
हर्डल्सको रोमाञ्चक एक सय १०  मिटर स्पर्धामा भने पुलिसका धिरेन्द्र चौधरीले १८ दशमलव आठ सेकेन्ड समयका साथ स्वर्ण जिते । एपिएफका सन्तोष श्रेष्ठ १५ दशमलव नौ सेकेन्ड समयका साथ दोस्रो तथा मध्यपश्चिमका खेमराज पार्दै १८ दशमलव आठ सेकेन्ड समयका साथ तेस्रो भए ।
सुदूरपश्चिमका टेकेन्द्रराज पाठकले १२ दशमलव ७३ मिटर फ्याँक्दै पुरुष सटपुटतर्फको स्वर्ण जिते । पुलिसका नरेन्द्रजङ्ग शाहले १२ दशमलव शून्य दुई मिटर फ्याँक्दै दोस्रो तथा मध्यपश्चिमका गोविन्द विष्ट ११ दशमलव ८३ मिटर फ्याँक्दै तेस्रो स्थानमा आउन सफल भए । बुद्धिचालका समेत राष्ट्रिय खेलाडी पाठकले बुद्धिचालका पछिल्ला दुई राष्ट्रिय च्याम्पियनसिपदेखि सहभािगता जनाउन छाड्दै एथलेटिक्समा सहभागिता जनाउन थालेका हुन् ।
महिला सटपुटतर्फ पश्चिमाञ्चलकी अञ्जु चौधरीले नौ दशमलव सात मिटर फ्याँक्दै स्वर्ण जितिन् । एपिएफकी अमिता चौधरीले नौ दशमलव शून्य चार मिटर फ्याँक्दै रजत तथा पुलिसकी वसन्ती चौधरी नौ दशमलव ४१ मिटर फ्याँक्दै तेस्रो भइन् ।
पुरुषतर्फको ४ सय मिटर हर्डल्स भने विवादमुक्त रहेन । एपिएफका सन्तोष श्रेष्ठ हर्डल्समा लडे पनि पार गरेको भनी फाइनल प्रवेश गरेका थिए तथापि उनले पार नगरेको आरोपमा पुलिसले विरोध दर्ता गरेको थियो ।

१० हजार मिटरमा १३ वर्षीयालाई कांस्य
महिला १० हजार मिटर दौडमा दुई बालिकाले सबैलाई आश्चर्यमा पारे । उक्त दौडमा सुदूरपश्चिमकी १३ वर्षे शकुन्तला ठकुल्ला ४३ मिनेट ३२ सेकेन्ड समयका साथ तेस्रो भइन् । सोही स्पर्धामा पश्चिमाञ्चलकी १२ वर्षे धाविका निर्मला खत्रीले पाँचौँ स्थान प्राप्त गरिन् । सहभागीमध्ये निर्मला बाग्लुङ सोखराकाकी हुन् भने १३ वर्षे कांस्यपदक विजेता शकुन्तला र निर्मला दार्चुलाका हुन् । खेलको समाप्तिपछि सौर्यसँग कुरा गर्दै निर्मलाले सुरुमा जिल्ला छनोट खेल्न नै डर लागेको खुलासा गरिन् । उनले  जिल्ला र क्षेत्रीय छनोट खेलेर आएपछि भने अहिले ट्र्याकमा दौडिँदा स्वाभाविक लागेको बताइन् । खेलपछि शकुन्तलाले पनि खेलमा पदकको आशाचाहिँ भएको तर त्यसका लागि ढुक्क हुन नसकेको बताइन् ।
‘लामो समयदेखि पुलिस र एपिएफमा रहुनुभएका तथा पाँचौँ राष्ट्रिय खेलकुदमा पनि पदक जितिसक्नुभएका विश्वरूपा बुढाजस्ता सिनियर खेलाडीका अगाडि खेल्न सुरुमा त अप्ठेरो लागेको थियो,’ शकुन्तलाले भनिन् ।

करातेमा विवाद, साग विजेता पराजित
करातेमा विवादका कारण मङ्गलबार दिउँसोको खेल स्थगित भयो । ६० किलो तौल समूहमा नेपाल पुलिसका विनोद महर्जन र पश्चिमाञ्चलका गणेश पाइजाबीच भएको पहिलो सेमिफाइनलमा पाइजालाई अङ्क नदिइएको जनाउँदै पश्चिमाञ्चल पक्षले आपत्ति जनाएपछि सुरु भएको विवादका कारण खेल नै स्थगित हुन पुगेको थियो ।
यसअघि भएका स्पर्धामा मध्यमाञ्चलका सोनाम लामाले सबैलाई आश्चर्यमा पार्दै स्वर्ण जिते । उनले सेमिफाइनलमा राष्ट्रिय टोलीमा समेत रहेका एपिएफका विजय लामालाई हराए भने फाइनलमा साग पदकधारी पुलिसका रविन्द्र दाहाललाई हराए । उक्त स्पर्धामा सुदूरपश्चिमका अरुण कुँवर र विजयले कांस्य जिते । पुरुष ६७ किलो तौल समूहमा एपिएफका मुकुन्द महर्जनले स्वर्ण, मध्यमाञ्चलका दिवस श्रेष्ठले रजत तथा सुदूरपश्चिमका सागर शाहीले कांस्यपदक जिते । महिला ६८ किलो तौल समूहमा एपिएफकी कल्पना बस्नेतले स्वर्ण जितिन् भने पिएलएकी गौरी चौहानले रजत तथा सुदूरपश्चिमकी लक्ष्मी नाथले कांस्य पदक जितिन् ।
महिला ६८ किलो तौल समूहमा एपिएफकी कल्पना बस्नेतले जितेकी छन् । फाइनलमा कल्पनासँग पराजित भएकी एपिएफकी पवित्रा चौधरीले रजतपदकमा नै चित्त बुझाइन् । यस्तै पश्चिमाञ्चलकी माया थापा तथा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी नाथले कांस्य हात पारे ।

भारोत्तोलनमा प्रहरीलाई थप स्वर्ण
महेन्द्रनगरः भारोत्तोलनतर्फ मङ्गलबार नेपाल प्रहरीले थप चार स्वर्ण जितेको छ । अघिल्लो दिन दुई स्वर्ण जितेको प्रहरीले मङ्गलबार चार स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा सबैमा बाजी मार्दै स्वर्ण संख्या ६ पु¥यायो । आठ स्वर्णको छिनोफानो हुँदा बाँकी दुई स्वर्ण पूर्वाञ्चलले आफ्नो नाममा लेखायो ।
पुरुषको ६९ किलोमा प्रहरीका लिक्की थापाले कुल एक सय ८८ किलो वजन उठाउँदै स्वर्ण चुमे । उनले स्न्याचमा ८८ र क्लिन जर्कमा एक सय किलो भारवहन गरेका थिए ।
कुल एक सय ८३ किलो वजन उठाएका मध्यमाञ्चलका रत्नमान मालीले रजत हात पारे भने कुल एक सय ७५ किलो उचालेका पश्चिमाञ्चलका विकास थापामगरले कांस्यमा चित्त बुझाए । पुरुषको ७७ किलोको स्न्याचमा एक सय सात र क्लिन जर्कमा एक सय ३२ गरी कुल दुई सय ३९ किलो भार उचाल्दै प्रहरीका अनिल मल्ल पहिलो भए । मध्यपश्चिमाञ्चलका केशव श्रेष्ठ दोस्रो तथा मध्यमाञ्चलका राजिव खड्गी तेस्रो स्थानमा छन् । केशवले कुल एक सय ९३ तथा राजिवले कुल एक सय ८७ किलो भारवहन गरे ।
उद्योग वाणिज्य सङ्घको हलमा भएको भारोत्तोलनतर्फ महिलाको ५८ किलोमा उत्तम खत्री र ६३ किलोमा राजलक्ष्मी थापाले स्वर्ण जिते । दुवै नेपाल प्रहरीका हुन् । उत्तमले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ६७ गरी कुल एक सय २३ किलो वजन उचालिन् । कुल एक सय १४ किलो भार उचाल्दै पूर्वाञ्चलकी शान्ति चौधरी दोस्रो तथा एक सय एक किलो भार उठाएकी प्रहरीकी राजकुमारी चौधरी तेस्रो भइन् । राजलक्ष्मीले स्न्याचमा ५५ र क्लिन एन्ड जर्कमा ७० गरी कुल एक सय २५ किलो भार उठाइन् । दोस्रो भएकी मध्यपश्चिमाञ्चलकी रामकुमारी चौधरीले ९५ किलो भार उठाइन् भने कुल ९० किलो भार उठाएकी सुदूरपश्चिमाञ्चलकी सोनम चौधरी तेस्रो स्थानमा रहिन् ।

लनटेनिसः मध्यमाञ्चललाई पुरुष टिम स्वर्ण
ललितपुरः लनटेनिसको पुरुष टिम इभेन्टमा मध्यमाञ्चलले स्वर्ण जित्यो । ललितपुरको सातदोबाटोस्थित टेनिसकोर्टमा भएको उपाधि भिडन्तमा मध्यमाञ्चलले सशस्त्र प्रहरीबलको एपिएफ क्लबलाई २–० ले हरायो । मध्यमाञ्चलले एक–एक सिंगल्स र डबल्समा जित हात पार्दै स्वर्ण जितेको हो ।
मध्यमाञ्चलका तर्फबाट श्रीराम मगर, जितेन्द्र परियार, राजेश क्षेत्री, छेवाङ लामा तथा सन्तोष खत्रीले खेलेका थिए । एपिएफबाट दोर्जेकुमार राई, दुर्गाबहादुर कुँवर, कुमार अधिकारी, आत्माराम कार्की तथा महेश्वर तिवारीले प्रतिस्पर्धा गरेका थिए । सिंगल्समा जितेन्द्र परियारले महेश्वर तिवारीलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । डबल्समा श्रीराम मगर र जितेन्द्र परियारको जोडीले कुमार अधिकारी र आत्माराम कार्कीको जोडीलाई ६–३, ५–७ र ६–० को सेटमा निराश पारे । मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल तेस्रो स्थानमा सीमित भए ।

प्रतिक्रिया