एउटै खेलमा दिदी–भाइलाई पन्ध्र स्वर्ण

वीरगन्ज, १६ फागुन । मध्यमाञ्चलका शैलेश राणा छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा बढी पदक जित्ने खेलाडी भएका छन् । उनले मङ्गलबार सम्पन्न पौडीमा १० स्वर्ण जितेका छन् ।
उनले चार रजतपदक पनि हात पारेका छन् । यसरी उनको पोल्टामा कुल १४ पदक परेका छन् । आइतबार तीन र सोमबार दुई स्वर्ण हात पारेका शैलेश मङ्गलबार क्रमशः ५० मिटर दूरीको बटरफ्लाइ, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, फ्रिस्टाइल र चार सय मिटरको रिले फ्रिस्टाइलमा गरी थप पाँच स्वर्ण जित्न सफल भएका हुन् । सोमबार उनले दुई सय मिटर इन्डिभिजुअल मेड्लीको हिट्समा दुई मिनेट ३१ दशमलव ८७ सेकेन्डको समय निकाल्दै नयाँ कीतिर्मान कायम गरेका थिए ।
महिलातर्फ पनि मध्यमाञ्चलकै श्रेया धितालले सर्वाधिक आठ स्वर्णपदक जितेकी छन् । आइतबार र सोमबार दुई–दुई स्वर्ण जितेकी श्रेयाले मङ्गलबार ५० मिटर दूरीको बटरफ्लाइ, ब्याकस्ट्रोक, फ्रिस्टाइल र चार सय मिटरको रिले फ्रिस्टाइलमा गरी चार स्वर्ण जितेकी हुन् । श्रेयाले मङ्गलबार ५० मिटर ब्रेस्टस्ट्रोकमा पनि रजतपदक हात पारेकी छन् । उनले चार रजतपदक पनि जितेकी छन् ।
सर्वाधिक स्वर्णपदक विजेता शैलेशकी दिदी शैला राणा पनि पाँच स्वर्णसहित कुल १३ पदक जित्न भएकी छन् । शैलाले मङ्गलबार ५० मिटर ब्रेस्टस्ट्रोक र चार सय मिटरको रिले फ्रिस्टाइलमा गरी थप दुई स्वर्ण आफ्नो पोल्टामा पारेकी हुन् । उनले ५० मिटर दूरीको बटरफ्लाइ, ब्याकस्ट्रोक र फ्रिस्टाइलमा रजतपदक पनि जितिन् ।
यसैगरी पुरुषतर्फ मध्यमाञ्चलकै शिरीष गुरुङले चार स्वर्णसहित १० पदक जितेका छन् । मङ्गलबार उनले चार सय मिटर रिले फ्रिस्टाइलमा स्वर्ण जितेका हुन् ।
वीरगन्जमा भएको राष्ट्रिय पौडी प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रले २७ स्वर्ण, २५ रजत र २५ कांस्य गरी कुल ७७ पदक हत्याउँदै पौडीमा प्रथम भएको छ । दुई रजतपदक हात पार्दै पश्चिमाञ्चलले दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै पूर्वाञ्चल भने दुई कांस्य पदक हात पार्दै पौडीमा तेस्रो भएको छ ।
पश्चिमाञ्चलका लागि महिलातर्फ चार सय मिटर रिलेमा भएको फ्रिस्टाइलमा नोर्जन वाङ्मो लामा, पूजा अर्याल, मेहन्दो शेर्पा र अनिशा घलेले रजतपदक जितेका हुन् । यसैगरी पुरुषतर्फ चार सय मिटर रिलेमा भएको फ्रिस्टाइलमा पश्चिमाञ्चलका शिशिर थापा, दिपेन लामा, समृद्ध प्रधान र राजु नेपालले रजतपदक जितेका हुन् ।
पूर्वाञ्चलका लागि भने महिलातर्फ चार सय मिटर रिलेमा भएको फ्रिस्टाइलमा पासाङल्हामु शेर्पा, आस्था प्रधान, फुर्वा शेर्पा र दादोमा शेर्पाले कांस्यपदक जितेका हुन् । पुरुषतर्फ नै चार सय मिटर रिलेमा भएको फ्रिस्टाइलमा पूर्वाञ्चलका लागि मुकेश राई, मोन्सु भुजेल, तेन्जिङ रेग्बा र सूर्य राईले कांस्यपदक जितेका हुन् ।
वीरगन्ज आदर्शनगर स्विमिङ पुलपरिसरमा गत आइतबारदेखि भएको पौडी प्रतियोगितामा देशभरका महिला र पुरुष गरी ८१ खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया