‘कोइरालालाई दाहालले फसाए’

काठमाडौँ, १६ फागुन । शान्तिप्रक्रिया, नयाँ संविधानलेखन र आयोग गठनमा देखिएका विवाद समाधानका लागि प्रमुख तीन दलका शीर्षनेताहरूले गरेको कार्यविभाजनप्रति नेपाली कांग्रेसका नेताहरू असन्तुष्ट बनेका छन् ।
उनीहरूले शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणमा पार्टीका तर्फबाट कुनै भूमिका नदेखिने गरी गरिएको कार्यविभाजनमा सभापति सुशील कोइरालाले सहमति जनाएको आरोप लगाएका छन् । सभापति कोइरालाले अन्य नेताहरूसँग परामर्श नगरी कार्यविभाजनमा सहमति जनाएको भन्दै उनीहरूले असन्तुष्टिसमेत जनाएका छन् ।
कांग्रेस नेता विमलेन्द्र निधिले तीन दलका तीन नेताबीच भएको कार्यविभाजनले शान्तिप्रक्रिया र संविधान निर्माणमा कांग्रेसको भूमिकालाई गौण बनाएको बताए । ‘शान्तिप्रक्रियाको सुरुआत गरेको कांग्रेसको भूमिका आयोग गठनका विषयमा सहमति जुटाउने मात्र होइन,’ उनले भने ।
निधिलगायतका नेताले कार्यविभाजनमा कोइरालालाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले फसाएको आरोपसमेत लगाएका छन्  । ‘माओवादी र एमालेका नेताहरू शान्तिप्रक्रिया र संविधान निर्माणमा कांग्रेसको कुनै भूमिका छैन भन्ने देखाउन लागिपेरका छन्,’ एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने,‘ सभापति उनीहरूको योजनाअनुसार साक्षी मात्र बस्नुभयो ।’
गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसमा नेतृत्वको भूमिका कमजोर बनेको ती नेताको आरोप छ । ‘गिरिजाबाबु सीमित व्यक्तिसँग भए पनि छलफल गरेर अघि बढ्नुहुन्थ्यो तर अहिले त केही भएन,’ उनले भने ।
केन्द्रीय सदस्य शङ्कर भण्डारीले भने विवाद समाधान गरेर मुलुकलाई निकास दिन शीर्षनेताहरूबीच भएको कार्य–विभाजनलाई अन्यथा लिन नहुने बताए । ‘कार्यविभाजन हुनु ठूलो कुरा होइन,’ उनले भने, ‘कार्यान्वयन हुनुचाहिँ महत्वपूर्ण हो ।’
शुक्रबार बसेको तीन दल बैठकमा शान्तिप्रक्रिया र सेना समायोजनलाई टुङ्गोमा पु¥याउनका लागि दाहाललाई, आयोग गठनको विवाद समाधानका लागि कोइरालालाई र संविधानलेखनमा देखिएको विवाद अन्त्य गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया