बर्डफ्लुको प्रतिबन्द फुकुवा

इलाम, १६ फागुन । इलाम र पाँचथरको सीमानामा पर्ने घुर्विसे पञ्चमी बजारमा वर्डफ्लु भएको पुष्टि भएपछि झण्डै एक महिनादेखि इलाममा पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसारपसार गर्न लगाईएको प्रतिबन्द मंगलबारदेखि फुकुवा भएको छ ।
जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति इलामले वर्डफ्लु संक्रमित क्षेत्रमा निसंक्रमण गर्ने कार्य सकिएकाले प्रतिबन्द फुकुवा गरिएको जनाएको छ । समितिले प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलाल, स्थनीय विकास अधिकारी सुमन घिमिरे, सम्बन्धित व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थितीमा संक्रमित क्षेत्र बाहेकका स्थानमा पंक्षीजन्य पदार्थ ओसारपसार गर्न फुकुवा गरेको घोषणा गरेको हो ।
पञ्चमीमा बर्डफ्लु रोग भेटिएको पुष्टि भएपछि गत माघ २४ गतेदेखि ब्रोइलर कुखुरा र त्यसको अण्डा ओसारपसारमा पूर्ण रुपमा प्रतिबन्द लगाईएको थियो । वर्डफ्लु रोग देखिएपछि पञ्चमीमा दुई सय ४१ वटा कुखुरा, चार सय ६३ वटा अण्डा तथा केही दाना समेत नष्ट गरिएको थियो ।
इलाम र पाँचथरको सीमानामा पर्ने घुर्विसे पञ्चमी लगायत तीन किलोमिटर आसपासका क्षेत्रमा समेत वर्डफ्लु नियन्त्रण भइसकेको छ । वर्डफ्लु प्रभावित क्षेत्र बाहेक अन्य क्षत्रमा मात्र पंक्षीजन्य पदार्थ ओसारपसारमा खुल्ला गरिएको जिल्ला पशुसेवा कार्यालयका पशुचिकित्सक कुमारसिंह खत्रीले जानकारी दिए । अहिलेपनि ब्रोइलर कुखुरा, अण्डा तथा कुखुराको दाना ओसारपसार गर्दा आधिकारीकताको प्रमाणपत्र भने अनिवार्य रहेको समेत खत्रीले बताए ।

प्रतिक्रिया