बुटिकबाट राम्रो आम्दानी

दाङ, १६ फागुन । हातमा सिप भए कसैको अगाडी हात पसार्नु पर्दैन भने झै दाङका दुइ महिलाले आफुमा भएको सिपको उपयोग गरी आफ्नै लगानीमा बुटिक संचालन गरेका छन् । २ महिलाले घरको काम सकेपछि बचेको समय खेर जान नदिन सिपलाई उपयुक्त ठाउँमा उपयोग गरेका छन् ।
तुलसीपुरकी सारदा शर्मा र ढिकपुरकि सन्जु शाहले संयुक्त रुपमा आफ्नै लगानीमा घोराहीमा बुटिक संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । महिलाहरुलाई घर भित्रको काममा मात्र सीमित राख्ने अथवा बाहिर काम गरि हाले पनि श्रीमान् वा दाजुभाइको साथमा काम गर्नु पर्ने परिपाटीलाई लत्याउदै यी दुइ महिलाले बुटिकको व्यवसाय संचालन गरेका हुन् ।
२ बर्ष अगाडी सिकेको सिपलाई अहिले व्यवसायमा उतार्न पाउदा आफुहरु सन्तुष्ठ भएको उनीहरुले बताएका छन् । अन्य व्यवसाय भन्दा फरक र छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएको हुँदा आफुहरुले बुटिक संचालन गरेको उनीहरुको भनाई छ ।
आफ्नो हातमा भएको सिपलाई खेर जान नदिनकै लागि ढेड लाख रुपैयाको लगानीमा बुटिक सञ्चालन भएको शाहले बताईन । बुटिक सेन्टरमा अहिले आधा दर्जन महिला कामदारहरु कार्यरत छन् । आफुसँग अरु महिलाहरुलाई पनि रोजगार दिन पाएकोमा सारदा र सन्जु निकै खुसी छन् ।
अहिले सूरुवात मात्र भएको हुदाँ धेरै महिलालाई रोजगार दिन तथा सिप सिकाउन नसकिए पनि पछिका दिनमा यसलाई विस्तार गर्दै लैजाउने उनीहरुको योजना छ । बुटिक सेन्टरलाई सानो पसलमा मात्र सीमित नगरी बिस्तार गर्ने योजनामा रहेको सारदाको भनाई छ ।
हाल ५ देखि ७ जना महिलाहरु उनीहरुको बुटिक सेन्टरमा सिप सिक्छन् । बुटिकमा लेहेङ्गा, साडि, कुर्ता, सल, घुम्टो, बिहेको माला, सजावटका समाग्रीहरु निमार्ण हुँदै आएको छ । ग्राहकको चाहना र अर्डरका आधारमा उनीहरुले सामाग्रीहरु तयार पार्छन ।
आफुहरुले ४५ दिन भित्रै दक्षता प्राप्त गरेपनि सेन्टरमा सिप सिक्न आउनेहरुका लागि ३ देखि ६ महिनासम्म सिप सिक्ने अवसर दिइरहेको सारदा र सन्जुको भनाई छ । बुटिक सेन्टर जिल्ला मै एउटा नयाँ व्यवसायको सुरुवात भएको सारदा र सन्जुको दावी छ ।

प्रतिक्रिया