अपराधीले जेल हाले

‘यता बस्नुहोस् गुप्ताजी यता !  जेल प्रवेश गर्दागर्दै चिरपरिचित आवाज सुनेर जयप्रकाश गुप्ताले आँखाको डिलबाट खस्न लागेको आँशु हतार हतार पुछ्दै आवाज आएतिर पुलुक्क हेरे । आफ्नै मित्र चिरञ्जीवी वाग्लेलाई देखेर मनमा थोरै भए पनि राहत बटुले । र, हात मिलाए, सञ्चो बिसञ्चोको लागि वाक्य भने फुट्न सकेन । भारी मनले देखाइएको स्थानमा टुक्रुक्क बस्न भ्याएका थिएनन् अर्को चिनारु आवाज आयो ।
‘अरे ! आप भी आ गए गुप्ताजी !’ यो आवाज श्यामसुन्दर गुप्ताको थियो । उनी एकदम प्रफुल्ल थिए । नयाँँ आगन्तुक सहधर्मीसँग हात मिलाउँदै श्यामसुन्दरले भने– ‘अलि दिन अलि बोर लाग्छ नेताजी, त्यसपछि सब ठीकठाक हुन्छ । पिर गर्नु पर्दैन ।’
आफ्ना सहयात्री आग–न्तुकलाई सम्झाउँदै वाग्लेले सुनाए– ‘हेर्नुहोस् जेलमा नबस्ने पनि नेता हुन्छ ? हाम्रा पार्टीका सबै नेता जेलमा बसेकै थिए । जेलमा बसेर छुटेर गएपछि राजनीतिमा ‘प्लस प्वाइन्ट्’ हुन्छ । बिपी, किसुनजी, गिरिजाबाबु, केपी ओलीलगायत सबै जेलमा लामो समयसम्म बसेका थिए । चिन्ता गर्नु पर्दैन । हाम्रो पनि भविष्यमा राजनीति गर्न अहिलेको जेल बसाइ ‘प्लस प्वाइन्छ’ हुन्छ । अपराधीहरूले हामीलाई जेल हालेर केही बिगारेका छैनन् । राम्रै गरेका छन् ।’
‘हो त !’ श्यामसुन्दर  बिचैमा प्वाक्क बोले– ‘चिन्ता लिनु पर्दैन । अहिलेका गृृहमन्त्री पनि ज्यान मुद्दामा जेल बसेकै हुन् । एमालेका नेताहरूलाई पनि ज्यान, डाका, आगजनी, लुटपाटलगायतका मुद्दा लागेकै थियो । एमाओवादीका अधिकांश बडे नेतामाथि अहिले पनि फौजदारी अभियोग कायमै छ । न आत्तिनुहोस्, सर्वश्वसहित जन्म कैदको फैसला गर्नुपर्ने मन्त्री छन् । कर्मचारी र प्रहरीभित्र हाम्रा अनुयायी प्रसस्त छन् । अनि हामी किन
आत्तिने ? के हामीले कसैको ज्यान मारेको छ ?’
आफ्नो लामो मन्तव्यपछि श्यामसुन्दरले अर्कोतिर फर्किएर सोधे– ‘कि कसो डिआइजी कोइरालाजी ?’
‘हुन त हो हजुर । तर पञ्चायतकालमा नेताहरूलाई जेल हालेको थियो । हामीलाई
भने … !’
‘चुप लाग्नुहोस् तपाईं ।’ श्यमसुन्दर गुप्ताजी बीचैमा कड्किए । बिचरा डिआइजी हात मोल्दै पछि सरे ।
एकैछिनपछि जेलका नाइके आएर जेपी गुप्तालाई सानो भाषण सुनाए– ‘हेर्नुहोस् यो जेल हो । यहाँ बाहिर जस्तो नियम कानुन मिच्न पाइँदैन । तपार्इं सुत्ने ठाउँ १३ नम्बर कोठा हो । अरु १२ वटा कोठा अहिले बाहिरै रहनुभएका शीर्ष नेताहरूका लागि हो । यहाँ बाहिरजस्तो अल्पबुद्धिले काम दिँदैन । दूरदर्शी बन्न सक्नुपर्छ । नत्र
जस्तो मुलुक उस्तै जेल बन्न बेर लाग्दैन ।’ यत्ति भनेर नाइके सरासर अर्कोतिर लागे ।
चुपचाप बसिरहेका वाग्लेले बल्ल मुख खोले– ‘केही बिग्रिएको छैन । संसार पैसो भनेपछि हुरुक्क हुन्छ । हामीसँग पैसो छ । घर र गाडी छ । हाम्रा आ–आफ्ना पार्टी छन् । धेरै राखे एक÷दुई वर्ष जेलमा राख्ला । त्यसपछि त हामी मुक्त हुने छौं । अनि हामीबाहेक को हुन्छ यो मुलुक हाँक्ने ? त्यो कल्पना गर्नुहोस् गुप्ताद्वय, त्यो कल्पना गर्नुहोस् । आहा … ।
जयप्रकाश अग्ला–अग्ला पर्खालहरूलाई नियाल्दै गम खान थाले– ‘मधेसी भएकै कारणले जेपीलाई अभियोग लगाएर जेल हालियो भनेरै आन्दोलन चर्काए पनि हुने । मधेसी मोर्चा पनि हामी चार÷पाँच जना सधैं सत्तामा बस्नका लागि निर्माण गरेको त हो नि । आफ्नै पार्टीभित्र सञ्चारमन्त्रीको बन्ने भनेर मारामार गर्न थाले होलान् केको आन्दोलन गर्थे । जेसुकै गरुन् अथाह सम्पत्ति छँदैछ, आनन्दसँग बस्छु ! आखिर म एक्लैले के गर्नु ! क्षेत्रीय र मधेसी मुद्दा उठाउदा पनि मधेसका जनताले पत्याउन छाडिहाले । पहिला त गजबले पत्याउथे । पत्याउन पनि किन पत्या आ… ! जेसुकै होस् ।’

प्रतिक्रिया