रहेनन् भीम विराग

काठमाडौँ, १५ फागुन ।
तिमीले पनि मजस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर ।
यो र यस्ता थुप्रै कालजयी सिर्जनाका स्रष्टा कलासाधक भीम विरागको सोमबार बिहान निधन भएको छ । ७७ वर्षीय विरागले बिहान नौ बजे पाटन अस्पतालमा प्राण त्याग गरेका हुन् । मेनेन्जाइटिसबाट पीडित उनलाई एक सातादेखि आइसियूमा राखिएको थियो । सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएका उनको पार्थिव शरीरमा ज्वाइँ वसन्त श्रेष्ठले दागबत्ती दिएका छन् ।
१५ माघ १९९१ मा वीरगन्जको माइस्थानमा जन्मिएका विरागका बाबुआमाले राखिदिएको नाम भीमबहादुर महर्जन हो । १२ वर्षको उमेरमा फुटबल खेल्न जाँदा लडेर घाइते भएपछि उनको ढाड जीवनभर सोझिन सकेन । २०२६ सालदेखि हेटौँडा बसेर साहित्य, सङ्गीत, कला र पत्रकारितामा क्रियाशील विरागका नाममा हेटौँडामा भीम विराग साहित्य सङ्गीत कला प्रतिष्ठान स्थापना भएर क्रियाशील छ । प्रतिष्ठानले हरेक वर्षको १५ माघमा विरागको जन्मदिन पारेर नेपाली साहित्य तथा सङ्गीतमा योगदान पु¥याउने राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूलाई एक लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ । यसपटक दार्जिलिङमा क्रियाशील सङ्गीतकार शान्ति ठटाललाई यो पुरस्कार दिइएको थियो ।
स्वरसम्राट् नारायण गोपाल, मधु क्षत्री, रामकृष्ण ढकाललगायतले गाएका थुप्रै कालजयी गीत भीम विरागका शब्द र सङ्गीतमा थिए । आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि म जस्तै माया दिएर हेरलगायत गीतका स्रष्टा विरागका २०२५ सालदेखि २०५९ सम्म विभिन्न कृति प्रकाशित छन् । पछिल्लोपटक उनको महाकाव्य मोहभङ््ग प्रकाशन भएको छ । यस्तै, दुःखको इन्द्रेणी, अतृप्त स्पर्श गीतिसङ्ग्रह, तातो सुस्केरा कविता सङ्ग्रह, आठटुक्रे बादल कथासङ्ग्रह प्रकाशित छन् । ‘भीम विरागका कविता’ कवितासङ्ग्रह, ‘अज्ञात प्रारम्भ’ खण्डकाव्य, ‘भीम विरागका गीत–गजल’, ‘स्वरसम्राट्को सम्झना’ संस्मरण पनि उनका खास कृति हुन् । विरागको साहित्ययात्रा वि.सं.२०१५ मा ‘उदय’ पत्रिकामा प्रकाशित कविताबाट भएको हो । २०२३ सालमा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम भएपछि चर्चामा आएका विरागले केही समय नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादक भएर पत्रकारिता पनि गरेका थिए ।

प्रतिक्रिया