अफगान मन्त्रालयबाट, नेटो कर्मचारी हटाइए

काबुल, १४ फागुन । अफगानिस्तानमा अमेरिकाविरोधी प्रदर्शनमा दुई अमेरिकी सैनिक सल्लाहकारको मृत्यु भएपछि नेटो तथा बेलायतले त्यहाँका सरकारी संस्थाहरूबाट आफ्ना कर्मचारी हटाएका छन् । अमेरिकी नियन्त्रणमा रहेको बग्रमस्थित हवाई केन्द्रमा कुरान जलाइएको सार्वजनिक भएपछि अफगानिस्तानमा अमेरिकाविरोधी प्रदर्शन सुरु भएको हो । उक्त घटनाका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफगान जनतासँग माफी मागिसकेका छन् । तैपनि अवस्था सामान्य नभएपछि नेटोले आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको हो ।
अफगानिस्तानमा अमेरिकाविरोधी हिंसात्मक दङ्गा अझै जारी छ । उत्तरपूर्वी कुन्दुज प्रान्तमा हजारौँ प्रदर्शनकारीले संयुक्त राष्ट्रसङ्घको कार्यालयमा आक्रमण गरे । प्रहरीले गोली प्रहार गरेपछि मात्रै प्रदर्शनकारी पछि सरेका थिए । कुरान जलाएको विरोधमा दङ्गा हुँदा अफगानिस्तानमा हालसम्म ३० व्यक्तिको मृत्यु भइसकेको छ ।
अफगान राष्ट्रपति हमिद कार्जाईले एक वक्तव्य जारी गरी प्रदर्शनकारी तथा अफगान सुरक्षा फौजलाई संयमित रहन आग्रह गरेका छन् । कुरान जलाउने घटनाका दोषीलाई कारबाही गर्न अमेरिकालाई दबाब दिइरहेको समेत उनले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलका दुई अमेरिकी सैनिक सल्लाहकार अफगानलाई अफगान गृह मन्त्रालयमा काम गरिरहेको अवस्थामा एक व्यक्तिले गोली प्रहार गरेका थिए । यस विषयमा नेटोले थप जानकारी दिएको छैन । तर, सरकारी स्रोतले अफगान प्रहरीका एक सदस्यले यी दुई व्यक्तिमाथि गोली प्रहार गरी हत्या गरेको  बताएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलका कमान्डर जनरल जोन एलनले अफगान मन्त्रालयमा काम गर्ने नेटोका कर्मचारीलाई तत्कालै फिर्ता लैजाने व्यवस्था मिलाइएको बताए । अमेरिकी प्रतिरक्षा मन्त्रालयले पेन्टागनले यस्तो हत्या अस्वीकार्य भएको जनाएको छ । अफगान अधिकारीहरूसँग संयुक्त सैन्य बललाई उचित सुरक्षा दिन तथा यस प्रकारका हिंसा रोक्न आग्रह गरिएको छ । अफगानिस्तानमा अमेरिकाको नेतृत्वमा एक लाख ३० हजार विदेशी सैनिक कार्यरत छन् । यस समूहका सल्लाहकारहरू काबुलका मन्त्रालयमा काम गर्छन् ।
बेलायतले पनि अफगान सरकारी संस्थामा कार्यरत आफ्ना नागरिक सल्लाहकारहरूलाई फिर्ता बोलाएको छ । बिहीबार पनि एक अफगान सैनिकले पूर्वी नानगारहार प्रान्तमा दुई अमेरिकी सैनिकको हत्या गरेका थिए । (एएफपी)

प्रतिक्रिया