काठमाडौं, २४ चैत । चौतर्फी दवाव झेल्न नसकेपछि एकीकृत माओवादी नेतृत्वको तीस दलीय विपक्षी मोर्चाले बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ ।
सिंहदरबारमा मंगलबार अबेर रातिसम्म बसेको मोर्चाको बैठकले भोलि र पर्सी (बुधबार र बिहीबार)को दुई दिनको आमहड्तालको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो । मोर्चाको बैठकमा आमहड्ताल फिर्ता लिने र नलिने विषयमा दलका नेताहरुबीच भनाभन समेत भएको एक नेताले बताए ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष एवम् मोर्चाका संयोजक पुष्पकमल दाहालले बुुधबार र बिहीबारको दुई दिनको आमहड्तालको कार्यक्रम फिर्ता लिएको बताए । उनले नागरिक समाज र उद्योगी व्यवसयीहरुको आग्रहमा आमहड्तालको कार्यक्रम स्थगन गरी आन्दोलनलाई परिमार्जन गर्ने निर्णय गरेको बताए ।
सत्तापक्षले वार्ताका लागि चैत ३० गतेसम्म संविधानसभा बैठक स्थगित गरेको विषयलाई सकारत्मक रुपमा लिएको बताउँदै दाहालले सो अवधीभरि वार्ता र सहमतिका लागि पहल गर्ने बताए ।
त्यसै गरी मोर्चाले रौतहटमा यही २६ गते संयुक्त रुपमा आमसभा गर्ने निर्णय पनि गरेका छन् । आमसभालाई अध्यक्ष दाहालसहित मोर्चामा आवद्ध शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
चैत २७ गते मोर्चाको बैठक बसी थप आन्दोलनका कार्यक्रम दिने निर्णय गरेको संयोजक दाहालले बताए ।
प्रतिक्रिया