सत्तारुढ दलले प्रक्रियालाई अगाडि बढाउने

काठमाडौं, २१ चैत । सत्तारुढ दल र सरकारलाई समर्थन गरिरहेका दलहरूको आजको बैठकले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सरकारलाई समर्थन गरिरहेका साना दलहरूसहित स्वतन्त्र सभासदको बैठकले सो निर्णय गरेको हो ।

संविधानसभाको बैठक नजिक आइरहेकाले कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहेर दलहरूले बैठकमा छलफल गरेका थिए ।

सहमतिका लागि लामो समय खर्चिदासमेत सकारात्मक परिणाम हासिल नभएपछि दलहरूसँग भएको छलफलका आधारमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यही चैत २३ गतेका लागि संविधानसभाको बैठक बोलाइसकेका छन् ।

दलहरूलाई यसबीचमा सहमति गर्न आवश्यक समय पुगोस् भनेर अध्यक्ष नेम्वाङले एक साताको समय दिएर बैठक आह्वान गरेकोमा दलहरूले यस अवधिमा कुनै औपचारिक रुपमा वार्ता र संवाद भएर सकारात्मक परिणाम आउन सकेन ।

मुलुकको राजनीतिक परिवर्तनको आन्दोलनमा एकाकार भएर योगदान पुराएका दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति कायम हुन नसकेपछि अहिले देशको राजनीति स्पष्टरुपमा दुई कित्तामा विभाजन भएको छ ।

कांग्रेस र एमालेलगायतका दल संविधानका अन्तरवस्तुमा सहमति हुन नसकेमा प्रक्रियाद्वारा छिनोफानो गर्न अवपनि ढिलाइ गर्न हुन्न भन्ने पक्षमा उभिएका छन् ।

उता एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको मोर्चा सहमतिको विकल्प नभएको जनाउँदै सहमति विपरीत प्रक्रियामा लगेर टुङ्ग्याउने कोसिस गरिए आन्दोलनको आधिँबेरी सिर्जना गर्ने र त्यसैको दबबामा सहमति गराउने मनस्थितिमा रहेको छ ।

दलहरूबीच खासगरी सङ्घीयता, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा मतभेद रहँदै आएको छ । त्यसमा पनि खास गरेर राज्य पुनःसंरचनाको मुद्दा नै दलहरूका लागि पेचिलो विषय बनेको छ ।

प्रतिक्रिया