सत्तारुढ कांग्रेस संवाद र सहमतिकै पक्षमा

congressकाठमाडौं, ३० फागुन । सत्तारुढ दल कांग्रेसको पदाधिकारी बैठकले वार्ता र संवादबाटै सहमतिका साथ संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले वार्ता र संवादबाट निकासमा पुगी सहमतिका साथ संविधानसभाबाटै संविधान जारी गर्ने निर्णय गरेको कांग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

‘पदाधिकारी बैठकमा पछिल्लो दलीय छलफलबारे समीक्षा भयो । आजै अपराह्न बस्ने चार दलको बैठकमा कसरी प्रस्तुत भई वार्तालाई व्यवस्थित र परिणाममुखी बनाउने भन्नेबारे कुराकानी भयो । सबै पार्टीहरुलाई वार्ता र संवादवाटै सहमति खोज्ने र सहमतिमा संविधान बनाउने निष्कर्ष निकालियो’, उनले भने ।

प्रवक्ता बडूले संविधानका विवादित सबै विषयमा सहमति नभए पनि अधिकतम सहमति खोज्न वार्ता र संवादलाई निरन्तरता दिने निर्णय गरेको बताए ।

पदाधिकारी बैठकले दलीय सहमतिका लागि आफ्नोतर्फबाट लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको पनि उनले उल्लेख गरे ।

बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो ।

सत्तारुढ र विपक्षी दलबीच दुई पक्षीय र बहुपक्षीय छलफल चलिरहेका बेला आज हुने चार दलको बैठकलाई कसरी परिणामुखी बनाउने भन्नेबारे कांग्रेसले पदाधिकारी बैठकमा छलफल गरी आवश्यक तयारी गरेको हो ।

यसअघि हिजो कांग्रेस र मधेसी मोर्चा, एमाले र एमाओवादीबीच छुट्टाछुट्टै छलफल गरी सहमतिका लागि सकारात्मक वातावरण बनेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया